जेनजी प्रदर्शनका क्रममा माइतीघर, थापाथलीसहित देशका शोरुमा आगजनी हुँदा नयाँ गाडीहरुमा ठूलो क्षति भएको थियो । तर, नाका बन्द भइ शोरुमा ल्याइ पुर्याउन बाँकी गाडीहरु भने क्षतिबाट बचेका हुन् ।
अटो व्यवसायीकाअनुसार, अहिले पनि दसैंका लागि बुकिङ गरिएका नयाँ गाडीहरु नाकामै रोकिएका छन् । गएको साउनको अन्त्यमा चीनको सीमा हुँदा आएको बाढीका कारण मितेरी पुल बगाउँदा तातोपानी नाका पूर्ण रुपमा अवरुद्ध बनेको थियो । सोही बाढीका कारण अर्को मुख्य व्यापारिक नाका केरुङ नाका समेत अवरुद्ध बनेको थियो ।

त्यसपछि पनि निरन्तर वर्षाका कारण ती नाकाहरु पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा व्यवसायीले दसैंका लागि बुकिङ गरेका गाडीहरु ल्याउन नपाएका हुन् । यसअघि सम्पन्न भएका नाडा र नाइमा अटो मेलामा पनि धेरैजसो ग्राहकले गाडीहरु बुकिङ गराएका थिए । विभिन्न अटो कम्पनीहरुले दसैंका लागि बुकिङ गराएका कतिपय गाडीहरु ग्राहकलाई बुझाइसके पनि कतिपयले भने बुकिङ गरेका गाडीहरु ल्याइ पुर्याएका थिएनन् ।
नाका अवरुद्ध हुँदा रोकिएका गाडीहरु कतिपय अटो व्यवसायीले वैकल्पिक उपाय गरेर कोरोला नाका हुँदै ल्याएका छन् । अधिकांश विद्युत्तीय सवारी(इभी) गाडीहरु तातोपानी र केरुङ नाका अवरुद्ध हुँदा ल्याउन नपाएको बताएका छन् ।
‘दुईवटा नाका अवरुद्ध हुँदा दसैका लागि बुकिङ भएका गाडीहरु ल्याउन समस्या भएको छ । कतिपय गाडीहरु नाकामै अड्किएका छन्,’ अटो व्यवसायी आकाश गोल्छाले भने, ‘कोही कोही कम्पनीले यताको नाका बन्द भए पनि कोरोला नाका हुँदै पनि ल्याउनुभएको छ । तातोपानी नाका पनि छिट्टै खुलाउने भनिएकाले बाँकी गाडीहरु पनि छिट्टै आउने आशा छ ।’ विभिन्न कम्पनीका शोरुममा आगजनी भएकाले नआइपुगेका गाडीहरु सम्भावित क्षतिबाट जोगिएको उनको भनाइ थियो ।
नाका अवरुद्ध भएर गाडी ल्याउन नपाउँदा अटो व्यवसायीलाई भने एउटा फाइदा भएको छ, त्यो हो, जेनजी पुस्ताकाे आन्दोलनका क्रममा कतिपय अटो शोरुममा आगजनी भइ गाडीहरु जलेर ठूलो क्षति भयो । तर, ल्याउन बाँकी गाडीहरु नआउँदा सम्भावित क्षतिबाट समेत व्यापारी जोगिएका छन् ।
अटो मेलाका कति गाडीको भयो बुकिङ ?
दसैं आउनुभन्दा दुई महिना अघि नेपालमा दुईवटा ठूला अटो मेलाहरु सम्पन्न भए । दसैंका लागि भनेर त्यतिबेला नै धेरैजसो ग्राहकले गाडी बुकिङ गराएका थिए । ती मेलाहरुमा बुकिङ भएका अधिकांश गाडीहरु ग्राहकसमक्ष पुर्याइसकेको व्यवसायीले बताएका छन् ।
नाडा अटो शो २०२५ मा सबैभन्दा बढी बिवाइडी कम्पनीको इभी गाडी साढे २ सय वटा बुकिङ भएका थिए । त्यस्तै, नाडा अटो मेला अवधिभर स्काइवेल(प्रिमियम इभी) गाडीहरु १३१ वटा, दीपल एस०५ ब्रान्डका गाडीहरु १०० भन्दा बढी र एलएस अटोका ८८ वटा गाडीहरु बुकिङ भएका थिए ।
अटो कम्पनीका छुट्टाछुट्टै कम्पनीबाट दसैंका लागि कति गाडी बुकिङ भए, यकिन विवरण भने प्राप्त हुन सकेको छैन् । त्यस्तै नाइमा मोबिलिटी एक्स्पोमा पनि सबै कम्पनीका गरेर ५०० भन्दा बढी युनिट गाडीहरुको बुकिङ भएको अनुमान छ ।