राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी मंगलबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण प्राविधिक र प्रशासनिक तयारी पूरा भएको जनाएको छ । बोर्डकी सूचना अधिकारी लक्ष्मी मरासिनीले कुनै प्राविधिक समस्या नआए अबको दुई दिनभित्रै नतिजा सार्वजनिक गरिने जानकारी दिइन् । उनले भनिन्, ‘हाम्रो तर्फबाट सबै तयारी पूरा भइसकेको छ । कुनै प्राविधिक कठिनाइ नभए मंगलबारसम्म नतिजा प्रकाशित गर्छौं ।’ यस वर्षको एसईई परीक्षा गत चैतको दोस्रो सातादेखि सञ्चालन भएको थियो । परीक्षा सम्पन्न भएको करिब एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ बोर्डले काम गरिरहेको छ । यस वर्ष देशभरका ११ हजार ३ सय ७९ विद्यालयका कुल ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।
परीक्षार्थीको विवरण: नियमिततर्फ: ४ लाख ४१ हजार ५ सय ६६ जना
ग्रेड वृद्धितर्फ: ७० हजार ८ सय ५५ जना
छात्रा: २ लाख ५७ हजार ६ सय १३ जना छात्र: २ लाख ५४ हजार ८ सय १ जना
अन्य: ७ जना
यस वर्षको परीक्षामा छात्रको तुलनामा छात्राको सङ्ख्या बढी रहेको छ । साथै, जापानको एक परीक्षा केन्द्रबाट २३ जना विद्यार्थीले परीक्षा दिएका थिए । यस वर्षको नतिजा तयारीमा एक नयाँ प्रयोग समेत गरिएको छ । विगतका वर्षहरूमा उत्तरपुस्तिका अन्यत्र पठाइने गरिए पनि यस वर्ष जुन केन्द्रमा परीक्षा दिइएको थियो, सोही क्षेत्रमा उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएको थियो ।