एमाले कांग्रेसको पुरानाे शक्ति संघर्षमा नायिका, उर्जाविद् र बालेनका ‘किचन मिनिस्टर’को प्रवेशले रोमान्चक बन्दै गएकाे ‘हाइभोल्टेज’ काठमाडौं -५ मा कसले जित्ला?

Feb 11, 2026 02:56 PM mero lagani



व्यवस्थित शहरीकरण मुख्य चुनावी एजेण्डा बनेको काठमाडौंको क्षेत्र नम्बर ५ यतिबेला देशकै ‘हाइभोल्टेज निर्वाचन क्षेत्र’ बनेको छ । 

सडक तथा ढल र खानेपानी व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, ट्राफिक जाम घटाउने उपाय, सार्वजनिक यातायातमा सुधार ल्याउने, नदी, ढुंगेधारा र ऐतिहासिक सम्पदाको संरक्षणका विषयलाई पनि जोड दिइरहेका छन् ।

 

यहाँबाट नेकपाका एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेस महामन्त्री प्रदीप पौडेल तथा राप्रपाबाट पूर्वमन्त्री कमल थापा, नेकपाबाट अधिवक्ता कल्पना शर्मा, रास्वपाबाट सस्मित पोखरेल, उज्यालो नेपाल पार्टीबाट श्रीराम गुरुङ लगायतका उम्मेदवार छन् ।

यो क्षेत्रमा २०७४ को आम निर्वाचनमा एमालेका पोखरेलले कांग्रेसका डा. प्रकाश शरण महतलाई हराएका थिए भने २०७९ को आमनिर्वाचन तनहुँको राजनीतिबाट काठमाडौं सरेका हालका कांग्रेस महामन्त्री प्रदीप पौडेलसँग पोखरेल पराजित भएका थिए।

यसपटक फेरि पोख्रेल र पौडेल आमने सामने भएका छन् र उनीहरु दुवैलाई हराउने प्रयासमा अन्य उम्मेदवारहरु लागेका छन् ।

नेपाली राजनीतिका चर्चित खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेको यस क्षेत्रमा नायिका निशा अधिकारीको प्रवेशले थप रोचक स्थिति पैदा गरिदिएको छ । ‘चुनावी खेलाडी’हरुलाई चुनौति दिँदै उद्यमी विरेन्द्र बस्नेतको पहलमा स्थापना भएको गतिशील लोकतान्त्रिक पार्टीको उम्मेदवार भएकी नायिका अधिकारीले कति भोट ल्याउलिन ? त्यो आफ्नो ठाउँमा छ । तर, उनले शालिनरुपमा शुरु गरेको प्रचार अभियानले भने धेरैलाई आकर्षित गरेको छ ।

त्यस्तै यस क्षेत्रबाट उज्यालो नेपाल पार्टीबाट उर्जाविद् श्रीराम गुरूङ, राष्ट्रिय स्वतन्त्र् पार्टीको नेता बालेन्द्र साहको ‘किचन मिनिस्टर’ मानिने सस्मित पोखरेल, पंचायतकालदेखि गणतन्त्रकालसम्म विभिन्न मन्त्रालयको मन्त्री रहेका राप्रपा नेता कमल थापा र शालिन व्यक्तित्व रहेकी नेकपाकी कल्पना शर्माको उम्मेदवारीले यो क्षेत्रको चुनावलाई ‘हाईभोल्टेज’ बनाइदिएको छ । उनीहरुबाहेक यो क्षेत्रमा जय मातृभूमि पार्टीबाट बसन्तराज कुँवर, श्रम संस्कृति पार्टीबाट अमित थापालगायत दलका तर्फबाट २० जना र पाँच स्वतन्त्र गरी २५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

काठमाडौं ५ मा काठमाडौं महानगरपालिकाका २, ३, ४, ५ तथा बुढानिलकण्ठ नगरपालिकाका ३, ४, ५, ६ र ७ नम्बर वडाहरू पर्छन् । त्यस्तै टोखा नगरपालिकाका २ देखि ७ नम्बर वडा पनि यही क्षेत्रमा पर्छन् ।

७८ हजार १४४ मतदाता रहेको यो क्षेत्रका परम्परागत प्रतिस्पर्धी कांग्रेस र एमाले नै हुन् । तर अहिलेको परिस्थितिमा नेकपा, रास्वपादेखि उज्यालो नेपाल र गतिशिल लोकतान्त्रिक पार्टी पनि प्रतिस्पर्धामा आउन सक्ने देखिएकोले यो क्षेत्रको चुनावी परिणाम कसैले पनि अनुमानसमेत गर्न नसक्ने जटिल बनाइदिएको छ ।