स्विट्जरल्याण्डमा हुने भनिएको अमेरिका–इरान शान्ति सम्झौताको औपचारिक समारोह स्थगित, प्राविधिक वार्ता मात्र हुने

Jun 19, 2026 09:23 AM Merolagani



संयुक्त राज्य अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि स्विट्जरल्याण्डको बुरगेनस्टक रिसोर्टमा आयोजना गर्न लागिएको विशेष उच्च–स्तरीय हस्ताक्षर समारोह अन्तिम समयमा आएर स्थगित भएको छ।

दुवै देशले प्रारम्भिक सम्झौतामा डिजिटल (इलेक्ट्रोनिक) माध्यमबाट यसअघि नै हस्ताक्षर गरिसकेकाले आज (शुक्रबार) का लागि तय गरिएको विशेष कूटनीतिक समारोह तत्कालका लागि आवश्यक नभएको भन्दै स्थगित गरिएको विभिन्न सञ्चारमाध्यमहरुले बताएका छन्।

औपचारिक समारोह स्थगित भए पनि दुवै पक्षबीच आगामी ६० दिनको खाका र प्राविधिक विषयहरूमा छलफल गर्नका लागि तल्लो तहको वार्ता भने जारी रहने स्विस विदेश मन्त्रालयले जनाएको छ।

उपराष्ट्रपति जेडी भान्स र पाकिस्तानी प्रधानमन्त्रीको भ्रमण रद्द

यसअघि उक्त ऐतिहासिक समारोहमा भाग लिन अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी संसद्का सभामुख मोहम्मद बगेर गालिबाफ स्विट्जरल्याण्ड पुग्ने तालिका थियो। तर ह्वाइट हाउसले बिहीबार उपराष्ट्रपति भान्सको भ्रमण रोकिएको पुष्टि गरेको छ। वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै भान्सले भने, ‘हाम्रो योजना स्विट्जरल्याण्ड जाने नै हो, तर ठ्याक्कै कहिले जाने भन्ने तय भइसकेको छैन।’

यसैगरी, यो शान्ति प्रक्रियाको मुख्य मध्यस्थकर्ता देश पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले पनि आफ्नो स्विट्जरल्याण्ड भ्रमण रद्द गरेका छन्। प्रधानमन्त्रीका प्रवक्ता मोसरफ जैदीले ‘इस्लामावाद समझदारी पत्र’ मा डिजिटल हस्ताक्षर भई यो कार्यान्वयनको चरणमा गइसकेकाले तत्काल औपचारिक भ्रमण आवश्यक नरहेको जानकारी दिए। कूटनीतिक मर्यादाका कारण पनि अन्य विशिष्ट अतिथिहरू नआउने भएपछि समारोहको स्तर घटाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

इरानको चेतावनीः ‘सम्झौता उल्लंघन गरे कडा जवाफ दिइने’

समारोह स्थगित भइरहँदा इरानको तर्फबाट भने कडा प्रतिक्रिया आएको छ। इरानका मुख्य वार्ताकारले अमेरिकालाई सचेत गराउँदै यदि वासिङ्टनले उदीयमान सम्झौताका सर्तहरू उल्लंघन गरेमा अमेरिकाले ‘यसअघि युद्धमा भोगेको भन्दा अझ कडा चुनौती’ सामना गर्नुपर्ने चेतावनी दिएका छन्। उता अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले ब्रसेल्समा नाटोका रक्षा मन्त्रीहरूको बैठकमा बोल्दै इरानले सम्झौता अनुसार आफ्ना प्रतिबद्धताहरू पूरा नगरे अमेरिकाले पुनः सैन्य कारबाही सुरु गर्ने र नौसैनिक नाकाबन्दी ब्युँताउने चेतावनी दिएका छन्।

तेल बजारमा अनिश्चितताको बादल, मूल्यमा सामान्य उतारचढाव

सम्झौता कार्यान्वयनमा आएसँगै अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी हटाएको छ, जसका कारण स्ट्रेट अफ होर्मुजबाट कच्चा तेलका ट्याङ्करहरू पुनः आवतजावत गर्न थालेका छन्।

शान्ति सम्झौता भइसकेकाले तेलको मूल्यमा गिरावट आउने क्रम जारी रहे पनि स्विट्जरल्याण्डको विशेष समारोह स्थगित हुनु र दुवै देशका अधिकारीहरूबीच चलेको वाकयुद्धका कारण बजारमा केही अनिश्चितता भने थपिएको छ। लगानीकर्ताहरू आगामी ६० दिनसम्म चल्ने आणविक कार्यक्रम सम्बन्धी प्राविधिक वार्ताहरू कसरी अगाडि बढ्छन् भन्ने कुरा नियालिरहेका छन्।

अमेरिका र इरानबीच युद्ध रोक्ने मुख्य सम्झौता सुरक्षित र लागू भइसकेको छ। आज स्विट्जरल्याण्डमा हुन लागेको कार्यक्रम रद्द हुनु कुनै नयाँ विवाद नभई, सम्झौता पहिले नै डिजिटल रूपमा सम्पन्न भइसकेकाले र कूटनीतिक तयारी अपुग भएकाले मात्र भएकाे बताइएकाे छ। दुवै देश अब सिधै प्राविधिक र आणविक कार्यदल स्तरको वार्तामा केन्द्रित हुनेछन्।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।