नेप्से सीईओ छनोट: 'खुला' प्रतिस्पर्धाको 'बन्द' अभ्यास, आवेदकको नाम लुकाइपछि पारदर्शितामाथि नै प्रश्न

Aug 14, 2026 11:13 AM Merolagani



सुवास निरौला

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि सरकारले सुरु गरेको 'खुला प्रतिस्पर्धा' को प्रक्रियामा सुरुवातमै अन्योल र गोपनीयताको छाया देखिएको छ। 

आवेदन दिने म्याद घर्किएको दुई दिन बितिसक्दा पनि अर्थ मन्त्रालयले आवेदकहरूको नामावली सार्वजनिक नगरेपछि यसको पारदर्शितामाथि गम्भीर प्रश्न उठेको हो। नेप्सेको नेतृत्वका लागि साउन २६ गतेसम्म आवेदन दिने अन्तिम म्याद थियो। अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालका अनुसार उक्त पदका लागि ८ जनाले आवेदन दिएका छन्। मन्त्रालयले उम्मेदवारहरूको नाम वेबसाइटमार्फत सार्वजनिक गरिने बताए पनि अहिलेसम्म कुनै आधिकारिक विवरण बाहिर आएको छैन।

 'यो कस्तो खुला प्रतिस्पर्धा?'

नेपाल स्टक एक्सचेन्ज कर्मचारी युनियनका अध्यक्ष नवराज थापाले उम्मेदवारहरूको नाम गोप्य राखेर छनोट प्रक्रिया अगाडि बढाउन लागिएको भन्दै कडा आपत्ति जनाएका छन्। "खुला प्रतिस्पर्धा भनेको त सबैका सामु पारदर्शी हुनुपर्ने हो नि। हामीले पनि उम्मेदवार को–को हुन् र उनीहरूको ल्याकत के हो भनेर थाहा पाउनुपर्छ," थापाले भने, "८ जनाको आवेदन परेको छ भनिन्छ, तर को हुन् भन्ने कसैलाई थाहा छैन। यस्तो रहस्यमय प्रक्रियालाई कसरी खुला प्रतिस्पर्धा मान्ने?"

थापाका अनुसार सार्वजनिक संस्थानका प्रमुख नियुक्तिका बेला उम्मेदवारको नाम लुकाउने यो प्रवृत्ति नौलो भने होइन। यसअघि नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल बीमा प्राधिकरण र नागरिक लगानी कोष (सीआईटी)को नियुक्ति प्रक्रियामा पनि यस्तै 'गोपनीयताको शैली' अपनाइएको थियो।

"धितोपत्र बोर्ड, बीमा प्राधिकरण र सीआईटीमा पनि उम्मेदवारका विवरण लुकाउने काम भयो। एकातिर खुला र पारदर्शी भनिन्छ, अर्कोतिर आवेदकको नामसम्म सार्वजनिक गर्न डराइन्छ," थापाले थपे, "यी दुई कुराबीच कुनै तालमेल छैन। यसले छनोट प्रक्रियामा राजनीतिक वा प्रशासनिक चलखेल हुने आशंकालाई बल पुर्‍याउँछ।"

पारदर्शिताको कसीमा छनोट प्रक्रिया

सार्वजनिक संस्थानको नेतृत्व छनोटमा सरकारले खुला प्रतिस्पर्धाको बाटो अपनाउनुको मुख्य उद्देश्य नै योग्य, सक्षम र व्यावसायिक व्यक्तिलाई प्रतिस्पर्धामार्फत ल्याउनु हो। यस्तो प्रक्रियामा आवेदन आह्वानदेखि अन्तिम छनोटसम्मका हरेक चरण विश्वसनीय र बाह्य निगरानीका लागि खुला हुनुपर्ने कूटनीतिक तथा प्रशासनिक मान्यता छ।

तर, आवेदन दिने व्यक्तिको नामसमेत लुकाउने अभ्यासले सरकारको दाबीमाथि नै प्रश्न उठाएको छ। आवेदकको नाम गोप्य राख्दा उनीहरूको योग्यता, अनुभव र व्यावसायिक पृष्ठभूमिमाथि सार्वजनिक बहस हुन पाउँदैन, जसले अन्ततः 'सेटिङ' मा नियुक्तिको बाटो खोल्ने डर सरोकारवालाहरूले व्यक्त गरेका छन्।

नेप्सेको नेतृत्व र सरोकार

नेप्से मुलुकको पूँजी बजारको प्रमुख पूर्वाधार हो। दैनिक अर्बौँको कारोबार हुने यस संस्थाको नेतृत्व कस्तो व्यक्तिले पाउँछ भन्ने कुराले समग्र लगानीकर्ताको मनोबल र बजारको भविष्यलाई असर गर्छ। त्यसैले यसको सीईओ छनोट सामान्य प्रशासनिक नियुक्ति मात्र नभई जनचासोको विषय पनि हो।

यदि आवेदन दिएका ८ जना उम्मेदवारको योग्यता र अनुभव सार्वजनिक गर्न मिल्दैन भने त्यसलाई 'खुला प्रतिस्पर्धा' भन्नुको कुनै आधार देखिँदैन। अब अर्थ मन्त्रालय र छनोट समितिले आवेदकको सूची तत्काल सार्वजनिक गरेर आफूमाथि लागेको आशंका निवारण गर्नुपर्ने देखिन्छ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।