नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले परिपत्र जारी गर्दै भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रमा अकल्पनीय क्षति पुगेको जनाएको छ।
नेपाल पर्यटन बोर्डको प्रारम्भिक विवरण अनुसार भदौ १० गते बिहान ८:३० बजे आएको बाढीका कारण विभिन्न ट्राभल एजेन्सीहरूमार्फत यात्रामा रहेका ३८४ जना यात्रुहरू प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका छन्। जसमा २९१ जना विदेशी र ९३ जना नेपाली पर्यटक रहेका छन्। यसै विपद्मा हालसम्म पर्यटनसँग सम्बद्ध कुल ६४४ जना सम्पर्कविहीन भएको खबर प्राप्त भएको नाट्टाले जनाएको छ।
विभिन्न ट्राभल एजेन्सीहरूमार्फत भ्रमणमा रहेका यात्रुहरूमध्ये लिफ होलिडेका ५५ जना, हिमालयन ग्लेसियरका ५२ जना, कैलाश जर्नीका ३१ जना, फिसटेल टुर एन्ड ट्राभल्सका २७ जना र अल्पाइन इको ट्रेकका २० जना सम्पर्कविहीन भएका छन्। त्यसैगरी काठमाडौँ होलिडे टुरका १७ जना, रिचा टुरका १२ जना, सम्राट टुरका ९ जना, ट्रेकर्स सोसाइटीका ९ जना, एक्सप्लोर भ्याकेसनका ७ जना, वर्ल्डवाइड ट्राभलका २ जना र रोशा ट्राभल्सका १ जना यात्रु रहेका छन्।
नाट्टाका महासचिव राज कुमार देवकोटाद्वारा जारी परिपत्रमा उल्लिखित संस्थाबाहेक अन्य कुनै सदस्य कम्पनीहरूमार्फत गएका पर्यटक, कर्मचारी, सवारी साधन वा भौतिक क्षति भएको भए तुरुन्त नाट्टा सचिवालय वा उपलब्ध गराइएको गुगल फारममार्फत विवरण बुझाउन अनुरोध गरिएको छ। प्राप्त विवरणका आधारमा सम्बन्धित सुरक्षा निकाय, नेपाल पर्यटन बोर्ड र स्थानीय प्रशासनसँग coordination गरी खोजी, उद्धार र आवश्यक सहजीकरणका लागि तत्काल पहल गरिने नाट्टाले जनाएको छ।
