२०७९ वैशाख १४ मा ठेक्का सम्झौता भएको यस आयोजनाले लक्ष्यअनुसारको प्रगति गर्न सकिरहेको छैन । विश्व बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यो ४३.५४ किलोमिटर लामो सडक नेपालको ‘लाइफलाइन’ मानिन्छ ।
आयोजना प्रमुख केशव ओझाकाअनुसार प्राधिकरणको खातामा डेढ वर्ष अगाडि नै पोल सार्न आवश्यक बजेट दाखिला गरिएको थियो । तर प्राधिकरणले लगाएको ठेक्का प्रभावकारी नहुँदा काम सुस्त छ । विशेषगरी धार्के बजार र बन्छेटार खण्डमा २ सयभन्दा बढी पोल सार्नुपर्ने छ ।

सडकको स्तरोन्नतिका लागि ५ अर्ब ३३ करोड १९ लाख लागतमा रहेको छ । नेपाल विद्युत प्राधिकरणले पोलको व्यवस्थापन गर्न नसक्दा कतिपय स्थानहरुमा विद्युतीय पोलहरुलाई सडक बिचमै पारेर कालोपत्रे गरिएको छ । यसरी पोलहरु सडकमै पारेर कालापत्रे गर्दा भविष्यमा यसले दुर्घटना निम्ताउने सक्ने प्राविधिहरुको भनाइ छ । सडकमा रहेको पोल हटाउनका लागि निर्माण कम्पनी विद्युत प्राधिकरणलाई ताकेता गरेपनि काम सुस्त रुपमा भइरहेको छ । निर्माण शुरु भएको तीन वर्षमा कालोपत्रे गर्ने सम्झौता भएपनि काम गति लिन नसक्दा अझै केही समय लाग्ने देखिन्छ ।
फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचनका कारण पनि सडकको निर्माण कार्य केही समय प्रभावित हुने देखिएको छ । निर्माण व्यवसायीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेकाअनुसार विद्युतीय पोल नसार्दा हामीले लक्ष्यअनुसारको काम गर्न सकिरहेका छैन । यो सडक आयोजना क्षेत्रमा २ सय भन्दा बढी विधुतीय पोल सार्नुपर्ने छ । पोल सार्न विद्युत प्राधिकरणमा पटक पटक ताकेता गर्दा समेत काम अगाडी बढ्न सकिरहेको छैन । विशेषगरी बजार क्षेत्रमा पोलको समस्या बढी रहेको छ । धार्के बजारमा विद्युतीय पोलको अवरोधका कारण कामको रफ्तार बढाउन नसकिएको उनको गुनासो छ । त्यसैगरी प्राधिकरणलाई दबाब सिर्जना गर्न बन्छेटार खण्डमा विद्युतीय पोल बिचमै राखेर कालोपत्रे गरिएको छ ।
यता आयोजनाले पनि आफ्नो कार्य क्षेत्रमा पर्ने कामहरु तदारुकताका साथ गरिरहेको नागढुंगा मुग्लिन सडक योजना पूर्वी खण्डका आयोजना प्रमुख केशव ओझा बताउँछन् । प्राधिकरणलाई विद्युतीय पोल सार्न आवश्यक बजेट डेढ वर्ष अगाडी प्राधिकरणको खातामा दाखिला गरिएको भएपनि काम लक्ष्यअनुसार हुन सकिरहेको छैन । सडक क्षेत्रमा पर्ने पोल सार्न प्राधिकरणले ठेक्का लगाएको भएपनि पोेल सार्ने ठेक्का लिएको निर्माण व्यवसायीले आफ्नो टिम प्रभावकारी रुपमा परिचालन गर्न नसक्दा समस्या आएको उनको तर्क छ । सडक निर्माणको समय अवधि सकिँदा समेत आयोजनाले आफ्नो क्षेत्रमा पर्ने विद्युतीय पोल सार्न सकेको छैन जसका कारण निर्माण पक्षले काममा अवरोध भएको दाबी गर्दै आइरहेको छ ।