सोमबार नेप्से परिसूचक ९.१६ अंक बढेर २७७०.३९ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.६६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६४ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। आइतबार ७ अर्ब ७३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ६७ हजार ९५९ पटकको कारोबारमा ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार रुपैयाँबराबरको १ करोड ५२ लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन युनियन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६.१० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ भने अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको सम्पदा लघुवित्तको शेयरमूल्य यस दिन ४.८१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ७५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको करिब २१ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार रकम साढे १८ करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.२९ प्रतिशत बढेको छ। अरु बढेका उपसमूहहरुको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ। यस दिन म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक घटेको हो।