कृष्णभीरको अवरोधले काठमाडौँ यात्रा कष्टकर

Sep 08, 2026 06:07 AM RSS



पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौं यात्रा प्रभावित भएको छ। नियमित मार्ग अवरुद्ध हुँदा बेसीसहरबाट काठमाडौं जाने सवारीसाधन वैकल्पिक बाटोबाट सञ्चालन भइरहेका छन्।

यसअघि करिब ५ देखि ६ घण्टामा पूरा हुने यात्रा अहिले १२–१३ घण्टासम्म लाग्ने गरेको छ। यात्रुको खर्चसमेत बढेको छ। 

भदौ १४ गते कृष्णभीरमा सडक भासिएपछि बेँसीसहरबाट काठमाडौं चल्ने माइक्रोबस तथा ठूला बस चितवन, हेटौँडा हुँदै दक्षिणकालीको वैकल्पिक मार्गबाट सञ्चालन भइरहेका छन्। लामो र घुमाउरो बाटोका कारण यात्रुको समय र खर्च बढ्नुका साथै सवारीसाधन तथा यात्रुको संख्या घटेको छ।

बेसीसहर–काठमाडौं माइक्रोबसका चालक मुस्कान राईका अनुसार वैकल्पिक मार्गबाट काठमाडौं पुग्न पहिलेभन्दा धेरै समय लाग्ने गरेको छ। “बाटो लामो भएकाले समय पनि धेरै लाग्छ”, उनले बताए। 

बेसीसहर माइक्रो काउन्टरका अनुसार सडक अवरुद्ध हुनुअघि दैनिक ४०–५० वटा माइक्रोबस काठमाडौं जाने गरेकामा अहिले पाँच–सात वटामात्र सञ्चालनमा छन्। यात्रु पनि अत्यावश्यक काम परेका मात्रै जाने गरेका छन्। सडक अवरुद्ध हुनुअघि डिजेल माइक्रोबसको भाडा ९०० रूपैयाँ र विद्युतीय माइक्रोबसको ७०० रूपैयाँ रहेकामा अहिले क्रमशः दुई हजार रूपैयाँ र एक हजार ५०० रूपैयाँ पुगेको छ। 

यात्रु तथा सवारीसाधन घटेसँगै चालक तथा व्यवसायीको आम्दानीमा असर परेको छ। ठूला बसमा पनि यात्रुको संख्या घटेको छ। पृथ्वी राजमार्ग बस काउन्टरका अनुसार यसअघि बेसीसहरबाट काठमाडौं दैनिक ५–६ वटा ठूला बस छुट्ने गरेकामा अहिले एउटा बसमात्र जाने गरेको छ। वैकल्पिक मार्गअनुसार भाडा फरक पर्ने भएकाले हाल निश्चित भाडा तोकिएको छैन। 

यसअघि सवारीसाधन अनुसार ९०० रूपैयाँ देखि एक हजार २०० रूपैयाँसम्म रहेको भाडा अहिले दुई गुणाभन्दा बढी रहेको छ। सडक अवरोधको असर उपचारका लागि ‘रेफर’ हुने बिरामीको यात्रामा परेको छ। लमजुङ अस्पतालका सूचना अधिकारी अनिल रेग्मीका अनुसार अस्पतालमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं, चितवन र पोखरा रेफर गर्ने गरिएको छ। काठमाडौं लैजानुपर्ने केही बिरामीलाई एम्बुलेन्समै घुमाउरो बाटोबाट लैजानुपरेको छ भने कतिपयलाई पोखरासम्म एम्बुलेन्समा पुर्याएर त्यहाँबाट हेलिकोप्टरमार्फत लैजानुपर्ने अवस्था रहेको उनले बताए।   यसले बिरामी र आफन्तलाई झन्झटसँगै उपचार खर्चसमेत बढाएको उनको भनाइ छ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।