चाडपर्वको समयमा साना दरका नोट सटही गर्न बैंकका शाखा तथा काउन्टरहरूमा लाग्ने अत्यधिक भीडभाडलाई नियन्त्रण गर्न र ग्राहकलाई सहज सेवा प्रदान गर्न राष्ट्र बैंकले यो कदम चालेको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले छाता संगठन नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्त कम्पनी संघलाई
औपचारिक पत्र लेख्दै आफ्ना मातहतका बैंक तथा वित्तीय संस्थाहरूका एटिएम मेसिनमार्फत १ सय रुपैयाँ दरका नोट पनि वितरण गर्ने आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता सुधा शाहले बताए।
हालसम्म अधिकांश बैंक तथा वित्तीय संस्थाका एटिएम मेसिनहरूबाट ५ सय र १ हजार रुपैयाँ दरका नोटहरू मात्रै निस्कने गरेका थिए। जसका कारण खुद्रा वा साना दरका नोट आवश्यक पर्दा सर्वसाधारणले अनिवार्य रूपमा बैंकको काउन्टरमै पुगेर घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको थियो। राष्ट्र बैंकको यो नयाँ निर्देशन कार्यान्वयनमा आएपछि साना दरका नोट सटहीका लागि बैंकको काउन्टरमा लाइन बस्नुपर्ने झन्झट अन्त्य हुने र सर्वसाधारणले एटिएमबाटै आफूलाई आवश्यक परेको रकम १ सयको नोटमा पनि निकाल्न सक्नेछन्।