‘हाइड्रोमा शेयर भएका युवालाई खोजीखोजी ज्वाइँ’ बनाउने विषयले प्राथमिकता पायाे, तर कसरी ?

Aug 30, 2020 07:02 PM Merolagani



  • विष्णु बेल्बासे

तीन वर्षअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मन्त्री पदको सपथ लिएलगतै उनले ‘हाइड्रोपावरमा शेयर भएका युवालाई खोजीखोजी ज्वाइँ’ बनाउने अवस्थामा पुर्याउने उद्घोष गरेका थिए । त्यतिबेला माथिल्लो तामाकोशी आयोजनाको शेयर प्रतिकित्ता हजार भन्दा माथि हुने चर्चा परिचर्चा बजारमा चलेको थियो ।

अन्य जलविद्युत कम्पनीको पनि तीन सय भन्दा कम नहुने आंकलन गरिएको थियो । उक्त समयमा नयाँ मन्त्रीको जिम्मेबारी सम्हालेका ऊर्जा मन्त्री पुनले हाइड्रोमा शेयर भएका युवालाई खोजीखोजी ज्वाइँ बनाउने उद्घोष गरेका थिए ।

त्यसबेला ऊर्जा मन्त्री र जलविद्युत कम्पनीको शेयर भएका लगानीकर्ताहरूको शान हेर्न लायक नै थियो ।शेयर बजारमा ऊर्जामन्त्रीको उक्त उद्घोषले एउटा तरंग नै फैलाउन पुगेको थियो । त्यसपछि त्यो बिषय सेलाउँदै गएको थियो । तर अहिले पुन हाइड्रोमा शेयर भएका युवालाई खोजीखोजी ज्वाइँ बनाउने बिषयले चर्चा पाउन थालेको छ ।

अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकमा हाइड्रोमा शेयर भएका युवालाई खोजीखोजी ज्वाइँ बनाउने छलफल सुरु भएको छ । निजी क्षेत्रका ऊर्जा उत्पादकहरुले बैंकले जलविद्युतमा ५ प्रतिशत ब्याजदरमा ऋण प्रवाह गर्न नसकेको र सहुलियत कर्जा दिन नसकेका कारण आयोजनाको लागत बढन पुगेको गुनासो गरेपछि अर्थमन्त्रालय र राष्ट्र बैंकमा हाइड्रोमा शेयर भएका युवालाई खोजीखोजी ज्वाइँ बनाउने उपाय सहितको छलफल सुरु भएको हो ।

निजी क्षेत्रका ऊर्जा उत्पादकहरुले बैंकको मंहगो ब्याजदर कम नभएका कारण आयोजनाको लागत बढी हुन गएको र आयोजनाबाट उत्पादन हुने बिजुली बिक्री गर्दा पनि बैंकको सावाँ, ब्याज तिर्न मुस्किल भएको गुनासो अर्थमन्त्रालय र राष्ट्र बैंकसमक्ष गरेपछि ती दुई सरकारी निकायहरु उक्त बिषयमा छलफलमा केन्द्रीत भएका हुन् ।

केही आयोजनाहरु बैंकले लिलामी गर्न थालेको, केही आयोजनाबाट उत्पादित बिजुलीको पैसा बैंकलाई बुझाउँदा ठिक्न हुने गरेकाले शेयरधनीलाई लाभांश वितरण गर्न नसक्ने अवस्थामा पुगेपछि शेयरको भाउ प्रतिकित्ता एक सय रुपैयाँमा भन्दा तल आएपछि निजी ऊर्जा उत्पादकहरु आफ्ना गुनासा राख्न अर्थमन्त्रालय र राष्ट्र बैंक पुगेका थिए ।

५ प्रतिशत ब्याजदर र सहुलियत कर्जा आयोजनालाई उपलब्ध गराउने हो भने तमाम समस्या समाधान हुने स्तन्त्र ऊर्जा उत्पादक सूर्यप्रसाद अधिकारीले बताए । ‘निजी प्रवद्र्धकका समस्या समाधान गर्ने हो भने अर्थमन्त्रालय र राष्ट्र बैंकल पहल थाल्नु पर्छ,’उनले भने, ‘केही दिनअघि ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधान गर्न अर्थमन्त्रालय राष्ट्र बैंक पुगेका थियौ ।’निषेधाज्ञा सुरु भएका कारण पुनः ताकेता गर्न नसकिए पनि अर्थमन्त्रालय र राष्ट्र बैंकमा छलफल भइरहेको पनि उनले बताए ।

ऊर्जा मन्त्रीले पुनले पहिलेका कुरा स्मरण गराउँदै मन्त्रीको सपथ लिएसँगै हाइड्रोमा शेयर भएका युवालाई खोजीखोजी ज्वाइँ बनाउने अवस्थामा पुर्याउने बताएका थिए ।

‘पहिले जनकपुर चुरोट कारखाना र नागरिक उड्डयनका कर्मचारीलाई खोजीखोजी ज्वाइँ बनाउने गरिन्थ्यो,’ मन्त्री पदको सपथ लिएलगत्तै मन्त्रालयमा कर्मचारीले गरेको स्वागत कार्यक्रममा मन्त्री पुनले भनेका थिए, ‘अब हाइड्रोमा शेयर भएका युवालाई ज्वाइँ बनाउन हानथाप हुने वातावरण बनाउनेछु ।’

उत्साही पारामा २०७४ साल चैत २ गते उनले उक्त कुरा बोलेका थिए । उनको त्यस्तो भनाइ सार्वजनिक भएलगत्तै जलविद्युत कम्पनीको शेयर मूल्य बढेको थियो । लगानीकर्तामा आशाका किरण देखिएका थिए । तर, उनको त्यतिबेलाको उद्घोषलाई अहिले जलविद्युत कम्पनीको शेयर मूल्यले नै ‘वाहियात’ प्रमाणित गरिदिएको छ ।

विगतमा जलविद्युत कम्पनीको शेयर किनेका सर्वसाधारण लगानीकर्तामा रुने कि हाँस्ने भन्ने अवस्थामा छन् ।

ऊर्जामन्त्रीले खोजी ज्वाइँ बनाउने स्थिति बनाउँछु भनेको पनि तीन वर्ष भइसकेको छ । यसबीचमा जलविद्युत कम्पनीको शेयर मूल्य उकालो लाग्नुको सट्टा झनै ओरालो लागेको छ ।

लगानीकर्ता उत्साही हुँदै जानुपर्ने हो तर, अहिलेसम्म पनि जलविद्युत कम्पनीका शेयर किन्नेहरु पछुतो मानिरहेका छन् ।

आम नागरिकले सय रुपैयाँमा किनेको शेयर वर्षौपछि अहिले ५० रुपैयाँमा बिक्री गर्छु भन्दा पनि बिक्री गर्न सकेका छैनन् ।

अहिलेसम्म (केही अपवादबाहेक) जलविद्युत आयोजनाको शेयर खरिद गरेका सर्वसाधारण नागरिक नोक्सानीमा छन र हलचल गर्न सक्ने अवस्थामा छैनन् ।

जलविद्युत आयोजनामा लगानी गर्नेहरु दुःखी छन् । जलविद्युतको शेयर खरिद गर्नुको साटो अन्य कम्पनीको शेयर खरिद गरेको भए लाभांश त पाइथ्यो । जलविद्युत आयोजनाको शेयर खरिद गरेर लाभांशको कुरा त परै जाओस् साँवा पनि डुब्ने स्थिति बनेको छ ।

यस्तो हुनुमा प्रवद्र्धकको बेइमानी मुख्य जिम्मेवार रहेको एक शेयर लगानीकर्ताले बताए । ‘प्रवद्र्धक मोटाउँदै जाने र सर्वसाधारण लगानीकर्ता दुब्लाउँदै जाने अवस्था पुगे,’ उनले भने, ‘केही ठूला आयोजनाकोबाहेक धेरैजसो जलविद्युत कम्पनीको शेयर बिक्री हुन छाडेको छ ।’

नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सूचीकृत करिव तीन दर्जन जलविद्युत कम्पनीमध्ये करिव दुई दर्जाको शेयर मूल्य १०० रुपैयाँभन्दा कम छ । लगानी गरेअनुसारको प्रतिफल नआउने भएपछि धेरैजसो जलविद्युत कम्पनीको शेयरको भाउ एक सय रुपैयाँभन्दा तल छ ।

सर्वसाधारण नागरिकले जलविद्युतको शेयरमा गरेको लगानी बालुवामा पानीजस्तै भएको छ । हजार रुपैयाँ लगानी गरेर सय रुपैयाँ पनि हात पार्न सकेका छैनन् । लगानीकर्ताले ब्याजको त के कुरा साँवा पनि गुमाउँदै गएका छन् । नेपाल धितोपत्र बोर्डले इक्रा रेटिङमा चारभन्दा तल आउने जलविद्युत कम्पनीको शेयर निष्कासनमै रोक लगाएको छ ।

जलविद्युत आयोजना निर्माण पूरा हुने बेलासम्म संस्थापक शेयरधनीहरूले आफ्नो लगानी उठाइसक्ने र सर्वसाधारणलाई फराउने गरेका कारण यो समस्या आएको विज्ञहरूको भनाइ छ । संस्थापकले आयोजनामा लाग्ने सामान खरिदमा बजार मूल्य भन्दा दोब्बर तेब्बरबढीको बिल बनाउने र फाइदा लिने, तर सर्वसाधारण लगानीकर्ता फस्ने गरेका छन् ।

प्रवद्र्धको यस्तो चतु-याइपूर्ण खेलले गर्दा सर्वसाधारण नागरिक जलविद्युत आयोजनाको शेयर खरिद गर्न हच्किन पुगेका छन् । यता, निजी ऊर्जा उत्पादकहरु भने नेपाल विद्युत प्राधिकरणले बिजुली खरिद मूल्य सरकारीभन्दा निजी कम्पनीलाई कम दिएर भेदभाव गरेको, बैंकको ब्याजदर बढी भएको र सहुलियत कर्जा प्रवाह नगरेकोलगायतका कारण समस्या परेको गुनासो गर्दै आएका छन् ।

उनीहरुले अहिले अर्थमन्त्रालय र केन्द्रीय बैंकमा बैंकको ब्याजदर ५ प्रतिशतमा सिमित गरिदिन र सहुलियत कर्जा उपलब्ध गराउन आग्रह गर्दै धाउन थालेका छन् । अर्थ मन्त्रालय र केन्द्रीय बैंकमा पनि ‘हाइड्रोमा शेयर भएका युवालाई खोजीखोजी ज्वाइँ’ बनाउने ऊर्जा मन्त्रीको उद्घोषलाई साकार पार्ने गरी छलफल गर्न थालिएको छ ।




चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।