इष्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी ? हेरौं

Oct 14, 2022 07:02 AM Merolagani

इष्टर्न हाइड्रोपावर लिमिटेडले आज शुक्रबार (असोज २८ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो ।

सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी रहने ६ लाख २३ हजार २८९ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ४९ करोड ६० लाख रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई ५ करोड ६९ लाख ६९ हजार रुपैयाँ र सर्वसाधारणलाई ६ करोड ७० लाख ३१ हजार रुपैयाँ गरी १२ करोड ४० रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६२ करोड रुपैयाँ पुग्नेछ ।

आईपीओमा कसरी दिने आवेदन?

कम्पनीले निष्काशन गरेको शेयरमा छिटोमा कार्तिक १ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे कार्तिक १४ गतेसम्म म्याद थप हुनेछ ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमवि क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतिकर्तामा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

ओषत जोखिम रहेको जनाउने रेटिङ्ग

कम्पनीले निष्काशन गरेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयरएनपी बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले सयममा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको जनाउँछ ।

उक्त रेटिङ्गको अवधि जारी भएको मितिबाट एक वर्ष अर्थात २०७९ मंसिर २१ गतेसम्म कायम रहन्छ ।

कस्तो कम्पनी हो?

इष्टर्न हाइड्रोपावर लिमिटेड, कम्पनी अध्यादेश २०६२ बमोजिम २०६२ पुस ६ गते प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई २०७४ साउन १८ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो ।

कम्पनीको रजिष्टर्ड (केन्द्रीय) कार्यालय ललितपुरको, ललितपुर म.न.पा. वडा नं. १०, ज्वागलमा रहेको छ भने आयोजना स्थल, जलविद्युत उत्पादन केन्द्र तथा अन्य भौतिक पूर्वाधारहरु प्रदेश १ अन्तर्गतको भोजपुर जिल्ला, भोजपुर नगरपालिकामा रहेको छ ।

कम्पनीले ५ मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत आयोजना सञ्चालन गर्दै आइरहेको छ ।

आयोजना निर्माण सम्पन्न भइसकेको आयोजनाको कूल लागत १ अर्ब ३० करोड ५८ लाख ७३ हजार ४९४ रुपैयाँ रहेको छ । आयोजनाको प्रति मेगावाट औसत लागत २६ करोड ११ लाख रुपैयाँ रहेको छ ।

साथै साधारण लगानी फिर्ता हुने अवधि ९.०७ वर्ष र डिस्काउन्टेट तर्फ लगानी फिर्ता हुने अवधि १८.११ वर्ष रहेको छ ।

कम्पनीले आयोजनाको सम्पुर्ण निर्माण कार्य सम्पन्न गरी २०७६ जेठ २७ गतेदेखि विद्युत उत्पादन गरी बिक्री गर्दै आइरहेको छ ।

आईपीओ जारी गर्नुको उदेश्य

कम्पनीबाट निर्माण भएको जलविद्युत आयोजनाको निर्माण तथा विकासको लागि बैंकसँग सम्झौता भई लिएको ऋण चुक्ता गर्न तथा सर्वसाधारणलाई शेयरमा लगानी गर्ने अवसर दिन आईपीओ निष्काशन गर्नु परेको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार आयोजना प्रभावित स्थानियलाई ९.१९ प्रतिशत अर्थात ५ करोड ६९ लाख ६९ हजार रुपैयाँ, र सर्वसाधारणलाई १०.८१ प्रतिशत अर्थात ६ करोड ७० लाख ३१ हजार रुपैयाँ गरी कुल १२ करोड ४० लाख रुपैयाँ बराबरको शेयर निष्काशन गरेको हो ।

आईपीओ निष्काशन गरेर प्राप्त हुने १२ करोड ४० लाख रुपैयाँ कर्जा भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।

दुई वर्षमासम्म पनि नोक्सानीमै हुने

कम्पनीले आगामी दुई आर्थिक वर्षसम्म पनि नोक्सानीमा रहने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०८१/८२ सम्म पनि कम्पनी १ करोड ७७ लाख ९१ हजार रुपैयाँ नोक्सानीमै रहने प्रक्षेपण गरेको हो ।

गत आर्थिक वर्ष २०७८/७९ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी १३ करोड ६४ लाख ६३ हजार रुपैयाँ नोक्सनीमा रहेको थियो ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा पनि कम्पनी ११ करोड ४९ लाख ९० हजार रुपैयाँ नोक्सानीमा रहने प्रक्षेपण गरेको छ ।

यस्तै आर्थिक वर्ष २०८१/८२ सम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ १३ पैसा र प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४२ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७२ रुपैयाँ ४९ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी १५ पैसा रहेको छ ।

पूँजी संरचना
कम्पनीको अधिकृत पूँजी र जारी पूँजी दुबै ६२ करोड रुपैयाँ रहेको छ । यस्तै कम्पनीको चुक्ता पूँजी ४९ करोड ६० लाख रुपैयाँ रहेको छ ।

आयोजना प्रभावित स्थानियलाई ५ करोड ६९ लाख ६९ हजार रुपैयाँ र सर्वसाधारणलाई ६ करोड ७० लाख ३१ हजार रुपैयाँ गरी १२ करोड ४० रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६२ करोड रुपैयाँ पुग्नेछ ।

आईपीओ निष्काशनपछि कम्पनी शेयर स्वामित्व संस्थापकको ८० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत कायम हुनेछ ।

सञ्चालक समिति को को छन्?

कम्पनीको सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ । संस्थापक शेयरधनीको तर्फबाट ५ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना र स्वतन्त्र सञ्चालक १ जना गरी ७ जना सञ्चालक समिति रहने व्यवस्था छ ।

हाल कम्पनीमा संस्थापक समूहका शेयरधनीहरुबाट ५ जना र एक जना स्वतन्त्र गरी ६ जना संचालकहरु रहेका छन् । प्राथमिक सार्वजनिक निष्काशन पश्चात् आगामी वार्षिक साधारण सभाबाट नियम २७ (२) (ख) मा भएको व्यवस्था अनुसार सर्वसाधारण समूहबाट १ जना संचालक समितिको सदस्य निर्वाचित गरिने कम्पनीले जनाएको छ । सञ्चालकको कार्यकाल बढीमा ४ वर्षको हुनेछ ।

कम्पनी सञ्चालक समितिको अध्यक्ष धन बहादुर श्रेष्ठ रहेका छन् । यस्तै सञ्चालक समितिमा देवराज राई, अशोक कुमार मर्हजन, पुष्पराज शर्मा, शोभादेवी कर्माचार्य र शशीराज श्रेष्ठ रहेका छन् । श्रेष्ठ स्वतन्त्र सञ्चालक हुन् ।

भावी योजना तथा रणनीति

कम्पनीले आफ्नो व्यवसाय वा सेवाको वृद्धिका लागि चाल्ने भावी योजना र त्यस्तो योजना प्राप्तिका लागि चालिने चरणवद्ध रणनीति बनाएको छ ।

कम्पनीको मूख्य उद्देश्य नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्ने योजना बनाएको छ । यसको लागि कम्पनीले नयाँ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी अन्य जलविद्युत आयोजनाहरु समेत निर्माण गर्ने जनाएको छ ।

यस्तै कम्पनीले सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने र सो लाई नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्ने योजना बनाएको छ ।

कम्पनीले आफ्नो उद्देश्य प्राप्तिका लागि ब्यवसायिक रुपमा सम्भाव्य देखिएको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने रणनीति समेत बनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।