कति घट्यो जेनजी स्टकको शेयर मूल्य? (सूचीसहित)

Feb 11, 2026 05:34 AM Merolagani



नेपालको पुँजी बजारमा पछिल्लो केही हप्ता जेनजी स्टकका नाममा हालै आईपीओ आएका कम्पनीहरुको शेयर मूल्य अचाक्ली बढ्यो । हरेक दिनजसो सर्किट लागेर बढेका ती कम्पनीका शेयरहरुमा अहिले करेक्सन चलिरहेको छ ।

गत आव र चालु आवको अहिलेसम्म गरी नेप्सेमा जम्मा १८ वटा कम्पनी सूचीकृत भएका छन् । ती कम्पनीको शेयर मूल्य अहिले पनि ६ सय रुपैयाँ भन्दा माथि नै छ । बजारमा जेनजी स्टकमा चार्म आउँदा यी १८ कम्पनीमध्ये ६ वटा कम्पनीको शेयर मूल्य २ हजार रुपैयाँ माथि पुगेका छ भने सबैभन्दा न्यून चुक्ता पुँजी रहेको स्वास्तिक लघुवित्तको शेयर मूल्य त अझ ३ हजार भन्दा माथि नै पुगे। गएको दुई तीन दिनदेखि यी ‘जेनजी स्टक’ भनिएका कम्पनीहरुको शेयर मूल्यमा गिरावट आइरहेको छ । ५२ हप्ताको उच्च मूल्यबाट हेर्दा कुनै कुनै कम्पनीको शेयर मूल्यमा शत प्रतिशतसम्म गिरावट आएको छ भने पछिल्लो पटक सूचीकृत एसवाई प्यानल नेपाल, सागर डिष्टीलरीजस्ता कम्पनीको शेयर मूल्य पनि १५ प्रतिशतभन्दा बढीले घटेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्स लिम, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सागर डिष्टिलरी, एसवाई प्यानल नेपालको शेयर मूल्य २ हजारमाथि पुग्यो । ट्रेड टावर, प्योर इनर्जी, हिमस्टार ऊर्जा, झापा इनर्जी, बन्दीपुर केबुलकार एन्ड टुरिज्म, श्रीनगर एग्रिटेक इन्डष्ट्रिज जस्ता कम्पनीहरुको शेयर मूल्य १ हजारभन्दा माथि पुगेका छन् भने बाँकी जेनजी स्टकहरु पनि ५ सय भन्दा माथि छन् ।

नेपालको पुँजी बजारमा प्रति शेयर आम्दानी, वितरयोग्य मुनाफा भन्दा पनि शेयरको आपूर्ति र मागले शेयरको मूल्य निर्धारण हुने गरेको छ । साधारणतया न्यून चुक्ता पुँजी भएका कम्पनीको आधारभुत अवस्था जस्तोसुकै भए पनि उच्च मूल्यमै कारोबार भइरहेको छ । लगानीकर्ताहरुले विभिन्न फन्डालाई आधार बनाएर कम्पनीको शेयर मूल्य बढ्ने र घट्ने भइरहेको छ । गत हप्तासम्म पनि जेनजी स्टकको नाममा पछिल्लो समय आईपीओ आएर सूचीकृत भएका कम्पनीहरुको शेयर मूल्य ‘अल टाइम हाइ’ मै पुगे । त्यस्तै विगत केही दिनदेखि न्युन शेयर मूल्य भएका हाइड्रोपावर कम्पीको शेयर मूल्य बढिहेकोमा मंगलबारबाट सो क्रममा पनि ब्रेक लागेको छ।

नेपाल माइक्रो इन्स्योरेन्सको शेयर मूल्य ५२ हप्ताको उच्च मूल्यबाट शतप्रतिशतले घटेको छ । २७०७.३ को उच्च मूल्य रहेको शेयर मूल्य मंगलबार १३५०.१० रुपैयाँमा कारोबार भयो । त्यस्तै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको २४५८.२० को उच्च मूल्य रहेकोमा अहिले १४४८ रुपैयाँमा कारोबार भइरहेको छ भने ओम मेगाश्री २१६७.२९ रुपैयाँ रहेकोमा अहिले १३४० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै २७७८ रुपैयाँको उच्च मूल्य पुगेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य ५५.६३ प्रतिशतले घटेर अहिले १७८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी ५२ हप्ताको उच्च मूल्यबाट ट्रेड टावर ३७.५४ प्रतिशत, प्योर इनर्जी ३०.३३ प्रतिशत, हिम स्टार ऊर्जा २८.३२ प्रतिशत, झापा इनर्जी २७.२० प्रतिशत, सान्भी इनर्जी २४.७१ प्रतिशत, दरमखोला हाइड्रो इनर्जी २३.८४ प्रतिशत, बन्दीपुर केबुलकार २३.३० प्रतिशत, श्रीनगर एग्रीटेक इन्डष्ट्रिज २३.०९ प्रतिशत र बुंगल हाइड्रो २२.३२ प्रतिशतले घटेका छन्

माबिलुङ इनर्जी, स्वस्ष्तिक लघुवित्त, सागर डिस्टिलरी, एसवाई प्यानेल नेपाल र विकास हाइड्रोपावरको शेयर मूल्य भने उच्च विन्दुबाट १६ देखि १९ प्रतिशतको गिरावट आएको छ ।