लस एन्जलस स्टेडियममा भएको सनसनीपूर्ण खेलमा टर्कीले बलियो टोली अमेरिकालाई ३–२ ले पराजित गर्दै सान्त्वना जित दर्ता गरेको छ। अर्कोतर्फ, प्याराग्वे र अष्ट्रेलियाबीचको खेल प्रतिस्पर्धात्मक भए पनि गोलरहित बराबरीमा टुङ्गिएको छ।
समूह चरणको समाप्तिसँगै अमेरिका पराजित भए पनि यसअघिका लगातार दुई जितका कारण समूह विजेता बन्दै नकआउट चरणमा पुग्न सफल भएको छ।
यसअघिका दुवै खेल खेलिसक्दा अंकविहीन रहेको टर्कीले आज प्रतिष्ठाको लडाइँमा उत्कृष्ट पुनरागमन गर्यो। खेलको तेस्रो मिनेटमै अमेरिकाका अस्टन ट्रस्टीले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। तर, टर्कीका युवा स्टार आर्दा गुलरले १०औँ मिनेटमा उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। खेलको ३१औँ मिनेटमा टर्कीका बारिस अल्पर यिल्माजले गोल गरेपछि पहिलो हाफमा टर्की २–१ ले अगाडि रह्यो।
दोस्रो हाफ सुरु हुनासाथ ४९औँ मिनेटमा अमेरिकाका सेबास्टियन बरहाल्टरले गोल गर्दै खेललाई २–२ को रोमान्चक मोडमा पुर्याए। खेल बराबरीमै सकिने आँकलन भइरहँदा इन्जुरी समयको आठौँ मिनेटमा टर्कीका कान आयहानले निर्णायक गोल गर्दै टर्कीलाई ३–२ को ऐतिहासिक जित दिलाए।
अमेरिका यसअघि नै नकआउट चरणमा छनोट भइसकेकाले डच प्रशिक्षक माउरिसियो पोचेटिनोले कप्तान क्रिस्टियन पुलिसिकसहित केही मुख्य खेलाडीहरूलाई दोस्रो हाफमा मात्र मैदान प्रवेश गराएका थिए।
सान फ्रान्सिस्को वे एरिया स्टेडियममा भएको समूह डी को अर्को खेलमा प्याराग्वे र अष्ट्रेलियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। दुवै टोलीले रक्षात्मक खेललाई बढी प्राथमिकता दिँदा निर्धारित ९० मिनेट र थपिएको समयमा पनि कुनै गोल हुन सकेन।
अष्ट्रेलियाका मिडफिल्डर ज्याक्सन इर्भिन र प्याराग्वेका डिएगो गोमेजले पहेँलो कार्ड पाएका थिए भने खेलको रणनीति अनुसार दुवै प्रशिक्षकले दोस्रो हाफमा व्यापक खेलाडी परिवर्तन गरेका थिए। यो बराबरीसँगै यी दुबै देशकाे समान ४ अंक भएकाे छ। यद्यपि, गाेलअन्तरका अाधारमा अष्ट्रेलिया नकअाउट चरणमा प्रवेश गरेकाे छ।