तर त्यही समस्या युरोपदेखि चीनसम्म देखियो भने त्यसलाई स्वभाविक परिघटना मान्न सकिदैन । अहिले त्यस्तै अवस्था देखिदैंछ ।
सेप्टेम्बर १७, २०२६ सम्म युरोपेली संघका ग्यास भण्डारहरू करिब ६७ प्रतिशत मात्र भरिएका छन्, जुन युरोपेली संघको अपेक्षाभन्दा १३ प्रतिशत कमी हो । जुन वर्षको यस समयका लागि अत्यन्त न्यून स्तर हो ।
समस्या के हो भने युरोपले भण्डार बढाउन खोजेको यही समयमा विश्व एलएनजी बजारमा पनि आपूर्ति दबाबमा छ। मध्यपूर्वको युद्धका कारण कतार र संयुक्त अरब इमिरेट्सबाट होर्मुज जल मार्गमार्फत हुने एलएनजी आपूर्ति प्रभावित भएको छ।
यसले युरोपको जाडोलाई केवल युरोपको समस्या बनाएको छैन। युरोप चिसो भयो भने त्यसको असर एसियाली ग्यास बजारसम्म पुग्न सक्छ।

जाडोमा घर तताउन, विद्युत् उत्पादन गर्न र उद्योग चलाउन ग्यासको माग बढ्छ । त्यसैले गर्मीयाममा सस्तो हुँदा ग्यास किनेर भूमिगत भण्डार भरिन्छ । जाडोमा आपूर्ति कम हुँदा त्यही भण्डारबाट ग्यास निकालिन्छ। तर यसपटक युरोपको ट्यांकी अझै ६७ प्रतिशत मात्र भरिएको छ ।
अर्थात् यसपटक युरोपमा ग्यास अभावको जोखिम देखिएको छ, यद्धपी अहिले नै अभाव भइहाल्यो भन्ने होइन । अवस्था चुनौतिपूर्ण देखिएको कुरालाई भने युरोपेली संघकै अधिकारीहरुले पनि स्वीकार गरेका छन् ।
चीनलगायतका अन्य देशमा पनि समस्या उस्तै
युरोपले जाडोका लागि ग्यास खोजिरहेको बेला जापान, दक्षिण कोरिया, चीन र भारतजस्ता एसियाली देश पनि एलएनजी बजारमा छन्। विशेषगरी चिसो जाडो युरोप र उत्तर एसिया दुवैतिर एकैपटक आयो भने अमेरिकी एलएनजीका लागि युरोप र एसियाबीच प्रतिस्पर्धा हुन सक्छ। इक्विनोरका अधिकारीहरूले यही सम्भावनातर्फ संकेत गरेका छन्।
अमेरिकाबाट एलएनजी जहाजमा एसिया पुर्याउन लामो समय लाग्छ। रोयटर्सका अनुसार अमेरिकाबाट उत्तर एसियासम्मको समुद्री यात्रा करिब ४५ दिन लाग्न सक्छ। त्यसैले अचानक माग बढेमा आपूर्ति तुरुन्तै थप्न सजिलो हुँदैन।
अहिले एसियाली तत्काल बजारको एलएनजी मूल्य करिब ३० डलर प्रतिमिलियन ब्रिटिस थर्मल युनिट नजिक पुगेको छ। इरान अमेरिका युद्धअघिको करिब १० डलर आसपासको स्तरसँग तुलना गर्दा यो निकै उच्च हो।
डेटा विश्लेषक कम्पनी वुड म्याकेन्जीका अध्यक्ष साइमन फ्लावर्सले चिसो जाडो परेमा मूल्य ४० डलर प्रतिमिलियन ब्रिटिस थर्मल युनिटसम्म पुग्न सक्ने बताएका छन् ।
मध्यपूर्वको द्वन्द्वका कारण कतार एनर्जीले होर्मुज मार्गमार्फत हुने निर्यात रोक्नुपरेको छ। इरानी आक्रमणबाट कतारको एलएनजी उत्पादन क्षमताको करिब १७ प्रतिशत प्रभावित भएको छ।
एलएनजीको मूल्य धेरै महँगो भएपछि चीनका केही ऊर्जा–सघन उद्योगले ग्यासको प्रयोग घटाएका छन्। रोयटर्सका अनुसार सिरेमिक, मिथानोल र काँच उद्योगमा इन्धन लागत आर्थिक रूपमा असहज बनेपछि उत्पादन घटाउने वा कारखाना बन्द गर्ने अवस्था आएको छ।
चीनको एलएनजी माग यस वर्ष अघिल्लो वर्षभन्दा करिब ६.१ मिलियन टन घट्ने अनुमान छ। तर भारत र बंगलादेशमा अवस्था फरक छ। त्यहाँ सहरमा पाइपमार्फत ग्यास वितरण र मल उद्योगका कारण एलएनजीको माग तुलनात्मक रूपमा बलियो रहेको छ। भारतमा यी दुई क्षेत्रले देशको कुल एलएनजी आयातको करिब ७० प्रतिशत हिस्सा ओगट्छन्।
ग्यास कहाँबाट आउँछ र भूमिगत भण्डारमा कसरी पुग्छ ?
प्राकृतिक ग्यास मुख्यतः भूमिगत ग्यास क्षेत्रबाट निकालिन्छ। युरोपले आफ्नै उत्पादनका साथै नर्वे, अमेरिका, कतार, अजरबैजान, उत्तर अफ्रिका आदि क्षेत्रबाट ग्यास ल्याउँछ । अहिले युरोपको ग्यास आपूर्तिमा पाइपलाइन र एलएनजी दुवै महत्त्वपूर्ण छन् । युरोपेली आयोगका अनुसार सन् २०२५ मा अमेरिकी एलएनजीले युरोपको एलएनजी आयातमा ५८ प्रतिशत हिस्सा ओगटेको थियो भने नर्वे प्रमुख पाइपलाइन आपूर्तिकर्तामध्ये एक थियो। यसलाई दुईवटा मुख्य बाटोमा बुझ्न सकिन्छ।
पहिलो—पाइपबाट आउने ग्यास।
नर्वे, अजरबैजान, उत्तर अफ्रिका वा अन्य उत्पादक क्षेत्रबाट प्राकृतिक ग्यास ठूलो पाइपलाइनमार्फत युरोप प्रवेश गर्छ। उदाहरणका लागि अजरबैजानबाट आउने दक्षिणी ग्यास मार्ग करिब ३,५०० किलोमिटर लामो छ र अजरबैजान–जर्जिया–टर्की हुँदै ग्रीस र इटालीसम्म पुग्छ।
दोस्रो—समुद्री जहाजबाट आउने एलएनजी।
अमेरिका, कतार वा अन्य देशमा प्राकृतिक ग्यासलाई अत्यन्त चिस्याएर करिब –१६२ डिग्री सेल्सियसमा तरल बनाइन्छ। यसलाई एलएनजी भनिन्छ। तरल बनाएपछि यसको आयतन सामान्य ग्यासको तुलनामा करिब ६०० गुणा कम हुन्छ, त्यसैले ठूलो जहाजमा राखेर हजारौँ किलोमिटर टाढा लैजान सम्भव हुन्छ।
आज एलएनजी विश्वव्यापी वस्तु बनेको छ। अमेरिकाले एलएनजी उत्पादन गर्छ। कतारले गर्छ। अष्ट्रेलियाले गर्छ। युरोप किन्छ। चीन किन्छ। जापान किन्छ। दक्षिण कोरिया किन्छ। भारत पनि किन्छ। त्यसैले कुनै एउटा क्षेत्रमा ठूलो माग बढ्यो भने अर्को क्षेत्रको मूल्य पनि प्रभावित हुन सक्छ।अहिलेको बजारमा यही भइरहेको छ।