आजीवन कैद सजाय पाएका उमेश राई पक्राउ: जेनजी आन्दोलनको क्रममा भएका थिए फरार

May 11, 2026 09:08 PM Merolagani



केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले कर्तव्य ज्यान मुद्दामा आजीवन कैदको सजाय पाएका एक फरार कैदीलाई काठमाडौंबाट पक्राउ गरेको छ

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १२ स्थायी घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. २, बोमथली बस्ने ३३ वर्षीय उमेश राईलाई ब्यूरोको टोलीले २०८३ वैशाख २८ गते उनकै निवासस्थानबाट नियन्त्रणमा लिएको हो । राईलाई कर्तव्य ज्यान मुद्दामा २०८१ मङ्सिर २७ गते पक्राउ गरी पुस २५ गतेदेखि कास्की कारागारमा थुनामा राखिएको थियो। कास्की जिल्ला अदालतले २०८१ फागुन २६ गते उनलाई दोषी ठहर गर्दै आजीवन कैदको फैसला सुनाएको थियो।

सोही कैद भुक्तान गरिरहेका राई २०८२ भदौ २४ गते 'Gen-Z' आन्दोलनको क्रममा कारागारबाट फरार भई काठमाडौं उपत्यकामा लुकिछिपी बस्दै आएका थिए । ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार पक्राउ परेका राईलाई थप सजाय भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा पेश गरिएको छ ।