तत्काल एआईमा लगानी नगरे नेपाल केही दशक होइन, पुस्तौं पछाडि पर्नेछ : सूचना प्रविधि विज्ञ पाण्डे

Feb 12, 2026 01:09 PM Merolagani



सूचना प्रविधि क्षेत्रका विज्ञ तथा नास–आइटी अध्यक्ष गौरव पाण्डेले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) लाई नेपालका लागि पुस्तागत अवसर भन्दै तत्काल आक्रामक लगानी गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। 

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयाेजना गरेकाे नेपाली आइटी उद्याेगकाे अवस्था अवसर र चुनाैती विषक स‌ंवाद कार्यक्रममा ‘एआई–नेपालको अन्तिम अवसर’ शीर्षकमा प्रस्तुति दिँदै एआईलाई आगो वा बिजुली जस्तै मानव सभ्यताको सबैभन्दा ठूलो आविष्कारको रूपमा चित्रण गर्दै नेपालले यो अवसर गुमाए दीर्घकालीन रूपमा पछाडि पर्ने चेतावनी दिएका छन्।

उनले औद्योगिक क्रान्ति १.० (स्टीम इञ्जिन),औद्योगिक क्रान्ति २.० (बिजुली र एसेम्बली लाइन), औद्योगिक क्रान्ति ३.० (सेमीकन्डक्टर) र ४.० (बिग डाटा, स्मार्ट फ्याक्ट्री) भन्दा पनि एआईलाई अझ ठूलो परिवर्तनकारी शक्ति भएको उल्लेख गरे। उनका अनुसार, एआईले उद्योग, सेवा, शिक्षा, स्वास्थ्य, कृषि लगायत सबै क्षेत्रमा गहिरो प्रभाव पार्नेछ।

अमेरिका, चीन, जापान, दक्षिण कोरिया, ताइवान र बेलायतले २०१५–२०२५ बीचमा करिब ८०५–८१६ अर्ब डलर एआईमा लगानी गरेको तथ्याङ्क प्रस्तुत गर्दै उनले नेपालले पनि तत्काल कदम चाल्नुपर्ने आवश्यकता औंल्याए। यी छवटा अर्थतन्त्रले मात्र विश्वव्यापी एआई लगानीको करिब ८५ प्रतिशत हिस्सा ओगटेको तथ्य उनले प्रस्तुत गरे।

चीनमा “डार्क फ्याक्ट्री”, ड्राइभरलेस बस, ड्रोन डेलिभरी जस्ता एआई प्रयोगहरूलाई उदाहरण दिँदै उनले नेपालका कम्पनीहरूले एआईलाई दीर्घकालीन दृष्टिकोणसहित अपनाउनुपर्ने, कर्मचारीलाई अपस्किल गर्नुपर्ने र सरकारलाई एआईमा लगानीको महत्व बुझाउनुपर्ने सुझाव दिए।

अध्यक्ष पाण्डेले भने– ‘यदि हाम्रो देश र कम्पनीहरूले तत्काल एआईमा लगानी नगरे भने हामी पुस्तौँसम्म पछाडि पर्छौँ। लगानी गर्ने अवसर आगामी ५–१० वर्ष मात्र खुला छ।’

उनले निजी क्षेत्र, सरकार र नियामक निकायलाई एकीकृत दृष्टिकोणसहित एआईमा लगानी गर्न आग्रह गर्दै नेपाललाई भविष्यको निर्णायक प्रविधि प्रतिस्पर्धामा पछाडि नपर्न चेतावनी दिएका छन्। उनका अनुसार, एआईमा लगानी नगर्ने हो भने नेपालले औद्योगिक क्रान्ति जस्तै अर्को ऐतिहासिक अवसर गुमाउनेछ।

उनले नेपालमा एआईलाई केवल प्रविधि नभई आर्थिक विकास, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा टिक्न सक्ने आधारको रूपमा प्रस्तुत गरे । पाण्डेले एआईलाई ‘नेपालको अन्तिम अवसर’ भन्दै यसलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता जोड दिए।