राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति निराशाजनक, २७ मध्ये चार आयोजनाको निर्माण अझै अनिश्चित

Feb 11, 2026 01:45 PM merolagani



पछिल्ला वर्षहरुमा राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति निराशाजनक रहेको पाइएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/०८३ को बजेटको अर्धवार्षिक समिक्षा प्रतिवेदनमा राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक पाइएको हो ।

हालसम्म राष्ट्रिय गौरवका आयोजनाहरुको संख्या २७ पुगेको छ । त्यसमध्ये ४ वटा राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण अन्योलमै छ । निर्माणको मोडालिटी र पूँजीगत व्यवस्थापन हुन नसक्दा ती आयोजनाहरुको निर्माण अन्योलमा परेको हो ।

हाल बाराको सिमरामा निर्माण गर्ने प्रस्ताव गरिएको दोस्रो अन्तराष्ट्रिय विमानस्थल, मूलपानी क्रिकेट एकेडेमी तथा रंगशाला, ७५० मेगावाटको पश्चिम सेती र १२०० मेगावाटको बुढीगण्डकीजस्ता आयोजनाहरुको निर्माणकार्य अघि बढ्न सकेको छैन् ।

अधिकांश आयोजनाको निर्माण मोडालिटी र वित्तिय व्यवस्थापन नहुँदा सरकारले ती आयोजनाको निर्माणकार्य अघि बढाउन सकेको छैन् । हालसम्म तीनवटा मात्र आयोजनाहरुको निर्माण सम्पन्न भएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमध्ये ४५६ मेगावाटको माथिल्लो तामाकोशी, पोखरा विमानस्थल, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माणकार्य सम्पन्न भइ सञ्चालनमा आइसकेका छन् । ती बाहेक अन्य २० वटा आयोजनाहरु निर्माणकै चरणमा छन् ।

निर्माणको चरणमा रहेकोमध्ये उत्तर दक्षिण कर्णाली करिडोरको प्रगति समेत न्यून छ । नेपाली सेनाले निर्माण गरिरहेको उक्त आयोजनाको हालसम्मको भौतिक प्रगति ५.१३ प्रतिशत छ । त्यस्तै, रेल मेट्रोरेल तथा मोनोरेल विकास आयोजनाको प्रगति पनि ५ प्रतिशत नै छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, काठमाडौं उपत्यका थोक खानेपानी प्रसारण आयोजना (दोस्रो) चरण आयोजना निर्माणको गति निकै सुस्त छ मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए नेपाल) को भौतिक प्रगति ११.२७ प्रतिशत र महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति २६ प्रतिशत छ ।

त्यस्तैगरी, पुष्पलाल मध्यपहाडी राजमार्गको भौतिक प्रगति करिब ८२ प्रतिशत, ह्लाकी राजमार्ग आयोजनाको ७४.३५ प्रतिशत र उत्तर दक्षिण कोशी करिडोरको ४५ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । नेपाली सेनाले निर्माण गरिरहेको मधेस तराइ द्रुतमार्ग आयोजनाको समेत भौतिक प्रगति सन्तोषजनक देखिँदैन् । हालसम्म आयोजनाको भौतिक प्रगति ४२ प्रतिशत मात्र सम्पन्न भएको हो ।

महाकाली सिँचाइ आयोजनाको २७ प्रतिशत, सिक्टा सिँचाइ आयोजनाको ४४ प्रतिशत, सुनकोशी मरिन डाइभर्सन आयोजनाको ३४ प्रतिशत, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको ६.३९ प्रतिशत, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको ७५ प्रतिशत, भेरी बबइ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ६९ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको देखिन्छ ।

त्यस्तै, पुशपति क्षेत्र विकास कोषको हालसम्म ८२ प्रतिशत, लुम्बिनी विकास कोषको ८८ प्रतिशत, कालीगण्डकी करिडोर बेनी जोमसोम कोरला खण्डको सडक विस्तारको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भएको हो ।