माउण्टेन इनर्जी नेपाल लिमिटेड (MEN) र दरमखोला हाइड्रो इनर्जी लिमिटेडले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई छुट्टाछुट्टै पत्र पठाउँदै आयोजनाहरूबाट विद्युत प्रसारण बन्द भएको आधिकारिक जानकारी दिएका हुन्।
मिष्ट्री खोला जलविद्युत आयोजना (४२ मेगावाट): दाना-कुश्मा २२० केभी लाइनमा क्षति
माउण्टेन इनर्जी नेपाल लिमिटेडद्वारा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका-४, नारच्याङमा सञ्चालित ४२ मेगावाट क्षमताको मिष्ट्री खोला जलविद्युत आयोजनाको विद्युत प्रसारण ठप्प भएको छ।
कम्पनीका वरिष्ठ अधिकृत दिवाकर प्याकुरेलका अनुसार गत आश्विन ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीपहिरोले नेपाल विद्युत प्राधिकरणको दाना-कुश्मा २२० केभी प्रसारण लाइनको टावरमा क्षति पुर्याएको हाे। नेपाल विद्युत प्राधिकरणले असोज १२ गते पठाएको पत्रअनुसार टावरमा क्षति पुगेपछि आयोजनाबाट हुने सम्पूर्ण विद्युत प्रसारण बन्द भएको हो।
दरमखोला हाइड्रो इलेक्ट्रीक परियोजना (९.६ मेगावाट): ३३ केभी पोल र तारमा क्षति
त्यसैगरी, दरमखोला हाइड्रो इनर्जी लिमिटेड (DHEL) द्वारा बाग्लुङमा सञ्चालित ९.६ मेगावाट क्षमताको दरमखोला हाइड्रो इलेक्ट्रीक परियोजनाको उत्पादन र प्रसारण पनि रोकिएको छ।
कम्पनीका सञ्चालक माधव प्रसाद खरेलका अनुसार गत असोज ९ गते शुक्रबार आएको बाढीले आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको हरिचौर सबस्टेसन खण्डमा रहेको ३३ केभी प्रसारण लाइनका पोल तथा तारहरूमा क्षति पुर्याएको छ। बाढीले संरचनामा क्षति पुर्याएपछि असोज ९ गते राति ८ बजेदेखि नै विद्युत उत्पादन र प्रसारण पूर्ण रूपमा बन्द रहेको छ।
तथापि, आयोजनाको हेडवर्क्स, पावरहाउस र अन्य मुख्य संरचनाहरूमा खासै क्षति नपुगेको कम्पनीले स्पष्ट पारेको छ। प्रसारण लाइनको मर्मतकार्य सम्पन्न हुनासाथ विद्युत उत्पादन पुनः सुचारु गरिने कम्पनीले जनाएको छ।