सो दिन कारोबार भएको आधारमा २०० देखि २५० रुपैयाँको दायरामा धेरैजसो वाणिज्य बैंक र जलविद्युत कम्पनीहरू छन्। ग्लोबल आइएमई बैंक २५० रुपैयाँमा कारोबार हुँदा सिटिजन्स बैंक १९८ रुपैयाँमा झरेको छ। त्यस्तै, नेपाल पूर्वाधार बैंक (निफ्रा) २४० रुपैयाँ र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट २३९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यसरी हेर्दा बजारका ठूला र स्थापित कम्पनीहरूको मूल्य पनि अंकित मूल्यको नजिक रहेर कारोबार हुनुले बजारको चरम सुस्ततालाई संकेत गरेको लगानीकर्ताहरुको भनाई छ।
५२ हप्ताको उतारचढाव र बजारको दवाव
पछिल्लो ५२ हप्ताको उच्च र न्यून विन्दुको तुलना गर्दा अधिकांश कम्पनीहरू न्यूनतम मूल्यको नजिक पुगेका छन्। यसले बजारमा बिक्रीको चाप बढी र माग कम भएको देखाउँछ। उदाहरणका लागि, अरुण भ्याली हाइड्रोपावरको ५२ हप्ताको न्यून विन्दु २४५.८ रुपैयाँ हो भने हाल यो २४८.२ मा छ। प्रभु बैंक १६९.७ को न्यून विन्दुबाट १७७.५ मा छ।
केही कम्पनीहरूको मूल्यमा भने ठूलो गिरावट आएको छ। मनकामना इन्जिनियरिङ ५२ हप्ताको उच्च विन्दु ५१९ रुपैयाँसम्म पुगेको थियो, तर अहिले घटेर २२७ मा झरेको छ। यो ५६ प्रतिशतभन्दा बढीको गिरावट हो। त्यस्तै, माथिल्लो तामाकोशी २४२.६ को उच्च विन्दुबाट १८२ मा झरेको छ। धेरैजसो कम्पनीहरू आफ्नो न्यून विन्दुको आसपास हुनुले बजारले अब बटम (तल्लो विन्दु) बनाउन खोजेको विश्लेषण गरिएको छ। यद्यपि, लगानीकर्ताको उत्साहजनक सहभागिता नहुँदा शेयर मूल्य बढ्न सकेको छैन।

बजार पूँजीकरणको अवस्थाः
हाल प्रतिशेयरको आधारमा न्यून मुल्य कायम भएका ति २८ कम्पनीहरुको बजार पूँजीकरणको हिसाबले हेर्दा बैंकहरुको पूँजीकरण उच्च रहेको देखिन्छ। जसमा सबैभन्दा बढी बजार पूँजीकरण ग्लोबल आइएमई बैंकको ९५ अर्ब २८ करोड रुपैयाँ छ। त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६२ अर्ब ११ करोड र लक्ष्मी सनराइज बैंकको ५९ अर्ब ७२ करोड रुपैयाँ पूँजीकरण रहेको छ।
ठूलो पूँजीकरण भएका बैंकहरूको मूल्य सस्तो हुँदा समग्र नेप्से सूचकमा ठूलो प्रभाव पर्छ। अर्कोतर्फ, साना कम्पनीहरूको पूँजीकरण पनि न्यून छ। मनकामना इन्जिनियरिङको पूँजीकरण एक अर्ब ८१ करोड मात्र छ। माउन्टेन हाइड्रो दुई अर्ब ९४ करोड र राप्ती हाइड्रो तीन अर्ब तीन करोडको पूँजीकरणमा सीमित छन्। ठूला पूँजी भएका कम्पनीहरूको शेयर मूल्य न्यून विन्दुमा रहनुले बजारमा तरलताको अवस्था र लगानीकर्ताको क्रयशक्ति दुवैमा संकुचन आएको प्रस्ट पार्ने लगानीकर्ताहरुको बुझाईछ।
क्षेत्रगत प्रभाव र हालको अवस्था
उक्त २८ कम्पनीमध्ये १६ वटा जलविद्युत क्षेत्रका छन् भने १० वटा वाणिज्य बैंक छन्। बाँकी दुईवटा लगानी र पूर्वाधार बैंक समूहका हुन्। हाल भोटेकोशी बढीले जलविद्युत क्षेत्रमा प्राकृतिक विपत्तिको प्रत्यक्ष असर देखिएको छ। बाढीका कारण आयोजनाहरूमा भएको भौतिक क्षतिले लगानीकर्ताहरू डराएका छन्। यसले गर्दा रसुवागढी, माथिल्लो तामाकोशी, अरुण भ्याली जस्ता कम्पनीको मूल्यमा दवाव परेको हो। वाणिज्य बैंकहरूको हकमा भने खराब कर्जा, उच्च शेयर सप्लाई गर्दा मूल्यमा सुधार हुन नसकेको लगानीकर्ताहरु बताउने गरेका छन्।
अबको लगानीकर्ताले अपनाउनुपर्ने रणनीति
बजार घटेर तल्लो विन्दुमा पुगेको बेला लगानीकर्ताले हतास हुनुभन्दा पनि सुरक्षित र सन्तुलित रणनीति अपनाउनु पर्ने बजारका जानकारहरुको बुझाई छ। अहिलेको लामो अवधिमा साईडवयज प्रवृतिले गर्दा ट्रेडिङबाट नाफा बनाउन हम्मेहम्मे छ। यो अवस्थामा लगानीकर्ताहरुले भ्यालु इन्भेस्टिङ र आधारभूत पक्षको अध्ययन गरेर लगानीको रणनीति गराउनु पर्ने लगानीकर्ता ललित ढुङ्गानाले बताए।

मूल्य सस्तो हुँदैमा जुनसुकै कम्पनी किन्नु हुँदैन। यस्तो बेला कम्पनीहरुको वितरण गर्ने प्रतिफललाई हेरेर मात्रै लगानी बढाउनु उचित हुने उनको बुझाईछ । अहिले धेरै कम्पनीको मूल्य अंकित मूल्यको नजिक छ। यदि कुनै कम्पनीले १०–१२ प्रतिशत लाभांश दियो भने पनि हालको बजार मूल्यमा लगानी गर्दा त्यसको प्रतिफल बैंकको मुद्दती निक्षेपको भन्दा बढी हुन सक्छ। त्यसैले सुरक्षित प्रतिफलका लागि लाभांश इतिहास भएका कम्पनी रोज्नु पर्ने ढुङ्गानाको बुझाईछ ।
त्यसैगरी लगानीकर्ताले लागत औसत घटाउने रणनीति पनि लिन सक्छन । यदि कसैले महँगोमा शेयर किनेको छ भने अहिलेको न्यून मूल्यमा थप शयर खरिद गरेर आफ्नो लागत औसत घटाउन सकिन्छ। ५२ हप्ताको न्यून विन्दुको नजिक रहेका राम्रा कम्पनीमा थोरै थोरै संकलन गर्दा बजार बढ्दा नाफा गर्न सक्ने सम्भावनालाई पनि लगानीकर्ताहरुले ध्यान दिनु पर्छ । साथै, लगानीकर्ताहरु लगानी विविधीकरणमा पनि ख्याल गर्नुपर्ने हुन्छ। सबै लगानी एउटै क्षेत्रमा मात्र सीमित राख्नु जोखिमपूर्ण हुन्छ। प्राकृतिक विपत्तिको जोखिम भएको बेला जलविद्युतमा मात्र लगानी नगरेर बैंकिङ, उत्पादन तथा प्रशोधन, पूर्वाधार वा लगानी समूहका सस्ता कम्पनीहरूमा लगानी बाँडफाँड गर्नुपर्छ।
यसैपनि दोस्रो बजार लगानीको जोखिमपूर्ण लगानी क्षेत्र हो। लगानीकर्ताले बजार घट्ने सक्ने सम्भावनालाई नकार्नु हुँदैन। त्यसैले आफूसँग भएको सबै नगद एकै पटक लगानी नगरेर किस्ता लगानी गर्नु उचित हुन्छ । साथै, लगानीकर्ताले धैर्यता राख्न सक्नु पर्छ। बजार गिरावट पछि बजारमा सुधार निश्चित छ। अहिलेको मन्दीको समयमा धैर्यता राखेर दीर्घकालीन अवधिको लागि लगानी गर्दा राम्रो प्रतिफल प्राप्त गर्न सकिने लगानीकर्ताहरुको बुझाईछ।