नारायणी नदीमा जलसतह खतराको तहभन्दा निकै माथि: चितवन र नवलपरासीमा डुबानको उच्च जोखिम, सुरक्षित स्थानमा सर्न अपिल

Sep 27, 2026 09:09 AM Merolagani



नारायणी नदी तथा यसका सहायक नदीहरूमा बाढीको जोखिम अत्यधिक बढेपछि बाढी पूर्वानुमान महाशाखाले विशेष बाढी पूर्वानुमान तथा परामर्श बुलेटिन जारी गर्दै उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

 

हाल देवघाट मापन केन्द्रमा नारायणी नदीको जलसतह ९.० मिटरको खतराको तह पार गरी करिब ११.० मिटर पुगिसकेको छ र यो अझै बढ्दो क्रममा रहेको छ। नारायणीका प्रमुख सहायक नदीहरूमध्ये कालीगण्डकीमा बहाव खतराको तहभन्दा उल्लेख्य रूपमा माथि पुगेको छ भने सेती, मादी, मर्स्याङ्दी, दरौँदी र चेपे नदीमा बहाव सतर्कता तहभन्दा माथि पुगेर बढ्दो क्रममा छ। यसैगरी बुढीगण्डकी र त्रिशूली नदीमा समेत जलसतह सतर्कता तह नजिक पुगेर निरन्तर बढिरहेको छ।

देवघाट बाढी मापन केन्द्रको हालको नदी बहाव तथा उपलब्ध पूर्वानुमानका अनुसार नारायणी नदीको बहाव आज दिउँसोसम्म बढ्ने क्रम जारी रहनेछ। आज दिनको ११ बजे आसपास जलसतह अधिकतम करिब १३.० मिटरसम्म पुग्न सक्ने र साँझसम्मै खतराको तहभन्दा माथि नै रहने उच्च सम्भावना छ। नारायणीका सहायक नदीहरूमा पनि आज दिउँसोसम्म उच्च बहाव कायम रहने भएकाले तटीय क्षेत्रमा जोखिम बढेको छ।

यस उच्च बहावका कारण चितवन र नवलपरासी जिल्लाका नारायणी नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रहरूमा बाढी र डुबानको जोखिम अत्यन्तै उच्च रहेको छ। तसर्थ, नदी किनार, तल्लो भू-भाग तथा कमजोर तटबन्ध वा संरचना भएका स्थानमा विशेष सावधानी अपनाउन आवश्यक छ। महाशाखाले चितवन र नवलपरासीका जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकहरूलाई तत्काल सुरक्षित तथा अग्लो स्थानतर्फ स्थानान्तरण हुन अनुरोध गरेको छ।

साथै, नारायणी र यसका सहायक नदीहरूका तटीय क्षेत्रमा आवतजावत नगर्न, नदी किनार, पुल तथा तटबन्धमा अनावश्यक भीड नगर्न र कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, चेपे, बुढीगण्डकी तथा त्रिशूली नदी आसपासका बासिन्दालाई आज साँझसम्मै उच्च सतर्कता अपनाउन भनिएको छ। सबै नागरिकहरूलाई स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित अधिकारीहरूले जारी गर्ने निर्देशन तथा बाढीसम्बन्धी सूचनाको अनिवार्य पालना गर्नसमेत आग्रह गरिएको छ।




जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।