आइतबार नेप्से परिसूचक १८.०२ अंक घटेर २७३९.९५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१८ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५ अर्ब २ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२३ स्टकको ५८ हजार १०५ पटकको कारोबारमा ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार रुपैयाँबराबरको १ करोड ४० लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
विकास हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ३५ रुपैयाँ ३० पैसा बढेर ३८८ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ४ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य बढेका स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ७.२९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.१५ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.६९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।