एकातिर नेप्से सूचक करिब ७ प्रतिशतले बढेको देखिन्छ भने अर्कोतिर बजारमा सूचीकृत अधिकांश कम्पनीका लगानीकर्ताहरू भने आफ्नो पोर्टफोलियोको मूल्य घट्दा दबाबमा परेका छन्।
१८० दिनको कारोबार औसत मूल्यको पछिल्लो तथ्याङ्कले बजारको यो डरलाग्दो यथार्थलाई उजागर गरेको हो। तथ्याङ्कअनुसार नेप्सेमा नियमित कारोबार हुने कुल २७१ कम्पनीमध्ये जम्मा ७३ वटा कम्पनी (२६.९४ प्रतिशत) को मात्रै हालको बजार मूल्य (LTP) उनीहरूको १८० दिनको औसत मूल्यभन्दा माथि रहेको छ। बाँकी १९८ वटा कम्पनी अर्थात् ७३.०६ प्रतिशत सूचीकृत कम्पनीहरूको मूल्य १८० दिनको औसत मूल्यभन्दा तल झरेको छ। यसले के देखाउँछ भने सूचक सकारात्मक देखिए पनि आम लगानीकर्ताको सम्पत्तिको मूल्य भने उल्लेख्य रूपमा क्षयीकरण भएको छ।
सूचक बढ्ने तर मूल्य घट्ने: के हो रहस्य ?
पछिल्लो ६ महिनाको तथ्याङ्क हेर्दा ११ सेप्टेम्बर २०२५ मा नेप्से सूचक २५६६.०९ विन्दुमा थियो। जुन ८ मे २०२६ सम्म आइपुग्दा ६.९९ प्रतिशतले वृद्धि भई २७४५.६५ विन्दुमा पुगेको छ। ६ महिनाको अवधिमा सूचक १७९.५६ विन्दुले बढ्दा पनि ७३ प्रतिशत कम्पनीको मूल्य १८० दिनको औसतभन्दा तल हुनुमा मुख्य दुई वटा कारण देखिन्छन्।
पहिलो, नेप्सेमा हालै सूचीकृत भएका नयाँ कम्पनीहरू (विशेष गरी केही जलविद्युत् र उत्पादनमूलक कम्पनीहरू) को मूल्य उच्च रहँदा त्यसले नेप्से सूचकलाई माथि तान्न मद्दत पुर्याएको छ। दोस्रो, बजारमा पुराना र नियमित कारोबार भइरहने ब्लु-चिप कम्पनीहरूमा पछिल्लो ६ महिनादेखि निरन्तर बिक्रीको चाप (Selling Pressure) परिरहेको छ। सूचक बढाउन नयाँ स्टकले 'इन्धन' को काम गरे पनि पुराना र आधारभूत रूपमा बलियो मानिएका कम्पनीको मूल्यमा सुधार नआउँदा यस्तो असन्तुलन देखिएको हो।
सेक्टर-वाइज विश्लेषण: कुन बलियो, कुन कमजोर ?
सेक्टर-वाइज डेभिएसन (विचलन) विश्लेषण गर्दा होटेल तथा पर्यटन, व्यापार (Trading) र वाणिज्य बैंक समूह तुलनात्मक रूपमा बलियो देखिएका छन्। होटेल तथा पर्यटन क्षेत्रको १८० दिनको औसत मूल्य ७१३.२ रहेकोमा हालको LTP ७३८.८२ छ। जुन २५.६२ अंकको सकारात्मक विचलन हो। त्यस्तै, व्यापार क्षेत्रमा सबैभन्दा धेरै ४६.४२ अंकको सकारात्मक विचलन देखिएको छ।
यसको ठिक उल्टो, लघुवित्त (Microfinance) क्षेत्र सबैभन्दा कमजोर देखिएको छ। यस क्षेत्रको मूल्य १८० दिनको औसतभन्दा ७६.२८ अंकले तल झरेको छ। त्यस्तै, जीवन बिमा क्षेत्र ६२.६६ अंक र लगानी (Investment) क्षेत्र ५६.०३ अंकले औसत मूल्यभन्दा तल झरेका छन्। १०३ वटा सूचीकृत कम्पनी भएको जलविद्युत् क्षेत्र पनि औसतभन्दा २०.९६ अंकले तल रहनुले बजारको ठुलो हिस्सा नै नकारात्मक क्षेत्रमा रहेको पुष्टि गर्छ।
१८० दिनको औसतभन्दा माथि र तल कारोबार हुने कम्पनीहरू
१८० दिनको औसत मूल्यभन्दा धेरै माथि कारोबार हुने १० कम्पनीको सूचीमा रिलायन्स स्पिनिङ मिल्स (RSML) अग्रस्थानमा छ। जसको मूल्य औसतभन्दा ४७ प्रतिशतभन्दा बढी छ। त्यसपछि झापा इनर्जी, होटेल फरेस्ट इन, सूर्य कुण्ड हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक र साल्ट ट्रेडिङ कर्पोरेसन जस्ता कम्पनीहरू औसत मूल्यभन्दा माथि रहेर बजारलाई केही हदसम्म टिकाएका छन्।
तर, मूल्य धेरै घटेका कम्पनीहरूको सूची पनि निकै लामो छ। बोटलर्स नेपाल (बालाजु र तराई), युनिलिभर नेपाल, उपकार लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी र युनिक नेपाल लघुवित्त जस्ता कम्पनीहरूको मूल्य १८० दिनको औसतभन्दा निकै तल झरेको छ। यसले ठुला लगानीकर्ता र संस्थागत लगानीकर्ताहरूको रोजाइमा रहेका स्टकहरूमा समेत गम्भीर दबाब रहेको सङ्केत गर्छ।
मार्जिन कलको जोखिम: लगानीकर्तालाई ठुलो चुनौती
अहिलेको तथ्याङ्कले सबैभन्दा ठुलो चुनौती 'मार्जन कल' (Margin Call) को सिर्जना गरेको छ। नेपालका बैंक तथा वित्तीय संस्थाहरूले शेयर धितो कर्जा (Margin Loan) प्रवाह गर्दा १८० दिनको औसत मूल्य वा प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ। त्यसको ७० प्रतिशतसम्म ऋण दिने गर्छन्।
यदि कुनै लगानीकर्ताले ६ महिना अघि १८० दिनको औसत मूल्यलाई आधार मानेर ऋण लिएका थिए भने, अहिले ७३ प्रतिशत कम्पनीको मूल्य सो औसतभन्दा तल झरिसकेको छ। शेयरको मूल्य घट्दा बैंकले कायम गरेको 'एलटिभी' (LTV Ratio) बढ्न जान्छ। १८० दिनको औसतभन्दा मूल्य तल झर्नुको अर्थ धेरैजसो ऋणीहरूको धितोको भ्यालु घटेको छ। यस्तो अवस्थामा बैंकहरूले लगानीकर्तालाई थप धितो राख्न वा नगदै बुझाउनका लागि 'मार्जिन कल' गर्न थाल्छन्।
विशेष गरी ६ महिना अघि ऋण लिएका लगानीकर्ताहरूका लागि यो समय निकै जोखिमपूर्ण छ। बजार सूचकले उचाइ लिएको भ्रममा पर्दा धेरै लगानीकर्ताहरूले भित्रभित्रै आफ्नो सम्पत्तिको मूल्य गुमाइरहेका छन्। लघुवित्त, बिमा र जलविद्युत् जस्ता क्षेत्रमा मार्जिन कलको जोखिम उच्च देखिएको छ किनभने यी क्षेत्रको औसत विचलन सबैभन्दा बढी नकारात्मक छ।
निष्कर्ष
पछिल्लो ६ महिनाको बजार प्रवृत्तिले देखाएको यो विरोधाभासपूर्ण तथ्याङ्कले लगानीकर्तालाई सचेत रहन आग्रह गरेको छ। सूचक ६.९९ प्रतिशतले बढ्नु आफैँमा सकारात्मक कुरा हो। तर जबसम्म ७३ प्रतिशत कम्पनीको मूल्य १८० दिनको औसतभन्दा तल रहन्छ। तबसम्म बजार स्वस्थ छ भन्न सकिँदैन। नयाँ सूचीकृत कम्पनीले सूचक धाने पनि पुराना र बलिया कम्पनीमा देखिएको यो गिरावटले बजारमा अझै केही समय 'कन्सोलिडेसन' वा प्रेसर जारी रहन सक्ने सङ्केत गर्छ। यस्तो अवस्थामा मार्जिन कलबाट बच्नका लागि आफ्नो पोर्टफोलियोको जोखिम व्यवस्थापन नै लगानीकर्ताको मुख्य प्राथमिकता हुनुपर्दछ।
१८० दिनको सुची तल हेर्नुहोस