ब्रोकरबाटै मार्जिन सुविधा पाइने भयो, तर बजार अझै ‘प्रतीक्षामा’

Feb 11, 2026 05:44 PM Merolagani



शेयर बजारमा अनुकुल व्यवस्था एकपछि अर्को गर्दै आउदाे क्रममा छ । तर दोस्रो बजारका लगानीकर्ताको आत्मविश्वास अझै बढ्न नसक्दा नेप्सेले अपेक्षित गति लिन सकेको छैन ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार मार्जिन कारोबार सुविधा निर्देशिका, २०८२ जारी गर्दै फागुन १ गतेदेखि नै ब्रोकरमार्फत मार्जिन सुविधा उपलब्ध हुने व्यवस्था गरेको छ । यस व्यवस्थाले दोस्रो बजारका लगानीकर्तालाई ब्रोकर मार्फत नै मार्जिन कर्जा उपलब्ध हुने कानुनी आधार बनेको छ । सामान्यतया मार्जिन सुविधाले कारोबार विस्तार र मनोवैज्ञानिक उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

दोस्रो बजारका लागि नै केन्द्रित गरेर एकपछि अर्को नीतिगत सुधार हुँदा पनि सूचक सुस्त नै छ । बजार बढ्नुपर्ने आधार तयार हुँदै गएको विश्लेषण भइरहे पनि सूचकले स्थिर र स्पष्ट दिशा समात्न नसकेको हो । मार्जिन कर्जा सम्बन्धी निर्देशिका जारी भएको भोलिपल्ट बुधबारको नेप्से सूचक सामान्य घटेर बन्द भयो । ब्रोकर कम्पनीबाटै मार्जिन कर्जा लिन सकिने व्यवस्था सुरु हुने तयारी भइरहेपनि लगानीकर्ताले त्यसलाई तत्काल अवसरका रूपमा नहेरेको बुझिएको हो । दीर्घकालीन स्थायित्वको पर्खाइमा रहेको लगानीकर्ताहरुको बुझाई छ ।

 

 

अहिले नेप्से सूचकमा खासै उतारचढाव नभएता पनि कम्पनीहरु मात्रै चलेका छन् । बजार बढेन भन्न सकिदैन । सुझबुझ पुर्याउने लगानीकर्ताले लाभ लिएकै छन् । पूर्ण रुपमा सूचकले गति लिनका लागि लगानीकर्ताले विश्वासको वातावरण बन्नु पर्ने लगानीकर्ताहरुको बुझाई छ । अहिले लगानीकर्ताको ध्यान नीतिगत सुधारभन्दा बढी राजनीतिक स्थायित्वमा केन्द्रित भएको साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतुजङ्ग जीसीले बताए । “स्थिर सरकार र स्पष्ट आर्थिक दिशा बिना बजारले दीर्घकालीन विश्वास पाउन सक्दैन,” उनले भने ।

चुनावी मिति नजिकिँदै जाँदा बजारमा सकारात्मक लहर आउने तर्क पनि गरिँदै आएको छ । चुनावी समयमा अर्थतन्त्र केही चलायमान हुने, खर्च बढ्ने र आर्थिक गतिविधि सक्रिय हुने भएकाले बजारमा सुधार आउने विश्वास छ । तर, चुनाव अघिको बजार उत्साहजनक रूपमा बढ्नेमा लगानीकर्ताहरू अझै विश्वस्त देखिँदैनन् । निर्वाचनको स्पष्ट भिजन र परिणामबारे अन्योल कायमै छ । यही दुविधाले लगानीकर्तालाई पर्खाइको रणनीतिमा राखेको जीसीले बताए ।

 

समग्रमा, नीतिगत सुधार, मार्जिन सुविधा र बढ्दो चुनावी माहोलले गर्दा शेयर बजार प्रतीक्षामा रहेको छ । लगानीकर्ताको विश्वास स्थापित नभएसम्म बजारले दिगो गति लिनेमा ढुक्क हुन सकिने सम्भावना देखिदैन । दोस्रो बजारसँग सरोकार राख्ने नीतिहरु अनुकुल बन्दै गर्दा सूचक ढिलो चाडो बढ्ने लगानीकर्ताहरुको बुझाई छ ।