अहिलेसम्म ५ वटा म्युचुअल फन्डले लाभांश घोषणा गरेका छन् । म्युचुअल फन्डहरुमा पनि ओपन इन्डेड म्युचुअल फन्डले पहिला लाभांश घोषणा गरिरहेका छन् । १० रुपैयाँ प्रति इकाई पर्ने म्युचुअल फन्डले लाभांश रुपमा नगद लाभांश नै दिने गरेका छन् । अहिलेसम्म लक्ष्मी सनराइज क्यापिटलका ३ वटा म्युचुअल फन्ड योजनाको साथै सिद्धार्थ क्यापिटलको ओपन इन्डेड म्युचुअल फन्ड र कुमारी क्यापिटलको म्युचुअल फन्डले समेत लाभांश घोषणा गरेको छ ।
लक्ष्मी सनराइज क्यापिटलको सनराइज ब्लुचिप फन्ड, लक्ष्मी भ्यालु फन्ड–२ र शुभ लक्ष्मी कोषले लाभांश घोषणा गरेको हो । अहिलेसम्म सनराइज ब्लुचिप फन्डले सबैभन्दा बढी १९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । लक्ष्मी सनराइज क्यापिटलकै लक्ष्मी भ्यालु फन्ड–२ ले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । यी दुवै क्लोज इन्डेड म्युचुअल फन्ड हुन् र क्यापिटलले दुवै म्युचुअल फन्डको लाभांश प्राप्त गर्नको लागि बुक क्लोज मिति तोकेको छैन तर शुभ लक्ष्मी कोष ओपन इन्डेड म्युचुअल फन्ड रहेकाले सञ्चालक समिति बैठक बसेको साउन १२ गतेसम्म कायम रहेका इकाइधनीले लाभांश पाउने सूचना क्यापिटलले दिएको छ । क्यापिटलले शु्भ लक्ष्मी कोषको लागि १६ प्रतिशत लाभांश घोषणा गरेको छ । एसआईपी अन्तर्गत लक्ष्मी सनराइज क्यापिटल मार्फत लगानी गर्ने लगानीकर्ताले पहिलोपटक लाभांश प्राप्त गरेको हो । गत वर्ष लक्ष्मी सनराइज क्यापिटलका लक्ष्मी भ्यालु फन्ड–२ बाहेक कुनै पनि म्युचुअल फन्डले लाभांश वितरण गरेको थिएन । लक्ष्मी भ्यालु फन्ड–२ ले गत वर्ष साढे ४ प्रतिशत मात्रै लाभांश बाँडेको थियो ।
सिद्धार्थ क्यापिटलले सञ्चालन गरेको सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले भने गत वर्षको नाफाबाट इकाईधनीलाई ८ प्रतिशत नगद लाभांश दिने भएको छ । सिद्धार्थ क्यापिटलले सञ्चालन गरेको ४ वटा म्युचुअल फन्ड स्किममध्ये यो ओपन इन्डेड स्किम हो । सिद्धार्थ क्यापिटलले सञ्चालन गरेको अन्य योजनाले लाभांश घोषणा गरेको छैन । सिद्धार्थ क्यापिटलले अहिले १० वर्षीय सिद्धार्थ इक्विटी फन्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम– २, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ गरेर चार वटा म्युचुअल फन्ड योजना सञ्चालन गर्दै आइरहेकोमा एसआईपी स्किम अन्तर्गतको सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले लाभांश घोषणा गरेको हो । यो म्युचुअल फन्डले विगत दुई वर्षमा कुनै पनि लाभांश वितरण गर्न सकेको छैन ।
त्यसैगरी कुमारी क्यापिटलले कुमारी सुनौलो लगानी योजना, कुमारी इक्विटी फन्ड र कुमारी धनवृद्धि योजना गरी तीन वटा योजना सञ्चालन गरिरहेको छ । यी तीन योजनामध्ये एसआइपी योजना अन्तर्गतको कुमारी सुनौलो लगानी योजनाका इकाइधनीले ८.८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यो योजनाले गत वर्ष पनि साढे १० प्रतिशत नगद लाभांश दिएको थियो । गत वर्ष कुमारी इक्वीटी फन्ड र कुमारी धनवृद्धि योजनाले साढे ९ प्रतिशत नगद लाभांश बाँडेको भए पनि यस वर्ष अहिलेसम्म लाभांश घोषणा गरिएको छैन ।