रेमिट्यान्समा ३९ प्रतिशतको उत्साहजनक वृद्धि, ९ महिनामै भित्रियो १६ खर्ब ५९ अर्ब

May 11, 2026 06:01 PM Merolagani



वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा ठूलो सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्याङ्कअनुसार रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको हो।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह केबल १०.२ प्रतिशतले मात्र बढेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा पनि रेमिट्यान्स ३१.९ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड डलर पुगेको छ, जसले मुलुकको बाह्य क्षेत्र सन्तुलन र विदेशी मुद्रा सञ्चितिमा बलियो आधार प्रदान गरेको छ।

विशेष गरी चैत महिनामा मात्रै २ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ७० अर्ब बढी हो। गत वर्ष चैतमा १ खर्ब ३९ अर्ब ५४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। यस्तै, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ खर्ब २० अर्ब ४२ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आय १३ खर्ब ३ अर्ब १२ करोड रुपैयाँमा सीमित थियो।

वैदेशिक रोजगारीको तथ्याङ्क हेर्दा नयाँ श्रम स्वीकृति लिनेको संख्यामा भने केही कमी आएको छ। समीक्षा अवधिमा २ लाख ९४ हजार १८६ जनाले नयाँ श्रम स्वीकृति लिएका छन्, जबकि अघिल्लो वर्ष यो संख्या ३ लाख ५८ हजार २२२ रहेको थियो। तर, पुनः श्रम स्वीकृति लिनेको संख्यामा भने सुधार देखिएको छ। अघिल्लो वर्ष २ लाख ४९ हजार ६५२ जनाले पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष २ लाख ९३ हजार २५९ जनाले यस्तो अनुमति लिएका छन्। रोजगारीका लागि विदेशिनेको संख्यामा खासै ठूलो गिरावट नआउनु र डलरको विनिमय दर उच्च रहनुले रेमिट्यान्स रकममा ऐतिहासिक वृद्धि देखिएको हो।