नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम पनि घट्यो

Aug 10, 2026 03:08 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक ९.०४ अंक घटेर २६४१.०५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.२० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ३ अर्ब ७७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५२ स्टकको ५३ हजार ५२४ पटकको कारोबारमा ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार रुपैयाँबराबरको १ करोड ९ लाख ६६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.४७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने बाँकी स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको रिलायबल समृद्धि योजना २ को इकाईमूल्य यस दिन सर्वाधिक ९.७० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४६ कराड ३७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिडी पावर कम्पनीको करिब ३० करोड रुपैयाँको शेयर किनबेच भएको छ भने फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको कारोबार रकम १२ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।