सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौं

Mar 10, 2023 05:57 AM Merolagani

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आज शुक्रबार (फागुन २६ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजीको ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने ९९ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको ९९ लाख ९७ हजार ५०० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये ५ प्रतिशत अर्थात १६ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको १६ लाख ६६ हजार २५० कित्ता शेयर आयोजना तथा कम्पनीमा कार्यरत कर्मचारीहरुलाई, १० प्रतिशत अर्थात ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ३२ हजार ५०० किता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई निष्काशन गरिसकेको छ । बाँकि रहेको १५ प्रतिशत अर्थात ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये पनि १० प्रतिशत अर्थात ४ लाख ९९ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, ५ प्रतिशत अर्थात २ लाख ४९ हजार ९३७ कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहने ४२ लाख ४८ हजार ९३८ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब ५० करोड रुपैयाँ, जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँ र चुक्ता पूँजी २ अर्ब ३३ करोड २७ लाख ५० हजार रुपैयाँ रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र सर्वसाधारणमा आईपीओ निष्काशन गरी बाँडफाँट गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले निष्काशन गरेको आईपीओमा फागुन ३० गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे चैत १० गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतीकर्तामा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

उच्च जोखिम जनाउने रेटिङ्ग

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्गस् नेपाल लिमिटेडले कम्पनीलाई कयेरएनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको भन्ने संकेत गर्दछ।

केयर रेटिङ्गस् नेपालले कम्पनीलाई २०७८ चैत २२ गते क्रिडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो । सो रेटिङ्गको अवधि २०७९ चैत २१ गतेसम्म कायम हुनेछ ।

कस्तो कम्पनी हो?

सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेड, कम्पनी ऐन, २०६३ अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७३ बैशाख २३ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो ।

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं. ४ शंखपार्क धुम्बाराहीमा रहेको छ । कम्पनीको मध्य तमोर जलविद्युत आयोजनाको कार्यालय भने कोशी प्रदेशको, ताप्लेजुङ्ग जिल्ला, फुङलिङ नगरपालिका वडा नं. १० मा रहेको छ ।

कम्पनीले ताप्लेजुङ्गको फुङलिङ नगरपालिका वडा नं. ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नं. १ तथा मिक्वाखोला गाउँपालिका वडा नं. २ को सिमाना भएर बग्ने तमोर नदीको पानीलाई सदुपयोग गरी नदी प्रवाहमा आधारित ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।

सो आयोजनाको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ (निर्माण) अवधिको व्याज सहित) र प्रतिमेगावाट लागत १८ करोड २६ लाख रुपैयाँ लाग्ने अनुमान रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.६३ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३.३६ वर्ष रहेको छ ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीले प्रबन्धपत्रमा भएको व्यवस्था अनुसार जारी पूँजीको १० प्रतिशत आयोजना प्रभावित स्थानिय र जारी पूँजीको १५ प्रतिशत गरी २५ प्रतिशत अर्थात ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको शेयर निष्काशन गर्नु परेको जनाएको छ ।

कम्पनीले आईपीओ निष्काशनबाट संकलन भएको रकम वित्तीय एवंम आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न प्रयोग गरिने जनाएको छ ।

आईपीओ निष्काशन गरेर संकलन भएको ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ मध्ये सिभिल निर्माणमा ५४ करोड ३२ लाख रुपैयाँ, इलेक्ट्रोमेकानिकल खरिद तथा जडान मा १४ करोड ७८ लाख रुपैयाँ, हाइड्रोमेकानिकल खरिद तथा जडानमा ५ करोड १८ लाख रुपैयाँ, विद्युत प्रशारण लाइफ निर्माणमा १ करोड ७९ लाख रुपैयाँ र प्रशासनिक तथा इन्जिनियरिङ्ग व्यवस्थापनमा ७ करोड २१ लाख रुपैयाँ खर्च गर्ने जनाएको छ ।

दुई वर्षमा ६५ करोड बढी नाफा कमाउने

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ६५ करोड १२ लाख रुपैयाँ संचित नाफा आर्जन गर्ने अनुमान गरेको छ ।

चालु आर्थिक वर्ष अर्थात २०७९/८० मा भने कम्पनी १० करोड ६० लाख रुपैयाँ नोक्सानीमा रहने कम्पनीको प्रक्षेपण रहेको छ । गत आर्थिक वर्ष पनि कम्पनी करिब ४ करोड रुपैयाँ नोक्सानीमा रहेको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा भने कम्पनीको सञ्चित मुनाफा २२ करोड ४७ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

चालु आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ९९ पैसा ऋणात्मक रहने जनाएको छ । यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ भने ९६ रुपैयाँ ८२ पैसा पुग्ने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०८१/८२ सम्ममा भने कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८० पैसा र प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ५४ पैसा पुग्ने अनुमान रहेको छ ।

पूँजी संचरना कस्तो?

हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब ५० करोड रुपैयाँ, जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँ र चुक्ता पूँजी २ अर्ब ३३ करोड २७ लाख ५० हजार रुपैयाँ रहेको छ ।

आयोजना तथा कम्पनीमा कार्यरत कर्मचारीहरुलाई, आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र सर्वसाधारणलाई ९९ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

आईपीओ निष्काशनपश्चात कम्पनीको शेयर स्वामित्व संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत कायम हुनेछ ।

सञ्चालक समितिको संरचना

कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना र स्वतन्त्र सञ्चालक १ जना गरी ७ जना सञ्चालक रहने व्यवस्था रहेको छ ।

हाल समितिमा संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ४ जना र एक जना स्वतन्त्र गरी ५ जना मात्रै सञ्चालक समितिमा रहेका छन् ।

यस्तै सर्वसाधारणलाई शेयर निष्काशन भई बाँडफाँट पश्चात आगामी साधारण सभाबाट निर्वाचित भएपछि सर्वसाधारण समुहबाट २ जना सञ्चालक चयन हुनेछ ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा विनय कुमार श्रेष्ठ रहेका छन् । त्यसैगरी, कम्पनीका अन्य सञ्चालकहरुमा अपार न्यौपाने, उषा खतिवडा, शिव कुमार बस्नेत र ब्रज भुषण चौधरी रहेका छन् । चौधरी भने स्वतन्त्र सञ्चालक हुन् ।

भावी योजना तथा रणनीति

कम्पनीले आफ्नो व्यवसाय/सेवाको बृद्धिका लागि चाल्ने भावी योजना र त्यस्तो योजना प्राप्तिका लागि चालिने समयवद्ध रणनीति समेत बनाएको छ ।

कम्पनीले मध्य तमोर जलविद्युत आयोजना निर्माण कार्य २०८० भाद्र २६ गते सम्म सम्पन्न गरेर यसलाई सुचारु रुपमा सञ्चालन गर्ने र आयोजना निर्माणको क्रममा लिएका ऋण सुविधाहरु भुक्तानी गर्ने योजना बनाएको छ ।

कम्पनीले सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने र सो उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी देशलाई विद्युतमा आत्मनिर्भर बनाई देशलाई सम्वृद्ध बनाउन सहयोग गर्ने र व्यावसायिक रूपमा सम्भाव्य देखिएको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने रणनीति पनि बनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।