पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल सक्रिय

Jul 06, 2026 02:14 PM Merolagani



पूर्वी नेपालको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महिला पर्यटन व्यवसायी सञ्जालले कोशी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा प्रवर्द्धनात्मक भ्रमण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा सञ्चालित अभियानअन्तर्गत पर्यटन क्षेत्रमा सक्रिय महिला उद्यमीहरूले कोशी प्रदेशका नयाँ तथा स्थापित पर्यटकीय गन्तव्यको अवलोकन गर्दै स्थानीय सरकार, पर्यटन व्यवसायी, होमस्टे सञ्चालक र समुदायसँग पर्यटन विकासका सम्भावना, चुनौती तथा आगामी रणनीतिबारे छलफल गरेका छन्।

भ्रमणका क्रममा टोलीले इलामको श्री अन्तुमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाएको थियो। कार्यक्रममा महिला पर्यटन व्यवसायी सञ्जालकी अध्यक्ष जया बरालले कोशी प्रदेश प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा साहसिक पर्यटनका दृष्टिले नेपालकै अत्यन्तै समृद्ध प्रदेश भएको बताउँदै यसको पर्यटन सम्भावनालाई योजनाबद्ध रूपमा विकास गर्न आवश्यक रहेको धारणा व्यक्त गरिन्।

पूर्वी नेपालमा रहेका धार्मिक तीर्थस्थल, पुरातात्विक सम्पदा, प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनका गन्तव्यहरूलाई स्थानीय कृषि, संस्कृति र जीवनशैलीसँग जोडेर पर्यटन उत्पादनका रूपमा विकास गर्नुपर्ने आवश्यकता अध्यक्ष बरालले औँल्याइन्। विशेषगरी कृषि पर्यटनलाई प्राथमिकतामा राख्दै स्थानीय उत्पादन, स्थानीय खानाका परिकार, मौलिक संस्कृति र ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोड्न सके ग्रामीण अर्थतन्त्रलाई थप सशक्त बनाउन सकिने धारणा व्यक्त गरियो ।

प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रका पर्यटकीय सम्पदा, सांस्कृतिक विशेषता तथा नयाँ गन्तव्यको पहिचान गरी एकीकृत पर्यटन प्याकेज विकास गर्नुपर्नेमा अध्यक्ष बरालले जोड दिइन्। साथै स्थानीय सरकार, पर्यटन व्यवसायी, होटल तथा होमस्टे सञ्चालक, यातायात व्यवसायी र स्थानीय समुदायबीच प्रभावकारी सहकार्यमार्फत गुणस्तरीय पर्यटन उत्पादन विकास गर्नुपर्ने कुरामा जोड दिइयो।

पर्यटन क्षेत्रका विद्यमान चुनौती समाधान गर्न सरकारी र निजी क्षेत्रबीचको साझेदारी अझ सुदृढ हुनुपर्ने उल्लेख गर्दै पर्यटनलाई स्थानीय आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित गर्न सबै सरोकारवालाको साझा प्रतिबद्धता आवश्यक रहेको धारणा कार्यक्रममा व्यक्त गरियो।

अन्तरक्रियामा सहभागी स्थानीय पर्यटन व्यवसायीहरूले पूर्वी नेपालका कम परिचित गन्तव्यहरूको प्रभावकारी प्रवद्र्धन गर्न सके पर्यटनको लाभ दुर्गम गाउँसम्म पुग्ने विश्वास व्यक्त गरे। समुदायमा आधारित पर्यटन, ग्रामीण पर्यटन र स्थानीय उद्यमलाई प्रवर्द्धन गर्न स्थानीय सरकार, निजी क्षेत्र तथा पर्यटनसँग सम्बन्धित संघ–संस्थाबीच अझ प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा व्यवसायीहरूको थियो।

अन्तु पर्यटन व्यवसायी संघकी कोषाध्यक्ष कञ्चना बरालले श्री अन्तु नेपालको पहिलो सूर्योदय अवलोकन गर्न सकिने प्रमुख गन्तव्यका रूपमा परिचित रहेको बताउँदै यस क्षेत्र प्राकृतिक, धार्मिक र ऐतिहासिक सम्पदाले सम्पन्न रहेको उल्लेख गरिन्। अन्तुमा न्यून बजेटमा बस्न चाहने पर्यटकका लागि सुविधासम्पन्न होमस्टे तथा उच्चस्तरीय सेवा खोज्ने पर्यटकका लागि फोर स्टार स्तरको होटलसमेत सञ्चालनमा आइसकेको जानकारी कञ्चना बरालले दिइन्। स्थानीय तहका पर्यटकीय सम्भावनाको अध्ययन गरी आवश्यक पूर्वाधार निर्माणमा बजेट बढाउनुपर्ने तथा प्रवर्द्धन र संरक्षणलाई सन्तुलित रूपमा अघि बढाउने स्पष्ट सरकारी नीति आवश्यक रहेको उनको भनाइ थियो।

त्यस्तै, अन्तु डाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनकुमार आलेले ग्रामीण पर्यटनको विकासमा होमस्टे महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै पूर्वी नेपालका गाउँहरूमा पर्यटन विस्तारका लागि होमस्टे सञ्जाललाई थप सुदृढ बनाउनुपर्ने बताए। छोटो दूरीमै फरक–फरक हावापानी, प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक अनुभव प्राप्त गर्न सकिने भएकाले पूर्वी नेपाललाई बहुआयामिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो।

सूर्योदय नगरपालिका–५ का वडाध्यक्ष उर्गेन बम्जनले स्थानीय सरकारले पर्यटनलाई विकासको प्रमुख आधार मानेर सडक, पदमार्ग, पर्यटकीय पूर्वाधार निर्माण, गन्तव्य संरक्षण तथा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। स्थानीय सरकार, निजी क्षेत्र र पर्यटनसँग सम्बन्धित संस्थाबीचको सहकार्यले पर्यटन विकासलाई थप प्रभावकारी बनाउने विश्वास उनले व्यक्त गरे। चालु आर्थिक वर्षमा पनि पर्यटन पूर्वाधार तथा गन्तव्य विकासका विभिन्न योजनाका लागि बजेट विनियोजन गरिएको र महिला, बालबालिका र स्थानीय समुदायलाई पर्यटन विकाससँग जोड्ने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको वडाध्यक्ष बम्जनले बताए।

प्रवद्र्धनात्मक भ्रमणका क्रममा टोलीले काठमाडौंबाट यात्रा सुरु गरी कोशी ब्यारेज, झापा, इलाम, श्री अन्तु, बराहक्षेत्रलगायत कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको अवलोकन गरेको थियो। भ्रमणका क्रममा स्थानीय सरकार, पर्यटन व्यवसायी, समुदाय तथा सरोकारवालासँग पर्यटनका सम्भावना, चुनौती, गन्तव्य प्रवद्र्धन, पूर्वाधार विकास र सीमा पर्यटनका अवसरबारे समेत विस्तृत छलफल गरिएको थियो।

महिला पर्यटन व्यवसायी सञ्जालका अनुसार यस्ता प्रवद्र्धनात्मक अभियानले नयाँ पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा परिचित गराउनुका साथै स्थानीय समुदायको आयआर्जन वृद्धि, महिला उद्यमशीलताको सशक्कीकरण, ग्रामीण पर्यटन विस्तार तथा दिगो पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। सञ्जालले आगामी दिनमा पनि देशका विभिन्न प्रदेशमा यस्तै प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्दै स्थानीय पर्यटनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने अभियानलाई निरन्तरता दिने जनाएको छ।




विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।