सोलु हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

Jan 13, 2026 06:53 AM Merolagani



सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले आज (पुस २९ गते), मंगलबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशतले हुन आउने २ अर्ब रुपैयाँबराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १० लाख कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले दोस्रो चरणमा ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि सुरक्षित राखी बाँकी रहेको ८२ करोड रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले पुस २९ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो। सो आईपीओमा माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि माघ १४ गतेसम्म लम्बिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य कम्पनी तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता सिद्धार्थ क्यापिटल, नबिल स्टक डिलर, लक्ष्मी सनराइज क्यापिटल, एनआईबिएल सहभागिता फण्ड र एनआईबिएल ग्रोथ फण्ड रहेका छन्।

कति कित्ता आवेदन दिने?

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार ८ लाख २० हजार जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। यसरी बाँडफाँट गर्दा कुनै कित्ता शेष नरहने भएकोले १० कित्ता मात्र आवेदन दिँदा उपयुक्त हुनेछ।

औषत जोखिम जनाउने रेटिङ्ग

साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था इन्फोमरिक्स क्रेडिट रेटिङ्ग नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई २०८२ असार २६ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको वैद्यता २०८२ असार १० गतेसम्म रहेको छ।

कस्तो कम्पनी हो?

एसेल–क्लिन सोलु हाइड्रोपावर प्राईभेट लिमिटेड नामबाट २०६७ जेठ २६ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट कम्पनीको रुपमा दर्ता भएको यस कम्पनीले २०७२ चैत २ गतेदेखि सोलु हाइड्रोपावर प्राईभेट लिमिटेडमा नाम परिवर्तन भई कारोबार सञ्चालन गर्दै आएको थियो। २०७९ असार २९ गते कम्पनी रजिष्ट्रारको कार्यालयको निर्णय अनुसार प्रा.लि. बाट परिवर्तन भई पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो।

यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा. नं.२८, पुतलीसडक, त्रिवेणी कम्पलेक्स, काठमाडौँमा रहेको छ । कम्पनीले सम्बन्धित निकायमा आवश्यकतानुसार स्वीकृती लिई अन्य ठाउँमा पनि शाखा कार्यालय खोल्न सक्नेछ। यस कम्पनीको जलविद्युत उत्पादन केन्द्र सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा.नं.११ तिङ्गलामा रहेको छ। कम्पनीमा ९५ जना संस्थापक शेयरधनीहरु रहेका छन्।

कम्पनीले ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजना उत्पादन तथा सञ्चालन गर्न नेपाल सरकार, ऊर्जा मन्त्रालयबाट २०७० चैत ५ गते अनुमतिपत्र प्राप्त गरेको हो र २०७८ पुस २१ मा भएको संशोधन अनुरुप कम्पनीको विद्युत उत्पादन अनुमति पत्र २५ वर्ष बाँकी रहेको छ।

सो आयोजनाको कुल लागत १६ अर्ब ३० करोड ४० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.६८ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १२.०९ वर्ष रहेको छ। कम्पनीले २०८२ साउन २४ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु, वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा सर्वसाधारण नेपालीलाई कम्पनीको धितोपत्रमा लगानीको अवसर दिन आईपीओ निष्काशन गरेको हो। आईपीओ निष्काशनको मुख्य उद्देश्य लक्ष्मी सनराइज बैंकबाट लिएको कर्जा भुक्तानी गर्नु रहेको छ।

आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?

साधारण शेयर निष्काशन गरि प्राप्त हुने २ अर्ब रुपैयाँ कम्पनीले कर्जा भुक्तानीका लागि प्रयोग गर्नेछ।

वित्तीय अवस्था

गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको जगेडा कोषमा २ अर्ब ८३ करोड ५७ लाख ५९ हजार १४६ रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ २० पैसा रहेको छ भने प्रतिशेयर आम्दानी २ पैसा रहेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वास्तविक जगेडा कोष १ करोड ५८ लाख ९६ हजार ३८४ रुपैयाँ थियो। सो अवधिसम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ २१ पैसा थियो भने प्रतिशेयर आम्दानी २३ पैसा थियो।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले जगेडा कोषमा ३ अर्ब ७८ करोड ७१ लाख ३४ हजार ८४४ रुपैयाँ रहने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ५० पैसा रहने प्रक्षेपण गरेको छ भने प्रतिशेयर आम्दानी ९ रुपैयाँ ३० पैसा हुने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना

कम्पनीको नियमावलीमा भएको व्यवस्था अनुसार ७ (सात) जना सञ्चालकहरु रहेको सञ्चालक समिति गठन हुनेछ। जसमा संस्थापक शेयरधनीहरुबाट ५ जना, सर्वसाधारण शेयरधनीहरुबाट १ जना र स्वतन्त्र सञ्चालक १ जना रहनेछन्।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुभाषचन्द्र संघाई रहेका छन्। त्यस्तै, कम्पनीको अन्य सञ्चालकहरुमा विशाल अग्रवाल, विजय सिंह वैद्य (प्रतिनिधि शालिमार इन्भेष्टमेन्ट कम्पनी), आदित्य संघाई र त्रिलोक चन्द अग्रवाल रहेका छन्।

भावी योजना तथा रणनीति

कम्पनीले नेपाल सरकारको नियम कानुनको अधिनमा रहि नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्ने हेतु नयाँ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी थप आयोजनाहरु समेत निर्माण गर्ने लक्ष्य लिएको छ। कम्पनीले आफ्नो उद्देश्य प्राप्तिका लागि व्यवसायिक रूपमा सम्भाव्य देखिएको जलविद्युत आयोजनाहरुमा लगानी गर्नेछ।

ओपनिङ्ग रेञ्ज कति?

आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि नेप्सेमा सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज दिन्छ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।

आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ २१ पैसा रहेको छ। यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँ २१ पैसादेखि ३०० रुपैयाँ ६३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।