यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से नकारात्मक रहेको थियो भने तीन कारोबार दिन सकारात्मक भएर बन्द भएको थियो।
यस साता फ्लोट इण्डेक्स ०.०३ अंक घटेको छ भने सेन्सेटिभ इण्डेक्स १.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंक बढेको छ।
नेप्सेसँगै यस साता कारोबार रकममा पनि केही कमी आएको छ। गत साता दैनिक औषतमा ४ अर्ब २९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ३ अर्ब ८६ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ९.९४ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ७.८९ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ७.८९ प्रतिशत घटेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि सामान्य घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ५४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ६ अर्ब रुपैयाँ घटेर ४५ खर्ब ४७ अर्ब रुपैयाँमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस साता होटल तथा प्रशोधन उपसमूहको परिसूचक ०.६८ प्रतिशत बढेको छ। गत साता ७२८९.४३ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ४९.५२ अंक बढेर ७३३८.९५ विन्दुमा पुगेको छ। त्यस्तै, यस साता लघुवित्त र अन्य उपसमूहको परिसूचक ०.२४ प्रतिशत बढेको छ।
यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.३७ प्रतिशत घटेको छ। गत साता ३३८७.९० विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १४८.०४ अंक घटेर ३२३९.८६ विन्दुमा झरेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक घटेको हो।

यस साता दुई कम्पनीको कुल १ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता घलेम्दी हाइड्रोको शेयरमूल्य सर्वाधिक ९.२१ प्रतिशत बढेको छ। गत साता २२८ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता २४९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता खानी खोला हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको महिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस साता सर्वाधिक २१.०५ प्रतिशत घटेको छ। त्यसैगरी, यस साता आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ११ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता माण्डु हाइड्रोपावर, माइ खोला हाइड्रोपावर, नेपाल बैंक लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, मकर जितुमाया सुरी हाइड्रोपावर, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

