कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
अब भने कम्पनीले दोस्रो चरणमा ५० हजार कित्ता सामूहिक लगानी कोष र २० हजार कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि सुरक्षित राखी बाँकी रहेको ८ करोड ३० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।
आईपीओमा कसरी आवेदन दिने?
कम्पनीले माघ १२ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो। सो आईपीओमा माघ १५ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि माघ २६ गतेसम्म लम्बिनेछ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य कम्पनी तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।
कति कित्ता आवेदन दिने?
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार ८३ हजार जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। यसरी बाँडफाँट गर्दा कुनै कित्ता शेष नरहने भएकोले १० कित्ता मात्र आवेदन दिँदा उपयुक्त हुनेछ।
उच्च जोखिम जनाउने रेटिङ्ग
साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।
इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
इक्रा नेपालले कम्पनीलाई २०८२ असार १० गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको वैद्यता २०८३ असार ५ गतेसम्म रहेको छ।
कस्तो कम्पनी हो?
जलविद्युत आयोजनाको विकास, निर्माण र सञ्चालन गर्ने मुख्य उद्देश्यका साथ कम्पनी ऐन, २०६३ बमोजिम २०७२ जेठ २१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा भुजुङ हाइड्रोपावर प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई २०७८ फागुन १ गते बाट भुजुङ हाइड्रोपावर लिमिटेडमा परिणत गरी कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०७९ साउन १० गते कारोबार सञ्चालन गर्ने अनुमति प्राप्त गरी कारोबार गर्दै आएको छ।
कम्पनीकोे रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. १०, सामाखुशीमा रहेको छ भने आयोजना स्थल, जलविद्युत उत्पादन केन्द्र तथा अन्य भौतिक पूर्वाधारहरु लमजुङ्ग जिल्ला, क्व्होलासोथार गाउँपालिकामा (साबिकको भुजुङ गा.विस.) वडा नं. ४, मा रहेको छ।
कम्पनीले ७.५ मेगावाटको माथिल्लो मिदिम जलविद्युत आयोजना उत्पादन तथा सञ्चालन गर्न नेपाल सरकार, ऊर्जा मन्त्रालयबाट २०७६ भदौ २३ गते अनुमतिपत्र प्राप्त गरेको हो र सो अनुरुप कम्पनीको विद्युत उत्पादन अनुमति पत्र ३० वर्ष बाँकी रहेको छ।
सो आयोजनाको कुल लागत १ अर्ब ८० करोड ५८ लाख ४९ हजार ६०० रुपैयाँ ७१ पैसा रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड ९० लाख ८२ हजार ७०३ रुपैयाँ ५५ पैसा रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.६५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.०९ वर्ष रहेको छ। कम्पनीले २०८१ बैशाख ६ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य
कम्पनीले प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम जारी पूँजीको २० प्रतिशत अर्थात २० करोड रकम बराबरको २० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र सर्वसाधारणहरुको लागि बिक्री वितरण गरी कम्पनीको जारी पूँजी १ अर्ब पुर्याउन आईपीओ जारी गरेको हो। त्यस्तै, कम्पनीको वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न तथा प्रबन्धपत्रमा तोकिए बमोजिमको पूँजी संरचना कायम गर्न पनि आईपीओ निष्काशन गरेको हो।
आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?
साधारण शेयर निष्काशन गरि प्राप्त हुने १ अर्ब रुपैयाँ कम्पनीले ऋण प्रदायक बैंक तथा वित्तीय संस्थाहरु (लिड बैंक कुमारी बैंक लिमिटेड र को लिड बैंक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड) सँग भएको सम्झौता बमोजिम लिएको टर्म लोन रकमको साँवा भुक्तानी गर्न उपयोग गर्नेछ।

वित्तीय अवस्था
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नोक्सानी ५ करोड ७ लाख १ हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ ४ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी १० रुपैयाँ ८१ पैसा ऋणात्मक रहेको छ।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३ करोड २८ लाख रुपैयाँ सञ्चित नाफा पुर्याउने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ ७२ पैसा र प्रतिशेयर आम्दानी ३ रुपैयाँ २९ पैसा पुग्ने प्रक्षेपण गरेको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ मा कम्पनीले सञ्चित मुनाफा ६ करोड ९० लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ भने प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९१ पैसा र प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ६३ पैसा पुग्ने प्रक्षेपण गरेको छ।

सञ्चालक समितिको संरचना
कम्पनीको नियमावलीको नियम २७ मा भएको व्यवस्था अनुसार कम्तिमा १ जना महिला सहित ७ जनासञ्चालकहरु रहेको सञ्चालक समिति गठन हुनेछ। जसमा संस्थापक शेयरधनीहरुबाट ५ जना, सर्वसाधारण शेयरधनीहरुबाट १ जना र स्वतन्त्र सञ्चालक १ जना रहनेछन्।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा खगेन्द्र प्रसाद ओझा रहेका छन्। त्यस्तै, कम्पनीको प्रबन्ध सञ्चालकमा माधव राज आचार्य रहेका छन् भने अन्य सञ्चालकहरुमा अनु खनाल, विवेक रावल र हिमाल भट्टराई रहेका छन्। कम्पनीको स्वतन्त्र सञ्चालक भन ढुण्डि राज ज्ञवाली रहेका छन्।
भावी योजना तथा रणनीति
कम्पनीको प्रबन्धपत्रको दफा ४ मा उल्लेख भए बमोजिमका उद्देश्यहरु प्राप्तिका लागि व्यावसायिक रूपमा सम्भाव्य देखिएको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने कम्पनीको उद्देश्य रहेको छ। कम्पनीको मुख्य उद्देश्य जलविद्युत आयोजनाहरुको अध्ययन, आयोजना निर्माण, विद्युत वितरण, व्यवसायिक रुपमा सम्भाव्य देखिएका अन्य जलविद्युत आयोजनाहरुमा लगानी गरि नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्नु रहेको छ।
त्यस्तै, कम्पनीका अन्य उद्देश्यहरुमा माथिल्लो मिदिम जलविद्युत आयोजना (७.५ मे.वा.) को निर्माण कार्य सम्पन्न गरी आयोजना निर्माणको क्रममा लिएका ऋण सुविधाहरु भुक्तानी गर्ने र दक्षता अभिवृद्धि गर्दे भविष्यमा लगानीकर्ताहरुलाई ३ वर्षपछि आर्कषक लाभांश वितरण गर्ने रहेका छन्।
कम्पनीले सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने र सो उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी देशलाई विद्युतमा आत्मनिर्भर बनाई देशलाई सम्वृद्ध बनाउन सहयोग गर्नेछ।
ओपनिङ्ग रेञ्ज कति?
आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि नेप्सेमा सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज दिन्छ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।
आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ ४ पैसा रहेको छ। यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९० रुपैयाँ ४ पैसादेखि २७० रुपैयाँ १२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।