सेफ (SAFE) रणनीतिबाट लगानीमा सफलता : शेयर बजारकाे दिशा तय गर्ने पाँच पिएस (Ps) अवधारणा

Apr 30, 2026 12:59 PM Merolagani



पछिल्लो समय बजारमा भईरहेको निरन्तरको गिरावटले लगानीकर्ताहरु निरुत्साहित भएका छन । बजारमा आएको गिरावटसँगै कारोबार रकम समेत घटेको छ।

सरकार र नियमनकारी निकायले चालेका हालैका कतिपय कदमहरूले बजारलाई थप संकुचित पारेको छ। उद्योगी र व्यापारी नियमनमा हुँदा त्यसको प्रत्यक्ष मनोवैज्ञानिक असर परेको बुझाइ छ। बजार घट्नुको खास कारण छैन। तर लगानीकर्ताहरू पर्खेर हेर्ने रणनीतिमा रहेका छन्। बजारमा भइरहेको गिरावटमा लगानीकर्ताहरूले संयम अपनाउँदै सही विश्लेषण गर्न आवश्यक छ। बजारमा छिट्टै सुधार आउने अपेक्षा उप प्राध्यापक रोमनाथ रिमालले बताउँछन्। तीनै रिमालसँग सुधा देवकोटाले गरेको कुराकानी:

जारले नयाँ उचाइ लिने अपेक्षा गरिरहँदा नेप्से निरन्तर ओरालो गतिमा छ। आम लगानीकर्तामा बजार अझै कति झर्ला भन्ने डर छ। वास्तवमा बजार यसरी घट्नुको मुख्य कारण के हो?

शेयर बजार मुख्यतया आम मनोविज्ञानबाट निर्देशित हुन्छ। बजारमा हुने उतार–चढावलाई माग र आपूर्तिको सन्तुलनले मूल्य निर्धारण गर्छ। तर अहिले बजारको माग र आपूर्तिलाई धेरै बाह्य र आन्तरिक तत्वले प्रभाव पारिरहेका छन्।

अहिले सरकार स्थिर छ। अर्थमन्त्री विज्ञ हुनुहुन्छ र नीतिगत सुधारका प्रयासहरू पनि भइरहेका छन्। बजार यति धेरै घट्नुपर्ने ठोस कारण देखिँदैन। तर लगानीकर्तामा मनोवैज्ञानिक त्रास भएको पाइन्छ। पछिल्लो समय सरकारले ठूला व्यवसायीमाथि गरेको छानबिन र केही व्यक्तिहरूको पक्राउलाई लगानीकर्ताले नकारात्मक प्रभाव परेको हुन सक्ने आकलन गर्न सकिन्छ। भलै सरकारको यो गतिविधिलाई नराम्रो भन्न सकिने अवस्था छैन। वास्तवमा सरकार बजार सफा गर्ने प्रक्रियामा छ। यसलाई सकारात्मक रूपमा लिनुपर्ने हो। तर बजारमा त्यसको प्रभाव परेको हो। आम लगानीकर्तामा सरकारका यस्ता गतिविधिबाट ठूला लगानीकर्ताले लगानी गर्दैनन् भन्ने मनोविज्ञान हाबी भयो। सोही कारण अहिलेको बजारमा दबाब देखिएको हो।

अहिले राजनीतिक स्थिरता छ। घट्दो ब्याजदर, तरलता पनि पर्याप्त छ। बजारमा नयाँ औजारहरू पनि आउँदैछन्। यति हुँदाहुँदै कसरी लगानीकर्ताको आत्मविश्वास कमजोर भयो? वास्तवमा शेयर बजार के रहेछ?

शेयर बजारलाई बुझ्न मैले ५ पीएस को अवधारणा अघि सारेको छु। यी पाँच तत्वले नै बजारको दिशा तय गर्छन्।

जसमध्ये पोलिसी, पार्टिसिपेन्ट्स, पैसा, प्रिफरेन्स र साइकोलोजी रहेका छन्। पहिलो, पोलिसी अर्थात नीतिगत व्यवस्थाले नै हाम्रो बजारलाई सबैभन्दा धेरै प्रभाव पार्ने गरेको देखिन्छ। अहिले स्थिर सरकार र नियामक निकायहरूबाट सकारात्मक नीतिको अपेक्षा छ। सरकार बनेको छोटो समय भएकाले यसको परिणाम देखिन केही धैर्यता चाहिन्छ। बजारमा सहभागीहरू बढाउन जरुरी छ। नेपालमा अझै पनि संस्थागत लगानीकर्ता भन्दा रिटेल ट्रेडर हाबी छन्। जबसम्म ठूला र संस्थागत लगानीकर्ता सक्रिय हुँदैनन्, बजारले स्थिरता पाउँदैन। अर्को महत्त्वपूर्ण पक्ष पैसा हो।

बजारमा पैसा वा तरलताको अवस्थाले बजारको परिस्थितिलाई निर्धारण गर्छ। अहिले बैंकहरूमा पर्याप्त तरलता छ। तर त्यसलाई बजारमा सही ढंगले परिचालन गर्ने वातावरण अझै बनिसकेको छैन भन्ने सोचको विकास भएको छ। अर्को, लगानीकर्ताको रुचिले पनि बजार प्रभावित गर्छ। कुन सेक्टर वा कम्पनीमा लगानी गर्ने भन्ने छनोटले बजारलाई असर गर्छ। त्यसैगरी, लगानीकर्ताको साइकोलोजीले बजारलाई झनै प्रभावित गर्छ। अहिले बजार घट्नु पर्ने कुनै ठोस कारण छैन। तर लगानीकर्ताको मनोविज्ञान कमजोर हुँदा बजार सूचकले गति समाउन सकेको छैन। बजारमा अहिले डर र लोभ बीचको द्वन्द्व छ। अलिकति बजार घट्दा अझै घट्छ कि भन्ने डर लगानीकर्तामा छ। सोही कारण प्यानिक सेलिङ गर्ने प्रवृत्ति बढ्दो छ। यी पाँचमध्ये साइकोलोजी पक्ष कमजोर हुँदा अन्य सकारात्मक पक्षहरू ओझेलमा परेका छन्।

यी अवधारणाहरू मध्ये साइकोलोजी नै बजारको मुख्य तगारो बनेको देखियो। यस्तो हुनुमा लगानीकर्तामा वित्तीय साक्षरताको कमीले गर्दा प्यानिक सेल भइरहेको भनेर बुझ्न सकिन्छ?

बजारलाई हेर्ने लगानीकर्ताहरूका आफ्नै दृष्टिकोणहरू हुन्छन्। यसमा लगानीकर्ताले के कस्ता कुरामा प्रभावित भएका छन्, कस्ता विषयहरू उनीहरूको चासोको विषय बन्न सक्छन् भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ। अहिले लगानीकर्ताहरू सुझबुझभन्दा भनसुनको भरमा लगानी रणनीति बनाउने परिपाटी बनेको छ। हो, यो नै वित्तीय साक्षरताको कमीको मुख्य कारण हो। धेरैजसो लगानीकर्तामा आज किनेर भोलि नै नाफा कमाउनुपर्छ भन्ने सोच विकास भएको छ। लगानीको निश्चित योजना वा उद्देश्य नहुँदा मानिसहरू छिट्टै आतङ्कित हुन्छन्। थोरै मूल्य घट्नेबित्तिकै ‘स्टप लस’ गर्ने बहानामा प्यानिक भएर शेयर बेच्ने प्रवृत्तिले बजारलाई झन् तल धकेलिरहेको छ। शेयर बजारमा टिक्न र बजारबाट कमाउनका लागि लगानीकर्ताहरूले यस्तो प्रवृत्ति त्याग्न सक्नुपर्छ र बजारको विषयमा राम्रोसँग बुझेर मात्र लगानी रणनीति बनाउनुपर्छ

तपाईं व्यवस्थापन विषय पढाउनुहुन्छ। विश्वविद्यालयमा त वित्तीय साक्षरता र पोर्टफोलियो व्यवस्थापनका कुराहरू पढाइन्छ। तर व्यवहारमा लगानीकर्ताहरू किन असफल भइरहेका छन्?

विश्वविद्यालयमा सैद्धान्तिक ज्ञान प्रशस्त हुन्छ। तर व्यावहारिक ज्ञानको अभाव भएको देखिन्छ। आधारभूत विश्लेषण गर्ने विषयमा सिकाइन्छ। विश्वविद्यालयमा नै प्राविधिक विश्लेषण र बजारको वास्तविक उतार–चढावलाई कसरी झेल्ने भन्ने व्यावहारिक शिक्षा कम भएको छ। अबका दिनमा बजारमा गर्ने लगानीका आवश्यक र व्यवहारिक कुराहरूलाई प्राथमिकता दिनुपर्छ। बजारको विषयमा राम्रोसँग ज्ञान नहुँदा लगानीकर्ताहरू प्रायः फोमोको सिकार हुने गरेका छन्।

बजारमा लगानी गर्न लगानीकर्तामा नै आत्मविश्वासको कमी भएको देखिन्छ। अरूले कमाएको देख्दा लोभिने र अरूकै लहैलहैमा लागेर लगानी गर्ने प्रवृत्ति जुवा खेल्नु सरह हो। शेयर बजार जुवा होइन। तर विश्लेषण नगरी लगानी गर्नु चाहिँ जुवा नै हो। सफल हुनका लागि आफैले कम्पनीको वित्तीय अवस्था र मूल्यको उतार–चढावको प्रवृत्ति बुझ्नुपर्छ।

त्यसो भए सफल लगानीकर्ता बन्नका लागि कस्तो रणनीति अपनाउनुपर्छ?

सफल हुनका लागि मैले SAFE (सेफ) रणनीति अपनाउने गरेको छु। जसमा ‘S’ भनेको सेफ्टी अर्थात लगानी सुरक्षामा ध्यान दिनुपर्छ। लगानी गर्दा सबैभन्दा पहिले प्रिन्सिपल लगानी जोगाउनेबारे सोच्नुपर्छ। भुइँको टिप्न खोज्दा पोल्टाको नखसाल्नु हुँदैन।

‘A’ भनेको एनालाइसिस (विश्लेषण) हो। बजारको विषयमा फन्डामेन्टल र टेक्निकल दुवै विश्लेषण गर्नुपर्छ। कम्पनीको बोनस दिने क्षमता, व्यवस्थापन र इतिहास हेर्नु जरुरी छ।

त्यसैगरी ‘F’ फोकस हो। तपाईं दोस्रो बजारमा कस्तो प्रकृतिको लगानीकर्ता हुने भन्ने कुरामा स्पष्ट हुनुपर्छ। तपाईं ट्रेडर बन्ने कि इन्भेस्टर? आफ्नो उद्देश्यमा स्पष्ट हुनुपर्छ। अल्पकालीन लाभ खोज्ने हो कि दीर्घकालीन? त्यसमा स्पष्ट हुनुपर्छ।

‘E’ भनेको इमोसन अर्थात भावनालाई नियन्त्रण गर्न सक्नुपर्छ। लगानी प्रक्रियामा भावनालाई स्थान दिनुहुँदैन। बजार बढ्दा हौसिने र घट्दा डराउने मानिसले बजारबाट कमाउन सक्दैन।

अहिले बजारमा झण्डै २७ लाख सक्रिय लगानीकर्ता छन्। ७२ लाख हितग्राही खाता खुलिसकेका छन्। बजारमा ठूला लगानीकर्ता र अपरेटरको पछि लाग्ने परिपाटी छ। ठूला लगानीकर्ता र अपरेटरमा केही भिन्नता छ? बजारको दायरा यति फराकिलो हुँदाहुँदै पनि ठूला अपरेटरले मात्रै बजार चलाएका छन्?

बजारमा धेरै प्रकृतिका लगानीकर्ता हुन्छन्। जसमा आम लगानीकर्ताहरू ठूला लगानीकर्ता र अपरेटरको पछि लाग्ने परिपाटी रहेको छ। यो हाम्रो बजारको एउटा तितो यथार्थ हो। जबसम्म लगानीकर्ताहरू आफैं सचेत हुँदैनन्, तबसम्म हल्लाको पछि लाग्ने क्रम रोकिँदैन।

ठूला लगानीकर्ताले ठूलो भोल्युममा शेयर होल्ड गर्न सक्छन् वा अपरेटरले ठूलो भोल्युममा शेयर उठाउँछन्। उनीहरूको सानो चालले बजारमा असर पार्छ। तर यदि साना लगानीकर्ताले कम्पनीको वास्तविक मूल्य बुझेर लगानी गर्ने र धैर्यता राख्ने हो भने कसैले बजारलाई कृत्रिम रूपमा तल–माथि पार्न सक्दैन। अहिले संस्थागत लगानीकर्ताले पनि रिटेलरकै जस्तो व्यवहार गर्दा समस्या देखिएको छ। विस्तारै यसमा सुधार हुन्छ भन्नेमा आशावादी हुन सकिन्छ।

बैंकहरूको वित्तीय विवरण सार्वजनिक भइरहेका छन्। कतिपय बैंकको नाफा र ग्रोथ राम्रो छ भने केही नोक्सानीमा देखिएका छन्। यस्तो अवस्थामा पनि शेयरको मूल्यमा किन सुधार आउन सकेको छैन?

लगानीकर्ताले मूल्यमा मात्र ध्यान दिएका छन् तर वित्तीय सबलतामा कम चासो राखेका छन्। दोस्रो बजारमा सबै सस्तो शेयर राम्रो हुँदैन र सबै महँगो शेयर नराम्रो हुँदैन। जस्तो, कतिपय हाइड्रोपावरको बुक भ्यालु ९० रुपैयाँ हुँदा दोस्रो बजारमा मूल्य हजारभन्दा माथि छ। तर बलियो वित्तीय अवस्था भएका बैंकहरू दुईदेखि तीन सयमा पाइन्छन्। यो असन्तुलन भनेकै लगानीकर्तामा साक्षरता र सही विश्लेषणको कमी हो। नीतिगत रूपमा मार्जिन ट्रेडिङ जस्ता सुविधाहरू आइसकेकाले अब बिस्तारै बजारमा सकारात्मक प्रभाव देखिनेछ।

अन्त्यमा, अहिलेको त्रसित बजारमा अन्योलमा रहेका लगानीकर्तालाई तपाईंको सुझाव के छ?

दोस्रो बजारमा लगानीकर्ताहरूले आफ्नो इन्भेस्टमेन्ट होराइजन अर्थात समय सीमा तय गर्नुपर्छ। यदि तपाईं दुई–चार वर्षका लागि लगानी गर्दै हुनुहुन्छ भने दैनिक उतार–चढावले डराउनु पर्दैन। दोस्रो, पोर्टफोलियो डाइभर्सिफिकेसन गर्नुपर्छ। एउटै क्षेत्रमा सबै पैसा नहाल्नुहोस्। तेस्रो, भावना त्यागेर रणनीतिक रूपमा चल्नेहरूले बजारमा सफलता हासिल गर्छन्।

अहिले लगानीकर्ताहरू डराउनुपर्ने अवस्था छैन। सरकार स्थिर छ। नीतिहरू बिस्तारै लगानीमैत्री बन्दैछन्। तसर्थ, प्यानिक भएर शेयर बेच्नुभन्दा धैर्यता राख्नु बुद्धिमानी हुन्छ। नेपालको शेयर बजारको भविष्य उज्ज्वल छ। मात्र हामीलाई अलिकति धैर्यता र सही विश्लेषणको खाँचो छ। बजारमा लगानी गर्दा आफैंले अध्ययन गरेर गरिएको लगानीले कहिल्यै धोका दिँदैन।

बाँकी भिडियोमाः




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।