आर्थिक वर्ष २०८१/८२ मा आर्जन गरेको कुल मुनाफाबाट कोषले उक्त रकम सम्बन्धित व्यक्तिहरूको खातामा जम्मा गरेको हो।
कोषका अनुसार, सञ्चयकर्ताहरूको खातामा करिब पाँच अर्ब १९ करोड र योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) कोषका योगदानकर्ताहरूको खातामा करिब १० करोड ५५ लाख रुपैयाँ मुनाफा जम्मा गरिएको छ। गत फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले व्यक्तिगत खातामा रहेको सुरु मौज्दात रकमको १.०० प्रतिशतका दरले हुन आउने रकम मुनाफाका रूपमा वितरण गर्ने निर्णय गरेबमोजिम उक्त रकम खातामा पठाइएको हो।
कोषले प्रत्येक आर्थिक वर्षको कूल मुनाफाको करिब ९० प्रतिशत रकम सञ्चयकर्ताको व्यक्तिगत खातामा जम्मा गर्ने र बाँकी रकम विभिन्न कल्याणकारी तथा जगेडा कोषहरूमा राख्ने नीति लिएको छ।
हाल कोषले सञ्चयकर्तालाई ८.२५ प्रतिशतका दरले ब्याज प्रदान गरिरहेको छ। यसमा १.०० प्रतिशत मुनाफासमेत जोड्दा सञ्चयकर्ताले जम्मा ९.२५ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन्।
अर्कोतर्फ, कोषले सञ्चित रकमको ९० प्रतिशतसम्म दिने विशेष सापटीमा ८.७५ प्रतिशत मात्र ब्याज लिने गरेको छ। यसले गर्दा सञ्चयकर्ताले प्राप्त गर्ने प्रतिफलभन्दा तिर्नुपर्ने ब्याज ०.५० प्रतिशतले मात्र बढी पर्न जाने कोषका प्रवक्ता दामोदर प्रसाद सुवेदीले जानकारी दिएका छन्। कोषले विशेष सापटीका अलावा घर सापटी, शैक्षिक सापटी, घर मर्मत, सरल सापटी र जग्गा खरिद सापटीसमेत उपलब्ध गराउँदै आएको छ।
कोषले सञ्चयकर्ताबाट छुट्टै कुनै योगदान नलिई आफ्नै स्रोतबाट विभिन्न सामाजिक सुरक्षा सुविधाहरू समेत प्रदान गर्दै आएको छ।
गत आर्थिक वर्ष २०७८/७९ मा मात्र कोषले सुत्केरी तथा शिशु स्याहार सुविधाबापत १९ हजार १११ जनालाई करिब १४ करोड ३४ लाख, काजकिरिया अनुदानबापत ६०५ जनालाई २ करोड ४२ लाख, दुर्घटना क्षतिपूर्तिबापत १७० जनालाई ३ करोड ३९ लाख र स्वास्थ्य उपचार सोधभर्नाबापत ५ हजार ३५५ जनालाई ३४ करोड रुपैयाँ वितरण गरेको छ।
साथै, निजामतीतर्फका १७२ जना सञ्चयकर्तालाई विशेष आर्थिक सुविधाबापत १ करोड ७३ लाख प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ। हाल कर्मचारी सञ्चय कोषमा ५ लाख ७८ हजार सञ्चयकर्ता र ९६ हजार निवृत्तिभरण कोषका योगदानकर्ता आबद्ध रहेका छन्।