देशभर आज २३औँ राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व मनाइँदै

Jun 29, 2026 07:16 AM Merolagani



आज असार १५ गते, देशभर २३औँ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव विविध कार्यक्रमका साथ मनाइँदैछ। नेपाली समाजमा परापूर्वकालदेखि नै असार १५ लाई मुख्य रोपाईंको सुरुआत र ‘दही–चिउरा खाने दिन’ का रूपमा हर्सोल्लासका साथ मनाउने परम्परा रहँदै आएको छ।

कृषि प्रधान देश नेपालमा मानो रोपेर मुरी उब्जाउने यो महिनालाई किसानहरूको विशेष र व्यस्त महिनाका रूपमा लिइन्छ। सरकारले वि.सं. २०६१ मंसिर २९ गतेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि औपचारिक रूपमा राष्ट्रिय धान दिवस मनाउन सुरु गरेको हो। यस वर्ष ‘जलवायु मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि र समृद्धि’ भन्ने मूल नाराका साथ सरकारी तथा निजी क्षेत्रबाट विभिन्न स्थानमा रोपाइँ महोत्सव आयोजना गरिएका छन्।

असार १५ का दिन किसानहरू धानको बीउ उखेल्ने, खेत जोत्ने र रोप्ने काममा व्यस्त हुन्छन्। यस दिन युवायुवती तथा किसानहरू खेतको हिलोमा पसेर ‘छपुछपु हिलोमा धान रोपेर छोडौँला’ जस्ता परम्परागत असारे भाका गाउँदै, लोकदोहोरी खेल्दै र एक–अर्कामाथि हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। यो पर्वमा सहरिया युवावर्ग र नेपाल घुम्न आएका विदेशी पर्यटकहरू समेत निकै उत्साहका साथ धान खेतको हिलोमा रमाउने गर्छन्, जसले गर्दा यस दिन कृषि–पर्यटनको प्रवर्द्धनमा समेत ठूलो टेवा पुग्दै आएको छ।

असार १५ को अर्को मुख्य आकर्षण भनेको दही–चिउरा खानु हो। असारको चर्को गर्मी र हिलोमा काम गर्दा थकित भएका किसानहरूलाई ऊर्जा र शीतलता प्रदान गर्न दही–चिउरा खाने गरिन्छ। स्वास्थ्यका दृष्टिकोणले पनि दहीमा पाइने सुक्ष्म जिवाणुले पाचन प्रणालीलाई राम्रो बनाउने र शरीरलाई तत्काल ऊर्जा दिने भएकाले नेपाली संस्कृतिमा यसको विशेष स्थान छ। कृषिसँग सम्बन्धित नभएका र सहरमा बस्ने नेपालीहरूले पनि आजको दिन दही–चिउरा खाएर यो पर्व मनाउने गर्छन्।

नेपालको कुल गार्हस्थ्य उत्पादनमा धान खेतीको ठूलो योगदान रहेकाले समयमै मनसुन सक्रिय भई उत्पादन बढ्दा राष्ट्रिय अर्थतन्त्रमै सकारात्मक प्रभाव पर्ने गर्दछ। कृषि मन्त्रालयका अनुसार यतिबेला देशभरका अधिकांश भू(भागमा मनसुन सक्रिय भइसकेकाले किसानहरू उत्साहका साथ खेतमा व्यस्त छन्।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।