नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको साप्ताहिक सुनको मूल्य विवरणअनुसार, गत चैत २७ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य २ लाख ९६ हजार ९०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । तर, त्यसको एक सातापछि अर्थात २०८३ बैशाख ४ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य २ हजार ९०० रुपैयाँले बढेर त्यस दिन २ लाख ९९ हजार ८०० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो ।
महासंघका अनुसार, गत चैत २९ गते सुन प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै, चैत ३० गते ४०० रुपैयाँले सुनको मूल्य घटेर त्यस दिन २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बैशाख १ गते आइपुग्दा सुनको मूल्य बढेर २ लाख ९९ हजार ८०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । बैशाख २ गते प्रतितोला सुनको मूल्य बढेर ३ लाख २ हजार ७०० रुपैयाँ पुगेको थियो । त्यस्तै, बैशाख ३ गते बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेर ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यो साताभर सुनको मूल्य झिनो अंकले बढेको देखिन्छ । बिबाहको लगनको महिना र अन्य सांस्कृतिक पर्वहरुमा सुन किन्ने ग्राहक बढेसँगै सुनको कारोबारमा पनि सुधार आएको व्यवसायी बताउँछन् ।
तर, अन्य बेला भने सुनको मूल्य बढेका कारण सुन पसलहरु सुनसान जस्तै हुने गरेका छन् ।