'उमेर र पेशा सोधेर मात्र सोही अनुसारको शेयर किन्ने सल्लाह दिन्छु'

Apr 18, 2026 11:02 AM Merolagani



पछिल्लो समय बजारमा उतारचढाव बढ्दो क्रममा रहेको छ। लगानीकर्ताको अपेक्षा विपरीत बजार निरन्तर घट्दो दिशातर्फ अघि बढिरहेको देखिन्छ

यसले गर्दा लगानीकर्ताहरूमा अन्योल सिर्जना भएको छ र उनीहरू ढुक्क भएर लगानी गर्न सक्ने अवस्था देखिँदैन।

यद्यपि पछिल्लो समय राजनीतिक स्थिरता आएको छ र सरकारले सम्पत्ति शुद्धीकरणलाई प्राथमिकतामा राख्दै विभिन्न कदम चालिरहेको छ। लगानीकर्ताहरूको बुझाइमा यस्ता नीतिगत गतिविधिले शेयर बजारमा तत्काल प्रभाव पारेको देखिन्छ। यद्यपि सरकारको यस्तो कदम दीर्घकालीन रूपमा हितकारी भए पनि छोटो अवधिमा यसले बजारमा केही नकारात्मक असर पार्न सक्ने आंकलन गरिएको छ।

यस्तो परिस्थितिमा लगानीकर्ताले कसरी कारोबार गर्ने भन्ने विषयमा लगानीकर्ता जगन्नाथ ढसङ्गेलसँग सुधा देवकोटाले गरेको कुराकानी :

पछिल्लो शेयर बजारमा उतारचढाव भएको देखिन्छ। राजनीतिक स्थिरता आएपनि लगानीकर्तामा आत्मविश्वास बढेको देखिदैन। नेप्सेको यो अवस्थालाई कसरी विश्लेषण गर्नुभएको छ ?

शेयर बजार आफैमा निकै संवेदनशील क्षेत्र हो। अन्तर्राष्ट्रिय स्तरमा पनि यो संवेदनशीलता कायम नै हुन्छ। तर नेपालको सन्दर्भमा यो अझ बढी भएको देखिन्छ। यसको मुख्य कारण हाम्रा लगानीकर्ताहरू अझै परिपक्व भइसकेका छैनन्। लगानीकर्ताहरुमा कुन बेला बजार छिर्ने र कुन बेला निस्कने भन्नेमा अलमलमा नै छन्। यो बजारलाई सानो समाचारले पनि ठूलो हलचल ल्याउँछ।

हालैको घटबढको अवस्था मन्त्रिपरिषदले सम्पत्ति शुद्धीकरण र छानबिनका विषयमा गरेका केही निर्णयहरूले लगानीकर्ताहरुमा मनोवैज्ञानिक प्रभाव परेको हो । नयाँ सरकार बने लगत्तै केही दिन पहिले पनि बजारलाई प्रभावित पारेकै हो। अहिले सरकारको पछिल्लो कदमको कारण नै बजार प्रभावित भएको हो। वास्तवमा कुनै पनि सूचीकृत कम्पनीको आम्दानी राता रात घटेर बजार प्रभावित भएको होइन। तर समाचारकै आधारमा लगानीकर्ताको सेन्टिमेन्ट परिवर्तन हुँदा बजार प्रभावित हुन्छ। नेपालमा सकारात्मक समाचारले भन्दा नकारात्मक हल्लाले चाँडो र गहिरो प्रभाव पार्ने गरेको हो।

सरकारले सम्पत्ति शुद्धीकरणका लागि काम गर्दैछ भन्दा त बजार अझ पारदर्शी हुनुपर्ने हो। तर लगानीकर्ताहरू किन डराइरहेका छन?

मैले भने नि,दोस्रो बजार अत्यान्त संवेदनशील छ। शुद्धीकरण प्रक्रियाले दीर्घकालीन रूपमा बजारलाई बलियो बनाउँछ। तर, तत्कालका लागि बजारको लागि पीडादायी हुन सक्छ। सरकारको अहिलेको प्रकृयालाई शल्यक्रियासँग तुलना गर्न पनि सकिन्छ। कुनै रोगको शल्यक्रिया पछि केही दिन दुखाइ सहनुपर्छ। तर निको भएपछि मान्छे पहिलेभन्दा स्वस्थ हुन्छ। शेयर बजारले अहिले भोगिरहेको अवस्था पनि त्यस्तै हो।

अन्य राष्ट्र जस्तो सिङ्गापुर, बेलायत वा अमेरिका जस्ता विकसित मुलुकमा यस्ता नियमहरू सामान्य हुन्। त्यहाँ दोस्रो बजार यसरी डराउँदैन। हाम्रोमा यो विषय नयाँ भएकोले लगानीकर्ताहरु बढी त्रास देखिएको हो। धेरै लगानीकर्ताहरूलाई सम्पत्ति शुद्धीकरणले छुँदैन। तर उनीहरू पनि डाराएका हुन्छन्। किन भने यस्तो प्रकृयामा ठूला लगानीकर्ताले शेयर बेचेर निस्के भने बजार के होला? भन्ने डरले शेयर फाल्न हतारिन्छन्। यही मनोवैज्ञानिक त्रासले बजारलाई अस्थिर बनाएको हो। यसको असर लामो समयसम्म पर्दैन।

बजारको यो अवस्थाबाट लगानीकर्ता के कस्तो रणनीति बनाउँदा लाभ लिन सक्छन् ? यतिबेला शेयर बिक्री गर्ने कि पर्ख र हेरको रणनीति अपनाउने?

यस्तो छ दोस्रो बजारमा हरेक व्यक्तिको फरक रणनीतिमा कारोबार गरिएको हुन्छ । वस्तवमा म ‘प्रेडिक्सन’ भन्दा ‘प्रिपरेसन’मा बढी विश्वास गर्छु। बजारको विषयमा भएका भविष्यवाणी सही नहुन सक्छ। तर पूर्व तयारीले बजारमा जोखिम कम गर्छ। बजार बढी उतारचढावपूर्ण हुँदा आफ्नो पोर्टफोलियोको ४० देखि ५० प्रतिशत नगदमा बस्नु सुरक्षित हुन्छ।

धेरैले घाटा भएको शेयर बेच्न सल्लाह दिन्छन्। तर म चाँहि बजारको साइकल हेरेर निर्णय लिनुपर्छ भन्नेमा विश्वास राखछु । नेपालको बजारमा एउटा रोटेसन चल्छ। आज घाटामा बेचेको शेयर केही दिनमै बढ्न सक्छ। त्यसैले, नाफा भएको शेयर बेच्ने र अलि घाटामा रहेका राम्रा कम्पनीका शेयरहरूलाई ‘वाचलिस्ट’मा राख्नु राम्रो हुन्छ।

बजारमा लगानीमा जोखिम लिन सक्ने क्षमताले पनि धेरै कुरा निर्धारण गरेको हुन्छ। साथै, लगानीकर्ताको उमेर र जोखिम लिने क्षमताले पनि रणनीति तय गर्छ। युवा लगानीकर्तासँग सिक्ने र गुमाएर पुनः कमाउने समय हुन्छ। तर उमेर ढल्केका व्यक्तिहरूले निकै सोचविचार गरेर मात्र लगानी गर्नुपर्छ। म त म्यासेज गर्नेहरूलाई फोनमै उमेर र पेशा सोधेर मात्र सोही अनुसारको सल्लाह दिने गर्छु।

अचम्मको कुरा त के छ भने, बजारमा अहिले फन्डामेन्टल रुपमा राम्रो अवस्था भएका पुराना कम्पनीभन्दा पनि नयाँ कम्पनीहरू मात्र चलेको देखिन्छ। बजारमा आईपीओ कम्पनीमा मात्रै किन लगानीकर्ता आकर्षित हुन्छन ?

हो, पछिल्लो समयको बजारमा त्यस्तै कारोबार हाबी भएको देख्न सकिन्छ । यसमा नयाँ कम्पनीहरू प्रायः खेलाडीहरूले चलाएका हुन्छन्। धेरैजसो नयाँ कम्पनीको वित्तीय अवस्था मजबुत हुँदैन। कति त घाटामै छन्। तैपनि तिनको मूल्य आकाशिएको छ। यसको मुख्य कारण डिमाण्ड र सप्लाईको खेल हो। थोरै पूँजी भएका कम्पनीमा प्लेयरहरूले मज्जाले ‘प्ले’ गर्न पाउँछन्।

अर्कोतर्फ, नयाँ पुस्ताका लगानीकर्तामा धैर्यताको निकै अभाव देखिन्छ। उनीहरूलाई छोटो समयमा नै धेरै नाफा आर्जन गर्नु परेको छ । शेयर बजारमा यस्तो चामत्कारिक कमाइ सधैँ सम्भव छैन। वारेन बफेटले पनि दशकौँको धैर्यता पछि मात्र सम्पत्ति बनाएका हुन्। नयाँ पुस्ता सामाजिक सञ्जालको हल्लाका पछि कुदेका छन्। कतिले त मलाई ‘चार दिनका लागि पैसा छ, कुन किन्दा कमाइ हुन्छ?’ भनेर समेत सोध्छन्। यस्तो हतारले मान्छेलाई सधैँ जोखिममा पार्छ। यस्तो अवस्थामा लगानीकर्ता स्वंयम सचेत भएर कम्पनीको छनोट गर्न जान्नु पर्छ।

वर्षौ नियमित लाभांश दिने र बलियो वित्तीय अवस्था भएका कम्पनीहरूलाई लगानीकर्ताले किन उपेक्षा गरिरहेका छन? बजार केवल ‘अपरेटर’ हरूले चलाएर चल्ने मात्र  हो?

यो एउटा ट्रेन्ड जस्तो भएको छ। कसैले नयाँ कम्पनीबाट छोटो समयमा धेरै कमायो भने अरू पनि त्यतै आकर्षित हुन्छन्। तर,जसले पिकमा किन्छन। ऊ नराम्ररी गरि फस्ने सम्भावना उच्च हुन्छ। गुमाउनेहरू सामाजिक सञ्जालमा कराउँदैनन्। तर उनीहरूको पीडा गहिरो हुन्छ। कसैको लहैलहैमा लागेर कसैले भनेको भरमै शेयर किन्नु भनेको घाटा निम्त्याउनु हो। बजारमा चलेको ट्रेन्ड पछ्याउनु नराम्रो होइन । अन्तर्राष्ट्रिय बजारमा पनि ‘अपरेटर’ हरू हुन्छन्। तर लगानीकर्ताले निस्कने समय थाहा पाउनुपर्छ। ठूला प्लेयरहरूले सस्तोमा शेयर उठाएर मूल्य बढाउँछन् र जब सर्वसाधारण झुम्मिन्छन्। प्लेयरहरू उच्च मुल्यमा शेयर भिडाएर निस्किन्छन्। रिटेलरले जहिले पनि अन्तिममा थाहा पाउँछन् र फस्छन्। त्यसैले, हल्लाका पछि लाग्नुभन्दा आफैँले अध्ययन गरेर लगानी गर्नु जरुरी छ।

लगानीका लागि उपयुक्त कम्पनी छान्ने आधारहरू के–के हुन? दिगो लाभ लिन के कस्तो कुरामा ध्यान दिनुपर्छ?

यसमा लगानीकर्ताले धेरै कुराको ख्याल गर्नुपर्छ। विशेषगरी मैले सधै फण्डामेन्टल अवस्थालाई बढी ध्यान दिएको हुन्छु। सबैभन्दा पहिले कुन ‘सेक्टर’को कम्पनी हेरिएको छ। त्यसको बजार मूल्य कस्तो छ भनेर हेर्नुपर्छ। यसका लागि पीई रेसियो एउटा महत्वपूर्ण आधार हो। तर पीई रेसियो मात्र हेरेर पुग्दैन। त्यस कम्पनीको भविष्यको व्यवसायिक वृद्धि कस्तो छ भन्नेमा बढी जोड दिनुपर्ने हुन्छ ।

लगानीकर्ताले ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण कुरा ‘डिभिडेन्ड ईल्ड’ हो। कतिपय लगानीकर्ता कम्पनीको ईपीएस रेसियो मात्र हेर्छन्। तर वर्तमान बजारको मूल्यमा किन्दा सो प्रतिशेयर आम्दानी कति प्रतिफल दिन्छ भन्ने हिसाब गर्दैनन्। फण्डामेन्टल एनालिसिसका लागि समय खर्चिनुपर्छ। टेक्निकल चार्ट हेर्न त केही मिनेट लाग्ला, तर कम्पनीको इतिहास र भविष्यको सम्भावना बुझ्न गहिरो अध्ययन चाहिन्छ। हालको बजारमा बैंकिङ सेक्टर पीई रेसियो र सुरक्षाका हिसाबले निकै सस्तो छ । तर मान्छेहरू त्यहाँ आकर्षण देखाउँदैनन् किनकि बैंकमा सप्लाई बढीछ। यो सेक्टरमा छिटो खेल हुँदैन। त्यसैले लगानीकर्ता बैंकिङ सेक्टरमा ट्रेडिङ गरेका हुदैनन।

बैंकिङ क्षेत्रको कुरा उठिहाल्यो, कुनै समय बैंकले नै बुल डोर्याउँथ्यो। अहिले बैंकको लाभांश पनि घटेको छ र लगानीकर्ताको आकर्षण पनि कम छ। के अब बैंकहरूमा लगानी गर्ने समय सकिएको हो?

त्यस्तो होइन। बैंक क्षेत्रकाे लगानीमा ट्रेडरभन्दा पनि इन्भेस्टर माइन्डसेट भएका मान्छेहरू बढी हुन्छन्। मेरो आफ्नो पोर्टफोलियोमा पनि ४० प्रतिशत हिस्सा बैंककै छ। मैले बैंक क्षेत्रको कम्पनीको शेयर मूल्य दैनिक हेर्दिन। किनकि त्यो मेरो दीर्घकालीन लगानी हो। तपाई घर बनाउन जग्गा किन्नुहुन्छ भने भोलिपल्टै मूल्य सोध्दै हिँड्नुहुन्न नि? हो शेयर पनि त्यस्तै हो।

नेप्सेलाई साँच्चै माथिको विन्दुमा लैजाने हो भने बैंकिङ क्षेत्र र हाइड्रोपावर क्षेत्र नबढी सम्भव नै छैन। सानो पूँजी भएका कम्पनीले मात्रै बजारमा टर्नओभर पुर्याउन सक्दैनन्। जब दैनिक कारोबार रकम २० अर्ब भन्दा बढी नाघ्न थाल्छ। तब मात्र वास्तविक बुल आएको मान्न सकिन्छ। अहिले बैंकहरू छायामा परेका छन। बजारमा वास्तविक लगानीकर्ता सक्रिय हुन्छन्। बैंककै शेयरमा लगानीकर्ताहरुको आकर्षण बढ्नेछ।

धेरै कम्पनीहरू पाइपलाइनमा छन्। आईपीओको बाढीले बजारमा ‘सप्लाई’ बढेर मूल्य घटेको गुनासो पनि सुनिन्छ। बजारमा डिमाण्ड एण्ड सप्लाईलाई सन्तुलनमा ल्याउन के गर्नुपर्छ ?

यस मामलामा मेरो विचाई केही फरक छ । म दोस्रो बजारको सप्लाई घटाउन आईपीओ बन्द गर्नुपर्छ भन्ने पक्षमा छैन। तर, आईपीओ स्वीकृत गर्ने मापदण्ड भने समयसापेक्ष र कडा हुनुपर्छ। इन्डियामा महिनामा दर्जनौ आईपीओ आउँछन्। तैपनि बजार बढिरहेको हुन्छ। किनभने त्यहाँ लगानीकर्ताको पार्टिसिपेसन र फन्डामेन्टल दुवै बलियो छ । यसले बजारलाई सन्तुलित बनाएको हुन्छ।

अहिले नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा धेरै कम्पनी छन्। कतिपय कमजोर वित्तीय अवस्था भएका कम्पनी पनि आईपीओ ल्याउन खोज्दैछन्। यस्तोमा धितोपत्र बोर्डले पारदर्शी र निष्पक्ष प्रणाली बनाउनु पर्छ। कसैको तजबिजमा भन्दा पनि नियमका आधारमा मात्र स्वीकृति दिनुपर्छ। दोस्रो बजारमा धेरै कम्पनीहरु सूचीकृत हुन चाहन्छन। आईपीओ ल्याउँदा कम्पनीको ब्रान्डिङ पनि हुन्छ । सर्वसाधारण पनि राम्रो कम्पनीको मालिक बन्ने अवसर पाउँछन्। यो सकारात्मक पक्ष हो। तर, सरकारले बजारमा ‘डिमाण्ड’ बढाउन नीतिगत सुधार र ठूला लगानीकर्तालाई प्रोत्साहित गर्नुपर्ने आवश्यकता छ। बजारमा डिमाण्ड बढाउन संस्थागत लगानीकर्तासँगै एनआरएनलाई बजारमा लगानी गर्ने सहज वातावरण सिर्जना गर्नु पर्छ । एनआरएनको बजार प्रवेश दिने कुरा निकै सकारात्मक छ। तर, यसमा नीतिगत स्पष्टताको खाँचो छ। उनीहरूले लगानी ल्याउन त सजिलो छ। तर कमाएको पैसा फिर्ता लैजाने प्रक्रिया झन्झटिलो भयो भने उनीहरू आउँदैनन्।

विदेशमा रहेका नेपालीहरू नेपालको शेयर बजारमा निकै इच्छुक छन्। उनीहरूले अन्तर्राष्ट्रिय बजारको अनुभव पनि बटुलेका छन्। यदि सरकारले उनीहरूलाई सहज वातावरण बनाइदिने हो भने नेप्सेमा ठूलो पुँजी भित्रिनेछ र यसले बजारलाई नयाँ उचाइमा पुर्याउने आशा गर्न सकिन्छ ।

अन्त्यमा, लगानीकर्ताहरूलाई यो बजारबाट लाभ लिन के सुझाव दिनुहुन्छ?

नयाँ लगानीकर्ताहरू सुरुवाती चरणमा नै ट्रेडिङमा लाग्नु हुँदैन। लगानीकर्ताहरुले बजारमा लगानी गरेको समय र सीपको अभाव हुन सक्छ। त्यसैले, सुरुमा म्युचुअल फन्डबाट लगानी सुरु गर्नु सुरक्षित हुन्छ। म्युचुअल फन्डले औषत १५ देखि १६ प्रतिशत प्रतिफल दिइरहेका छन्। बिस्तारै बजार बुझ्दै गएपछि मात्र आफैले स्टक छान्नुपर्छ।

पुरानो लगानीकर्ताहरूले पनि आफ्नो रणनीति बदल्नुपर्छ। सधै ‘होल्ड’ मात्र गर्ने वा सधै ‘ट्रेड’ मात्र गर्ने भन्दा पनि पोर्टफोलियोलाई सन्तुलित बनाउन तर्फ ध्यान दिनुपर्छ। नेप्सेलाई बचाउनु भनेको आफ्नै लगानी बचाउनु हो। त्यसैले, बजारलाई ट्रेडिङको रुपमा मात्र नभई दीर्घकालीन सोच राखेर लगानी गर्नुपर्छ। बजारमा धैर्यता, अध्ययन र सही समयको पहिचान गर्न सक्नु नै सफलताको कडी हो।

बाँकी भिडियोमाः

 




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।