नाइमा एक्स्पोमा बैंकहरूको 'ब्याजदर युद्ध': ५.२५ प्रतिशतबाटै अटो लोन, सुस्ताएको बजारमा उत्साहको सञ्चार

Aug 13, 2026 02:57 PM Merolagani



सुवास निरौला

काठमाडौँको भृकुटीमण्डप अहिले स्वदेशी तथा विदेशी सवारी साधनहरूको कुम्भमेला चलिरहेको छ। 

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को आयोजनामा जारी 'नाइमा मोबिलिटी एक्स्पो २०२६' ले सुस्ताएको नेपाली अटो बजारलाई मात्र जगाएको छैन, बैंकिङ क्षेत्रमा 'अटो लोन' को तीव्र प्रतिस्पर्धा समेत सिर्जना गरेको छ।

एक्स्पोको पहिलो दिनमै ४८ वटा नयाँ मोडलका सवारी साधन सार्वजनिक गरिनुले नेपालको अटो क्षेत्र पुनः लयमा फर्कन खोजेको प्रस्ट पार्छ। तर, यस वर्षको एक्स्पोको मुख्य आकर्षण केवल गाडीका नयाँ मोडलहरू मात्र होइनन्, बैंकहरूले ग्राहकलाई लोभ्याउन ल्याएका 'ऐतिहासिक' सस्तो ब्याजदरका अफरहरू र खुकुलो कर्जा नीति पनि हुन्।

अटो कर्जाको पुनरुत्थान:

विगत केही वर्षदेखि तरलता अभाव, उच्च ब्याजदर र नेपाल राष्ट्र बैंकको कडा नीतिका कारण अटो क्षेत्र निकै मारमा थियो। तर, अहिले परिदृश्य पूर्ण रूपमा बदलिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार, २०८२ असारमा १२८.७० अर्ब रुपैयाँ रहेको अटो कर्जा २०८३ जेठ मसान्तसम्म आइपुग्दा १४१.९१ अर्ब रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.३ प्रतिशतको उत्साहजनक वृद्धि हो।

बैंकहरूमा लगानीयोग्य रकम (तरलता) प्रचुर मात्रामा हुनु र अन्य उत्पादनमूलक क्षेत्रमा कर्जाको माग अपेक्षाकृत नहुनुले बैंकहरूलाई पुनः सुरक्षित मानिने 'रिटेल' तथा अटो कर्जातर्फ आकर्षित गरेको छ। बैंकहरूका लागि अटो कर्जा तुलनात्मक रूपमा सुरक्षित मानिन्छ किनभने यसमा सवारी साधन नै धितो रहने र असुली प्रक्रिया सहज हुने गर्दछ। जसले गर्दा अटो लोन सुरक्षित मानिएको हो।

 बैंकहरूबीच ब्याजदरमा तीव्र प्रतिस्पर्धा

नाइमा एक्स्पोलाई लक्षित गर्दै बैंकहरूले ५.२५ प्रतिशतदेखि नै अटो लोनका योजनाहरू सार्वजनिक गरेका छन्। बैंकहरूको औसत आधार दर (Base Rate) ४.७४ प्रतिशतको हाराहारीमा झरेकाले ग्राहकले इतिहासकै सस्तो ब्याजदरमा गाडी चढ्ने अवसर पाएका छन्। धेरैजसो बैंकले आधार दरमा न्यून प्रिमियम (०.५ देखि १ प्रतिशतसम्म) मात्र थपेर कर्जा दिने घोषणा गरेका छन्।

 अटो कर्जामा कुन बैंकको लगानी कति ?

नेपालका वाणिज्य बैंकहरूले अटो कर्जालाई आफ्नो प्रमुख पोर्टफोलियोको रूपमा विकास गरिरहेका छन्। जेठ २०८३ सम्मको तथ्याङ्क अनुसार निजी क्षेत्रको ठूलो बैंक ग्लोबल आइएमई बैंक अटो कर्जा प्रवाहमा सबैभन्दा अगाडि देखिएको छ।

 

विद्युतीय सवारी (EV) को आकर्षण र सस्तो ब्याजदर

यस वर्षको एक्स्पोमा विद्युतीय सवारी साधन (EV) को बाहुल्यता देखिएको छ। इन्धन गाडीको तुलनामा इभीमा बैंकहरूको आकर्षण बढ्नुको पछाडि नेपाल राष्ट्र बैंकको लचिलो नीति र इन्धन बचतको लोकप्रियता प्रमुख छ। राष्ट्र बैंकले व्यावसायिक विद्युतीय सवारीमा कर्जा-मूल्य अनुपात (LTV Ratio) लाई ८० प्रतिशत पुर्‍याएको छ। यसको अर्थ कुनै ग्राहकले २० लाखको ईभी किन्न चाहेमा केवल ४ लाख खल्तीबाट खर्च गरे पुग्छ। बाँकी १६ लाख बैंकले ऋण उपलब्ध गराउँछ।

ग्लोबल आइएमई बैंकले ल्याएको ३ वर्षका लागि ५.९९ प्रतिशतको स्थिर (Fixed) ब्याजदर योजनाले इभी खरिदकर्ताहरूलाई विशेष आकर्षित गरेको छ। सामान्यतया बैंकको ब्याजदर आधार दर (Base Rate) सँगै परिवर्तन भइरहने (Floating) हुन्छ, तर स्थिर ब्याजदरले ग्राहकलाई भविष्यमा ब्याज बढे पनि कुनै भार थपिने डर हुँदैन।

केन्द्रीय बैंकको लचिलो नीति र अटो बजारको भविष्य

विगतमा विदेशी मुद्रा सञ्चितिमा परेको चापका कारण राष्ट्र बैंकले अटो कर्जामा कडा नीति लिएको थियो। तर, हाल विदेशी मुद्रा सञ्चिति बलियो रहेकाले र अर्थतन्त्रमा चलायमानता ल्याउनु पर्ने भएकाले केन्द्रीय बैंकले लचिलो नीति अख्तियार गरेको छ। व्यक्तिगत सवारीको जोखिम भार (Risk Weight) घटाइनु र कर्जा-मूल्य अनुपात (LTV) मा गरिएको वृद्धिले अटो कर्जाको माग बढाउन मद्दत पुर्‍याएको छ।

अटो मोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) का अध्यक्ष ऋटु सिंह वैद्यका अनुसार, व्यक्तिगत इभीमा पनि कर्जा-मूल्य अनुपात ८० प्रतिशत पुर्‍याउनु पर्ने निजी क्षेत्रको माग छ। यसो भएमा अटो बजारमा अझ ठूलो उछाल आउने उनको तर्क छ। यद्यपि, हाल उपलब्ध सुविधाहरूले पनि बजारलाई मन्दीबाट उकास्न ठूलो भूमिका खेलेका छन्।

बैंकहरूको रणनीति: 'प्रोसेसिङ' देखि 'डिस्बर्समेन्ट' सम्म

नाइमा एक्स्पोमा सहभागी बैंकहरूले ब्याजदरमा मात्र नभई सेवा प्रवाहको गतिमा पनि प्रतिस्पर्धा गरिरहेका छन्। मुक्तिनाथ विकास बैंकले कागजात पूरा भएको २४ घण्टाभित्रै कर्जा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ भने ग्लोबल आइएमई बैंकले ३ दिनभित्रै स्वीकृति पत्र (Approval Letter) दिने व्यवस्था गरेको छ। सिद्धार्थ बैंक र एनएमबि बैंकले एक्स्पो स्थलमै स्टल राखेर कर्जाका लागि आवेदन लिने र तत्काल वित्तीय परामर्श दिने कार्य गरिरहेका छन्।

यसले गाडी खरिदको निर्णयसँगै वित्तीय व्यवस्थापनलाई पनि सहज बनाएको छ। ग्राहकहरूले अब बैंक–बैंक धाउनु पर्ने झन्झट हटेको छ र एक्स्पो स्थलमै आफूलाई पायक पर्ने र सस्तो ब्याजदर दिने बैंक रोज्न पाएका छन्।

तथ्याङ्कीय तुलना: अटो कर्जाको वार्षिक वृद्धि

अटो कर्जाको क्षेत्रमा आएको सुधारलाई  तालिकाले अझ प्रस्ट पार्छ:

तथ्याङ्कले २०८१ सालमा आएको ठूलो गिरावटपछि २०८२ र २०८३ मा अटो कर्जा पुनः विस्तारको बाटोमा लागेको देखाउँछ। यो विस्तारमा विशेष गरी मध्यम वर्गीय परिवारको सवारी साधनप्रतिको बढ्दो चाहना र बैंकहरूको सस्तो ब्याजदरले मुख्य भूमिका खेलेको छ।

नाइमा मोबिलिटी एक्स्पो २०२६ ले नेपाली अटो बजारमा मात्र नभई बैंकिङ क्षेत्रमा पनि नयाँ उत्साह भरेको छ। ५.२५ प्रतिशतदेखिको अटो लोन अफर र ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधाले गाडी चढ्ने मध्यम वर्गीय नेपालीको सपनालाई सहज बनाएको छ। इभीमा देखिएको आकर्षण र बैंकहरूको स्थिर ब्याजदरका योजनाले नेपालमा दिगो यातायातको भविष्यलाई पनि सुनिश्चित गर्दैछ।

यद्यपि, ग्राहकहरूले कर्जा लिँदा 'फ्लोटिङ' र 'फिक्स्ड' ब्याजदरको अन्तरलाई बुझ्न र आफ्नो दीर्घकालीन आम्दानीको स्रोतलाई विचार गर्न जरुरी छ। समग्रमा, यो एक्स्पो र बैंकहरूको ब्याजदर युद्धले सुस्ताएको नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन कोशेढुङ्गा सावित हुने देखिन्छ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।