पर्यटकको संख्या कति बढ्यो भन्ने प्रश्नसँगै उनीहरूले एउटा यात्रामा कति खर्च गर्छन्, कस्तो अनुभवका लागि पैसा तिर्न तयार छन् र त्यो खर्च स्थानीय अर्थतन्त्रमा कति पुग्छ भन्ने प्रश्न पनि पर्यटन उद्योगको केन्द्रमा आउन थालेको छ।
अमेरिकन एक्सप्रेस ग्लोबल बिजनेस ट्राभलको ‘होटल मोनिटर २०२६’ले यही बदलिँदो बजारको एउटा महत्त्वपूर्ण तस्वीर देखाएको छ। प्रतिवेदनले २०२६ मा विश्वका प्रमुख व्यापारिक गन्तव्यका होटल दरमा सामान्यतः मध्यम वृद्धि हुने अनुमान गरेको छ। तर सबै शहर र सबै प्रकारका होटलमा अवस्था उस्तै छैन। केही बजारमा मूल्य वृद्धि निकै बलियो देखिन्छ भने केही शहरमा होटल दर स्थिर वा घट्ने अनुमानसमेत गरिएको छ। विशेषगरी उच्चस्तरीय होटलतर्फको माग तुलनात्मक रूपमा बलियो रहने संकेत प्रतिवेदनले दिएको छ।

सबैभन्दा रोचक उदाहरण भारतको बेङ्लुरु हो। विश्वको प्रविधि र कृत्रिम बुद्धिमत्ता उद्योगको महत्त्वपूर्ण केन्द्रका रूपमा विकास भइरहेको बेङ्लुरुको होटल दर २०२६ मा ६.४ प्रतिशत बढ्ने अनुमान गरिएको छ । भारतकै दिल्लीमा ६.८ प्रतिशत, हैदराबादमा ५.७ प्रतिशत र मुम्बईमा ५.३ प्रतिशत वृद्धिको पूर्वानुमान छ। यसको अर्थ दक्षिण एसियाको होटल बजारमा पनि प्रविधि, व्यापार, लगानी र यात्राको बढ्दो सम्बन्धले आवास बजारलाई प्रभावित गरिरहेको छ।
अमेरिकन एक्सप्रेसको प्रतिवेदनले बेङ्लुरुलाई भारतको मात्र होइन, विश्वकै प्रविधि र कृत्रिम बुद्धिमत्ताको महत्वपूर्ण केन्द्रका रूपमा प्रस्तुत गरेको छ। त्यहाँ प्रविधि क्षेत्रमा १० लाखभन्दा बढी मानिस काम गर्ने र २८ वटा प्रविधि कम्पनीले एक अर्ब अमेरिकी डलरभन्दा बढी मूल्याङ्कन हासिल गरिसकेको प्रतिवेदनमा उल्लेख छ। २०२५ को पहिलो त्रैमासिकमै बेङ्लुरुले भारतमा होटल उपयोग र औसत कोठा दर दुवैमा उल्लेख्य सुधार देखाएको थियो।
प्रतिवेदनका अनुसार टोरन्टोमा ५.८ प्रतिशत, ब्यूनस आयर्समा ५.६ प्रतिशत, म्याड्रिडमा ४.८ प्रतिशत, केप टाउनमा ४.७ प्रतिशत, लन्डनमा ४.२ प्रतिशत र न्यूयोर्कमा ४ प्रतिशत वृद्धि हुने अनुमान छ । त्यस्तै सान्टियागोमा वृद्धि ०.९ प्रतिशत, बेइजिङमा १.५ प्रतिशत र सिड्नीमा १.५ प्रतिशत मात्र हुने अनुमान गरिएको छ । एसियाकै केही बजारमा होटल दर घट्ने अनुमानसमेत छ।
प्रतिवेदनले आफ्ना पूर्वानुमान तयार गर्दा अमेरिकन एक्सप्रेस ग्लोबल बिजनेस ट्राभलको आफ्नै तथ्यांकसँग अन्तर्राष्ट्रिय मुद्रा कोषका मुद्रास्फीति र आर्थिक वृद्धिका पूर्वानुमान प्रयोग गरेको छ। मूल्य प्रक्षेपणका लागि समय–श्रृंखला नमुना पनि प्रयोग गरिएको छ।
नेपालको प्रसंग उल्लेख नगरि रिपोर्टले नेपालको होटल क्षेत्रलाई दिएको स्पष्ट सन्देश
अमेरिकन एक्सप्रेस ग्लोबल बिजनेस ट्राभलको रिपोर्टले नेपाललाई कुनै प्रत्यक्ष सुझाव दिएको छैन। काठमाडौंको होटल बजारको पूर्वानुमान पनि त्यसमा छैन ।
तर विश्वका प्रमुख शहरको होटल बजारले एउटा संकेत भने स्पष्ट दिएको छ—आर्थिक गतिविधि, व्यापारिक यात्रा, विशेष अनुभव र उच्च खर्च गर्ने यात्रुको माग भएका ठाउँमा होटल व्यवसायले आफ्नो मूल्य कायम राख्न वा बढाउन सक्ने सम्भावना हुन्छ।
नेपाल पर्यटन बोर्डले पनि आफ्नो नयाँ रणनीतिमा उच्च-मूल्य पर्यटनलाई प्राथमिकतामा राखेको छ। अब नेपालको चुनौती भनेको त्यसलाई व्यवहारमा उतार्नु हो।
अमेरिकन एक्सप्रेसको प्रतिवेदनले व्यापारिक यात्राको महत्वलाई पनि उजागर गर्छ। बेङ्लुरुको उदाहरणले देखाएको जस्तै प्रविधि, उद्योग र व्यापारिक गतिविधिले होटलको मागलाई बलियो बनाउन सक्छ।
नेपालले पनि काठमाडौं र पोखरालाई केवल घुम्न जाने शहर होइन, सम्मेलन, अन्तर्राष्ट्रिय बैठक, व्यवसायिक कार्यक्रम, लगानी सम्मेलन, प्राविधिक सभा तथा संस्थागत कार्यक्रमको गन्तव्य बनाउन सकेमा होटल उद्योगको मागलाई पर्यटनको मौसमभन्दा बाहिर पनि फैलाउन सकिन्छ। यसलाई ‘माइस’ पर्यटन भनिन्छ—बैठक, प्रोत्साहन यात्रा, सम्मेलन र प्रदर्शनीसँग सम्बन्धित पर्यटन।
यस क्षेत्रमा आउने पर्यटक सामान्य घुमन्ते पर्यटकभन्दा फरक हुन्छन्। उनीहरूको बसाइ, आवास, यातायात र सेवा खर्च तुलनात्मक रूपमा बढी हुन सक्छ। त्यसैले नेपालले पर्यटनको मूल्य बढाउन हिमाल मात्र होइन, ज्ञान, व्यवसाय र सम्मेलनको बजार पनि समात्नुपर्ने देखिन्छ।