मधेश प्रदेशमा सहकारीहरूले शेयर बजार र घरजग्गा कारोबारमा लगानी गर्न नपाउने

Jun 15, 2026 04:23 PM Merolagani



मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा देखिएका विकृति अन्त्य गर्न र बचतकर्ताको रकम सुरक्षित गर्न आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत अत्यन्तै कडा नीति ल्याएको छ ।

सहकारी संघ संस्थामा बढ्दो आर्थिक विचलन र ठगीलाई रोक्न मधेश सरकारले शून्य सहनशीलताको नीति लिने घोषणा गरेको हो । बजेटमा नागरिकको पसिनाको कमाइ अपचलन गर्ने सहकारीका सञ्चालक तथा पदाधिकारीहरूलाई कुनै पनि छुट नदिने उल्लेख गरिएको छ। उनीहरूको सम्पत्ति तत्काल रोक्का गर्ने र जफत गरेर भएपनि बचतकर्ताको रकम फिर्ता गराउन कानुनी र संरचनात्मक व्यवस्थालाई निर्मम रूपमा कार्यान्वयन गरिने सरकारले जनाएको छ।

त्यसैगरी, सहकारीहरूको आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न अब मधेश प्रदेशका सबै सहकारी अनिवार्य रूपमा एकीकृत प्रादेशिक डिजिटल नियमन तथा अनुगमन प्रणालीमा आबद्ध हुनुपर्नेछ । यस प्रणाली मार्फत सहकारीको कर्जा प्रवाह, तरलताको अवस्था र वित्तीय जोखिमको रियल–टाइम अनुगमन गरिने बजेटमा उल्लेख छ । यसले गर्दा कुनै पनि सहकारी संकटमा पर्नुअघि नै सरकारले हस्तक्षेप र नियन्त्रण गर्न सक्ने संयन्त्र विकास हुने विश्वास गरिएको छ।

सरकारले सहकारीको पैसा अनुत्पादक क्षेत्रमा प्रवाह हुन नदिने रणनीति लिएको छ । अब सहकारीहरूले शेयर बजार र घरजग्गा कारोबारमा लगानी गर्न पाउने छैनन् । यस्ता क्षेत्रमा लगानी गर्न पूर्णतः निरुत्साहित गर्दै सहकारीको पूँजीलाई अनिवार्य रूपमा कृषि, उद्यमशीलता र उत्पादनमूलक क्षेत्रमा मात्र परिचालन गर्नुपर्ने व्यवस्था बजेटले गरेको छ ।

साथै, समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन र समग्र क्षेत्रको सुधारका लागि मधेश प्रदेशले संघीय सरकारको सहकारी नियमन प्राधिकरणसँग समन्वय र सहकार्य गर्ने भएको छ । सहकारीमा देखिएको संकट समाधान गरी जनताको विश्वास पुनःस्थापित गर्नु नै बजेटको मुख्य उद्देश्य रहेको बताइएको छ।




नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री डा. वाग्ले

Jun 10, 2026 02:44 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराधबारे छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको बताएका छन्।