टेलिकमको नयाँ सुविधाः अब घरमै बसेर पाइने ई–सिम, पुरानो सिमलाई पनि अनलाइनबाटै ‘अपग्रेड’ गर्न सकिने

May 11, 2026 01:47 PM Merolagani



नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि सेवा प्रवाहमा थप सहजता ल्याउँदै ई–सिमसम्बन्धी सम्पूर्ण प्रक्रिया अनलाइनमार्फत नै गर्न सकिने व्यवस्था गरेको छ । प्रविधिको बढ्दो प्रयोगलाई आत्मसात गर्दै टेलिकमले नयाँ प्रिपेड ई–सिम लिन र प्रयोगमा रहेको फिजिकल सिमलाई ई–सिममा बदल्न कार्यालय जानुपर्ने बाध्यता अन्त्य गरेको हो ।

यसअघि ई–सिम लिनका लागि ग्राहक स्वयं उपस्थित भएर टेलिकमको काउन्टरमा जानुपर्ने व्यवस्था रहेकोमा अब भने इन्टरनेटको माध्यमबाटै यो काम सम्पन्न हुनेछ।

कसरी लिने नयाँ ई–सिम?

नयाँ प्रिपेड ई–सिम लिन चाहने सेवाग्राहीले टेलिकमको आधिकारिक पोर्टल इसीम डटएनटीसी डटनेट डटएनपीमा लगइन गर्नुपर्नेछ । पोर्टलमा रहेको ‘गेट न्यून प्रिपेड इसीम’ मा क्लिक गरेपछि त्यहाँ मागिएका विवरणहरू भरी रजिष्ट्रेसन प्रक्रिया अघि बढाउन सकिन्छ ।

टेलिकमका अनुसार डिजिटल वालेट वा क्यूआर कोडमार्फत सिमको भुक्तानी गरेपछि प्रणालीले तत्कालै ई–सिमको क्युआर कोड उपलब्ध गराउनेछ । सोही क्यूआर कोडलाई आफ्नो मोबाइलको सेटिङमा गएर स्क्यान गरेपछि ई–सिम सक्रिय हुनेछ ।

पुरानो सिमलाई ई–सिम बनाउन पनि सहज

टेलिकमले हाल प्रयोग गरिरहेको पुरानो फिजिकल सिमलाई पनि अनलाइनमार्फत नै ई–सिममा रूपान्तरण गर्न सकिने सुविधा दिएको छ । यसका लागि पनि सेवाग्राहीले पोर्टलमा गएर आवश्यक प्रक्रिया पुरा गर्न सक्नेछन् ।

यसका साथै, नयाँ फिजिकल सिम लिन चाहनेहरूका लागि आवश्यक पर्ने फारम भर्न, ग्राहक विवरण (केवाइसी) दर्ता गर्न वा विवरण अद्यावधिक गर्नका लागि समेत अनलाइन केवाईसीको सुविधा उपलब्ध गराइएको छ ।