सीएमसीको काठमाडौंस्थित कार्यालय बन्द छ । विश्वासमा पारेर उधारो लगेर नदिई भागको भन्दै मेगानीक ट्रेडले महानगरीय प्रहरी परिसर टेकुमा पुष पहिलो साता ठगी उजुरी दर्ता गराएको छ ।
यस्तै गणपति टायर इन्टरनेशनल काठमाडौंले आयोजनालाई बेचेको गाडीको टायर बापतको ४१ हजार ४९२ रुपैयाँ पनि पाएको छैन् । गणपति टायरले पनि आफूहरुलाई ठेकदार कम्पनीले ठगेको भन्दै कारबाही माग गर्दै परिसर टेकुमा उजुरी गरेकाे छ ।
दुई अर्ब ५९ करोडको मेलम्ची लफडा, ठेकदारलाई किन काँध हाल्दै छिन मन्त्री ?
अन्तराष्ट्रिय ठूला आयोजनाको अरबाैँ रुपैयाँको ठेक्का जिम्मा लिएर काम गर्ने यूरोपको कम्पनीले नेपालको एउटा सामान्य पसलहरुबाट उधारोमा लिएको ल्यापटप, कम्प्यूटर र टायरको समेत पैसा नतिरी किन भाग्छ ? मेगानीक र गणपति त उदाहारण मात्रै हुन् । महानगरीय प्रहरी परिसरमा मेलम्चीको इटालियन ठेकदारबाट ठगिएको भन्दै २ दर्जन बढी उजुरी परेको छ ।
सीएमसीबाट ठगीनेहरु
माथि उल्लेखित फर्म र मानिसहरु ठगिएको उजुरीबारे प्रहरीले खानेपानी मन्त्रालयमा जानकारी गरायो । प्रहरीले मन्त्रालयमा जानकारी गराएको बेलासम्म इटालियन ठेकदारका प्रतिनिधिहरु नेपालमै थिए । तर मन्त्रालयले महानगरीय प्रहरी परिसरलाई कारबाही अगाडी नबढाउनु र पिडितलाई मन्त्रालय नै पठाउन भन्यो तर कुनै न्याय मिल्ने कुनै संकेत नदेखिएकाे पिडितले बताएका छन् ।
उल्लेखित पिडितसहित ४४ जना ठेकदार तथा सप्लायर्सहरुले सीएमसी पिडित समूह नै बनाएर आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सीएमसीबाट उनीहरु १ अर्ब ४० करोड रुपैयाँ पाउनु पर्ने बताउँदै आएका छन् । यो बाहेक आयोजनामा काम गरेका ८ सय जना श्रमीकले करिब ८ करोड रुपैयाँ आफूहरुले पाउनु पर्ने बताएका छन् । तर बालुवाटार पाण्डोल मार्गमा रहेको सीएमसीको नेपाल कार्यालय बन्द छ भने आयोजना म्यानेजर क्रिश्चियाने ग्रेचो सहित सबै जना इटाली फर्किसकेका छन् ।
करोडौँ रकमको चेक बाउन्स
गत माघ २७ गते रिपोटर्स क्लवमा पत्रकार सम्मेलन गरेर सीएमसी पिडित संघर्ष समितिले ठेकदार कम्पनीले आफूहरुलाई दिएको करोडौँ रकमको चेक बाउन्स भएको जानकारी दिए । उनीहरुका अनुसार सीएमसीको नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको खाता नाम C.M.C. DI RAVENNA खाता नं.00101010304528, Current Beneral Account-NPR बाट जारी गरिएको ८ देखि १२ करोड रुपैयाँ बराबरको चेक अनादर भएको छ ।
मार्को क्यासिल्लो पासपोर्ट नं. YA 9716952 र डेभिड पास्टोरानो पासपोर्ट नं. YBO 475120 लाई चेक अनादरमा कारबाही माग गर्दै महानगरीय प्रहरी परिसर टेकुमा पिडितले जाहेरी दिइएका छन् तर कारबाही अगाडी बढेन ।
मेलम्ची खानेपानी परियोजनाको कुल ठेक्का लागत ७ अर्ब ७३ करोड ३४ लाख ७१ हजार ३४२ रुपैयाँ ७२ पैसा सीएमसीले कबोलेको रकम हो । सीएमसीले मेलम्ची खानेपानी विकास आयोजनासंग १० अर्ब भन्दा बढी रकम भुक्तानी लगिसकेको छ । तर आयोजना पनि सकिएको छैन भने नेपालमा उसको भुक्तानी दायित्व पनि करौडौं रुपैयाँमा रहेको देखिएको छ । राष्ट्रिय गौरवको आयोजनामा काम गर्ने ठेकदारको यो भन्दा ठूलो बदमासी र गैह्र जिम्मेवारी पन अर्को के हुन सक्छ ?
मेलम्ची आयोजनासंग सीएमसीले दावी गरेको क्षतिपूर्ति नाजायज रहेको स्वतन्त्र विवाद समाधान समिति (डीबी) ले निर्णय दिई सकेको छ । नेपालमा पाउनु पर्ने भन्दा तिर्नु पर्ने रकम दायित्व सीएमसीको धेरै छ भने इटालीस्थित मुख्य कम्पनी टाट पल्टिएको छ ।
सीएमसीले ठेक्का लिएर अलपत्र छोडेको तनहुँ हाइड्रोले गत मंगलबार मात्रै उसंगको ठेक्का तोडेको छ । इटालियन अदालतको आदेशमा सीएमसीको विश्वभर रहेको बैंक खातामा रकम राख्न सकिन्छ तर झिक्न मिल्दैन । यतिसम्म संकटग्रस्त बनेको एउटा ठेकदार कम्पनीलाई खानेपानी मन्त्री र सरकार अझै किन पत्याई रहेको छ ।