जेनजी आन्दोलनको घुनमा परेका इमान्दार नेता तथा कार्यकर्ता जो पदमा रहँदा पनि बदमासी गरेनन्, तर आक्रमणकारीको निशानामा परे

Sep 19, 2025 05:59 AM mero lagani



जेनजी आन्दोलनको क्रममा देशभरमा सयौं नेता तथा कार्यकर्ताको घर जलाइयो । कतिपय ठाउँमा नेताहरुका व्यवसायमा आगजनी गरियो ।

उनीहरु मात्र होइन, नेताहरुको लगानी रहेको भन्ने हल्लाको आधारमा स्थानीय नेता, कार्यकर्ता र व्यवसायीका घर, व्यवसायिक प्रतिष्ठानहरुमा पनि आगजनी र तोडफोड गरियो ।

त्यस्तो तोडफोडबाट कति बराबरको नोक्सान भयो, यकिन तथ्य बाहिर आउन सकेको छैन । तर, त्यो खर्बाै रकम बराबर हुने कुरामा शंका छैन । प्रमुख नेताहरु र पहिलेदेखि नै भ्रष्टाचारका काण्डहरुमा मुछिएका, सामाजिक रुपमा बदनाम रहेका नेता, कार्यकर्ताको भौतिक सम्पत्तिमाथि आक्रमण हुनुलाई ‘जनताको आक्रोसको परिणाम’ मान्न सकिएला । केवल उनीहरुको मात्र घर लगायतका भौतिक सम्पत्ति माथि आक्रमण भएको भए ‘अति गरेका थिए, त्यसैले यस्तो भयो’ भन्न सकिन्थ्यो ।

कुनै पार्टीको कुनै पदमा बस्दैमा, सांसद र मन्त्री हुँदैमा भ्रष्ट नै हुन्छन् भन्ने छैन । नेपालमा त्यस्ता धेरै नेता कार्यकर्ता छन्, जो मन्त्री, सांसदलगायतका महत्वपूर्ण पदहरुमा पुग्दा पनि इमान्दार रहे । कसैले प्रश्न उठाउन सकेनन् । तर, जेनजी आक्रमणको क्रममा धेरै त्यस्ता नेताहरुको पनि घरहरु जलाइएका छन्, भौतिक सम्पत्तिमा आक्रमण गरिएको छ, जो पदमा रहँदा पनि एक सुको अनियमितता गरेको कुरा उठेको छैन, प्रमाणित हुनु त परैको कुरा ।

त्यसमाथि कहिल्यै लाभको पदमा नपुगेका र सार्वजनिक सम्पत्तिको ‘वैधानिक उपयोग गर्ने अधिकार’ समेत नपाएका नेता कार्यकर्ताका घर, गाडी आगजनी गरिएको छ । फलानो पार्टीको नेता, कार्यकर्ता हुनु नै अपराध भन्ने ढंगले घरमा आगजनी गरिएको छ, तोडफोड गरिएको छ । काठमाडाैं वा कुनै शहरी क्षेत्रमा घरवास हुने वित्तिकै भ्रष्ट भन्ने हुँदैन, त्यो घरवास कुन स्रोतबाट तयार गरिएको हो, त्यो ठूलो कुरा हो ।

तर खासगरि कांग्रेस, एमाले, माओवादीलगायतका पार्टीहरु भित्रका तुलनात्मक रुपमा इमान्दार नेता, कार्यकर्ताको घर र गाडीहरुमा जसरी आक्रमण गरियो, उनीहरु ठूला र भ्रष्ट भनिएका नेताहरु माथि आक्रमण गर्दा घुनमा पिसिएझैं, पिसिएका हुन् कि त्यसको पछाडि साँच्चै नै कुनै ‘ग्रायण्ड डिजाइन’ छ, त्यो खोजीको विषय बनेको छ ।

जस्तो कि एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे । पटक पटक सांसद भएका पाण्डे एक पटक मात्र करिब डेढ वर्ष अर्थमन्त्री भए । समकालिन नेताहरुमध्ये युवा पुस्ताप्रति सबैभन्दा सकारात्मक रहेका नेता पाण्डे अहिलेसम्मकै अर्थमन्त्रीहरु मध्ये ‘मिस्टर क्लिन’ मानिन्छन्, जो आफूले भ्रष्टाचार गर्नु त परैको कुरा, परिवारका सदस्यहरुलाई समेत त्यस्ताबाट पर राखेका छन् । तर, स्वयम्भुमा रहेको उनको घर एमाले उपाध्यक्ष भएकै अपराधमा ध्वस्त पारिएको छ ।

पाण्डे जस्तै एमालेका यस्ता धेरै नेता कार्यकर्ता छन्, जो कुनै पनि काण्डहरुमा फसेका छैनन् । कसैले औंला उठाउन सकेको छैन, तर एमाले भएकै कारण उनीहरुको धन सम्पत्ति नोक्सान गरिएको छ ।

एमाले पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरी त्यस्तै अर्का उदाहरण हुन् । प्रदेशमा करिब साढे ३ वर्ष मन्त्री र करिब ३ महिना मुख्य मन्त्री भएका गिरी लुम्बिनी प्रदेशकै सबैभन्दा इमान्दार नेता मानिन्छन् । विपक्षी दलका नेता कार्यकर्ताले समेत उनको सादगी जीवनको प्रशंसा गर्ने गर्छन् । तर, तिनै गिरीको रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरमा रहेको डेढ तले घर ‘एमाले भएकै कारण’ ध्वस्त पारियो ।

रुपन्देही ५ बाट विघटित प्रतिनिधि सभा सदस्य रहेका एमाले नेता बासुदेव घिमिरे त अघिल्लो स्थानीय तहको निर्वाचनपछि जितेका मेयरहरुमध्ये सबैभन्दा सफल मेयर मानिन्छन् । तिलोत्तमा नगरपालिकाको मेयर हुँदा सुशासन र नगरको विकासको लागि उनले गरेको कामलाई नेपालमा मात्र होइन, विदेशमा समेत प्रसंशा गरिएको थियो । अहिलेका काठमाडाैं महानगरपालिका मेयर बालेन साहले पनि चुनाव जितेपछि ‘तिलोत्तमा नगरपालिकामा वासुदेव घिमिरेले गरे जस्तै गर्ने’ प्रतिवद्धता नै जनाएका थिए ।

मेयर पछि निर्वाचित सांसद रहेका उनले संसदमा पनि जनताको आवाजलाई सक्दो उठाइरहेका थिए । कुनै विवादमा परेका थिएनन् । तर पनि उनको घर जलाएर खरानी बनाइयो ।

दुई पटक मन्त्री भएका एमाले सांसद गोकर्ण विष्ट र पोलिटव्युरो सदस्य पदम गिरी कुनै काण्डमा नपरेका र नमुछिएका कामकाजी नेता मानिन्छन् । तर, उनीहरुको घर पनि जलाइयो ।

गायिकाबाट राजनीतिमा छिरेर राष्ट्रिय सभा सांसद भएकी कोमल ओली, सुर्खेतको विरेन्द्रनगर नगरपालिकाको पहिले उपप्रमुख र अहिले प्रमुख रहेकी एमाले केन्द्रिय सदस्य मोहनमाया ढकाललगायतका धेरै नेता, कार्यकर्ताहरुको घर जलाइएको छ, जो तुलनात्मक रुपमा इमान्दार जनप्रतिनिधि वा नेता कार्यकर्ता हुन् ।

त्यस्तै काँग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेस भित्रका ‘क्रान्तीकारी’ मानिन्छन् । एक पटक करिब ९ महिना स्वास्थ्यमन्त्री रहेका थापा यस अघि पनि पटक पटक सांसद भइसकेका छन् । तर, उनी कुनै भ्रष्टाचारको काण्डमा नमुछिएका नेता हुन् । सामाजिक संजालमा उनलाई हाल बन्द भइसकेको व्यवसायिक कृषि आयोजना (प्याक्ट) को बाख्रा काण्डसँग जोडेर प्रचार गर्ने गरिन्छ, जुन तथ्यगतरुपमा सतप्रतिशत झुटो हो । बरु उनले स्वास्थ्यमन्त्री हुँदा केही सकारात्मक प्रयासहरु गरेका थिए ।

त्यस्तै शर्मा त पहिलो पटक सांसद भएका हुन् । दुवै महामन्त्रीहरु नेपाली कांग्रेसको उच्च नेतृत्वमा रहेकाहरुमध्ये सबैभन्दा इमान्दारहरुमा पर्छन् । शर्माले झापामा आफ्नाे जग्गा असहायलाइ दिएर घर समेत बनाइ दिएका छन् तर, त्यो कुरालाई बिर्सिएर कांग्रेस भएकै ‘अपराध’मा उनीहरु दुवैको घर जलाइयो ।

जेनजीको नाममा नेता कार्यकर्तामाथि मात्र होइन, कुनै अमुक पार्टीको मतदाता भएकै आधारमा कतिसम्म ज्यादती गरियो भन्ने अर्काे उदाहरण रुपन्देहीका श्यामकृष्ण खाँण हुन् । नाताले उनी भुटानी शरणार्थी काण्डमा मुछिएका नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणका भाई र तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणका दाइ हुन् । दाइ भाइले राजनीति गरेर सार्वजनिक पदहरुमा पुगे पनि, काण्डहरुमा मुछिए पनि श्यामकृष्णले कहिल्यै राजनीति गरेनन् ।

खेतीपातीसहितका व्यवसाय गरेर बसिरहेका छन् । दाइ भाइ नै कांग्रेसको राजनीति गर्ने भएकोले रुखमा भोट दिनु बाहेक राजनीतिसँग उनको कुनै सम्वन्ध छैन । तर, दाजु बालकृष्ण र भाइ रामकृष्णको दाइ भएकै अपराधमा उनीहरुसँग उहिल्यै अलग भएर आफ्नै पाराले सामान्य जीवन बाँचिरहेका उनको घर पनि तहसनहस पारियो ।

सबैभन्दा विडम्बनाको पात्र त राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल बनेका छन् । पार्टी सदस्यको रुपमा प्रतिनिधि सभाको उम्मेद्वार बन्नु, योजना आयोगको उपाध्यक्ष बन्नु र पछिल्लो समय ‘कांग्रेस उम्मेद्वारको रुपमा’ गभर्नर बने पनि उनी कुनै पनि आर्थिक विवादमा नपरेका ‘मिस्टर क्लिन’ अर्थशास्त्री नै हुन्, आजको दिनसम्म । तर उनले पनि ‘कांग्रेस’ भएकै आधारमा ‘सजाय’ पाए । ललितपुरको भैंसीपाटी र चितवनमा रहेको घर पूर्णरुपमा ध्वस्त पारियो ।

माओवादीबाट सांसद भइसकेका मकवानपुरका रामनारायण विडारी नेपालको इतिहासका एक अलग पात्र जननेता रुपचन्द्र विष्टको आदर्शलाई अंगाल्न खोजिरहेका थोरै पात्रहरु मध्ये एक हुन् । वरिष्ठ अधिवक्ता विडारीले सांसद हुँदा मात्र होइन, अदालतमा मुद्दा लड्दासमेत छलकपट गरेको घटनासमेत पाइदैन । तर, त्यस्ता इमान्दार उनको घर पनि डडाएर ध्वस्त पारियो ।

सदावहार आक्रामक देखिने रामकुमारी झाँक्रीलाई बुझ्ने विषयमा मानिसहरुका आ-आफ्नै दृष्टिकोण हुन सक्छन् । २०७४ पछि पाँच वर्ष समानुपातिक कोटाबाट सांसद बनेकी झाँक्री एमाले विभाजनपछि करिब ९ महिना खानेपानी मन्त्री बनिन् । तर, उनले भ्रष्टाचार गरेको एउटा पनि घटना अहिलेसम्म कसैले सार्वजनिक गर्न सकेको छैन । बरु उनी मन्त्री हुँदा होस वा नहुँदा होस्, विद्यार्थी नेता हुँदा होस वा अहिले, निरन्तर रुपमा भ्रष्टाचार र आर्थिक अनियमितताहरुको विरुद्ध आक्रामक रुपमा बोल्ने, युवा नेतृत्वको पक्षमा वकालत गर्ने नेताहरुमा पर्छिन । तर, उनकै घर जलाएर ध्वस्त पारियो ।

मधेशसवादी दलका नेताहरुमा महन्थ ठाकुरको आफ्नै विशिष्ठ पहिचान छ । उमेरले आठ दशक पुग्न लागेका ठाकुर नेपाली कांग्रेसमा हुन्जेल पटक पटक मन्त्री भए, उपसभामुख भए । नेपाली कांग्रेस छोडेर मधेसवादी दल गठन गरे पनि उनी कुनै आर्थिक र अन्य अपराधकर्ममा कहिल्यै मुछिएनन् । तर, उनको घर पनि जलेर ध्वस्त पारियो ।

यी त केही उदाहरण मात्र हुन् । जेनजी आन्दोलनको क्रममा यस्ता धेरै नेता कार्यकर्ताहरुको घर, गाडी लगायत भौतिक सम्पत्तीमाथि आक्रमण गरियो, जो तुलनात्मक रुपमा इमान्दार थिए र छन् । र राजनीतिमा नैतिकताको कुरालाई महत्व दिन्छन् । तर, तिनै नेता कार्यकर्ताहरु आक्रमणमा पर्दा भोलिका दिनमा राजनीतिमा इमान्दारिताले कस्तो प्रभाव पर्ला र स्वंय जेनजी पुस्ताले त्यस्लाई कसरी हेर्ला ? प्रश्न उठेको छ ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।