डिजिटल भुक्तानीलाई हामी प्रायः सहजता, गति र आधुनिक अर्थतन्त्रको प्रतिकका रूपमा बुझ्छौं। मोबाइल निकाल्यो, क्यूआर स्क्यान गर्यो, केही सेकेन्डमै पैसा अर्को खातामा पुग्यो। पसलमा नगद बोकिरहनु नपर्ने, बैंकको लाइनमा बस्नु नपर्ने र कारोबारको अभिलेख आफैं बन्ने भएकाले डिजिटल भुक्तानीले दैनिक आर्थिक जीवनलाई निकै सरल बनाएको छ। तर यही सुविधाको अर्को पाटो पनि छ।
यदि तपाईंको खातामा पर्याप्त पैसा छ, मोबाइल पनि तपाईंकै हातमा छ, तर साइबर आक्रमणका कारण बैंक वा भुक्तानी प्रणाली बन्द भयो भने ?
त्यस्तो अवस्थामा पैसा हराउनैपर्छ भन्ने छैन। खाताबाट चोरी हुनैपर्छ भन्ने पनि छैन। तर आफ्नै पैसा तत्काल प्रयोग गर्न नसक्ने अवस्था आउन सक्छ । बैंकमा यति पैसा छ नि भनेर मात्र त भएन, त्यस्को तत्काल प्रयोग गर्न नपाए परेन फसाद ?
डिजिटल भुक्तानीमा क्रान्ती नै गरेको स्वीडेनमा सन् २०२४ र २०२५ मा बैंक तथा वित्तीय पूर्वाधारमाथि लगातार गम्भीर डिडस साइबर आक्रमण भए। स्वीडेनको केन्द्रीय बैंक रिक्स बैंकका अनुसार ती आक्रमणका कारण प्रभावित संस्थाका केही ग्राहकले मोबाइल बैंकिङ सेवामा प्रवेश गर्न सकेनन् र तत्काल भुक्तानी गर्ने स्विश सेवा पनि प्रयोग गर्न नसक्ने अवस्था आयो ।
यो घटना सामान्य वेबसाइट बन्द भएको घटना थिएन । किनकि स्वीडेनमा स्विश दैनिक जीवनको अत्यन्त महत्वपूर्ण डिजिटल भुक्तानी माध्यम हो । त्यसैले कुनै बैंक वा भुक्तानी पूर्वाधार केही समयका लागि साइबर आक्रमणको चपेटामा पर्दा त्यसको असर बैंकको कार्यालय वा वेबसाइटमा मात्र सीमित हुँदैन, मानिसले पसलमा सामान किन्न, अर्को व्यक्तिलाई पैसा पठाउन वा तत्काल कारोबार गर्न नसक्ने अवस्थासम्म पुग्न सक्छ।
रिक्स बैंकले सन् २०२६ को आफ्नो भुक्तानी प्रणालीसम्बन्धी प्रतिवेदनमा पनि २०२५ मा बैंक आईडी र स्विश दुवै डिडस आक्रमणबाट प्रभावित भएको उल्लेख गरेको छ। पछि सुरक्षा व्यवस्था बलियो पारिएपछि त्यस्ता आक्रमणको प्रभाव घटेको बैंकको भनाइ छ।
डिडस आक्रमणमा धेरै संख्यामा अनुरोध वा डिजिटल ट्राफिक पठाएर कुनै सेवा वा सञ्जालको क्षमता अत्यधिक दबाबमा पारिन्छ। परिणामस्वरूप वास्तविक ग्राहकले सेवा प्रयोग गर्न नसक्ने अवस्था आउन सक्छ।
वित्तीय क्षेत्रमा यसको असर विशेष हुन्छ। बैंकिङ सेवा सामान्य वेबसाइटजस्तो होइन। ग्राहकले बैंकको मोबाइल अनुप्रयोग खोलेर आफ्नो खाता हेर्न मात्र खोजेको हुँदैन, उसले पैसा पठाउन, बिल तिर्न, ऋणको किस्ता बुझाउन, पसलमा सामान किन्न वा व्यवसायको भुक्तानी गर्न खोजिरहेको हुन्छ।त्यसैले सेवा केही घण्टा बन्द हुँदा पनि त्यसको आर्थिक असर फैलिन सक्छ।
स्वीडेनको केन्द्रीय बैंकले यही कारण वित्तीय क्षेत्रलाई साइबर आक्रमणबाट जोगाउने कामलाई केवल बैंक वा निजी कम्पनीको सुरक्षा विषय नभई वित्तीय स्थिरताको विषयका रूपमा हेर्न थालेको छ। रिक्सबैंकका अनुसार वित्तीय क्षेत्र अत्यधिक डिजिटल र एकअर्कासँग जोडिएको भएकाले लगातार हुने अवरोधले मानिसमा प्रणालीप्रतिको विश्वाससमेत कमजोर बनाउन सक्छ।
खतरा ह्याकिङ मात्र होइन, ‘एकै ठाउँमा धेरै निर्भरता’ पनि हो । आजको डिजिटल भुक्तानी प्रणाली एउटा मात्र कम्प्युटरमा निर्भर छैन। बैंक, कार्ड सञ्जाल, मोबाइल नेटवर्क, इन्टरनेट, प्रविधि प्रदायक, क्लाउड सेवा, भुक्तानी प्रशोधनकर्ता र डिजिटल पहिचान प्रणाली एकअर्कासँग जोडिएका छन्।
त्यसैले एउटा कमजोर कडीले धेरै संस्थालाई प्रभावित गर्न सक्छ। बैंक र भुक्तानी पूर्वाधारबीचको डिजिटल सम्बन्ध जति गहिरो हुन्छ, एउटा अवरोधको प्रभाव त्यति छिटो ग्राहकसम्म पुग्न सक्छ।
युरोपेली बैंकिङ प्राधिकरणले २०२५ को जोखिम मूल्याङ्कनमा युरोपेली बैंकिङ क्षेत्रमा रिपोर्ट भएका साइबर घटनामध्ये डिडस आक्रमणको हिस्सा ७७ प्रतिशत रहेको जनाएको छ। उसले र्यान्समवेयरलाई भने सबैभन्दा प्रभावकारी अर्थात् गम्भीर असर पार्न सक्ने साइबर खतरामध्ये एक मानेको छ। साथै बैंक तथा वित्तीय संस्थाको क्लाउड र भुक्तानी प्रणालीमा तेस्रो पक्षका प्रविधि प्रदायकमाथिको निर्भरता पनि बढिरहेको उल्लेख गरेको छ। यसको अर्थ डिजिटल वित्तीय प्रणालीको सुरक्षामा अब बैंकको आफ्नै सुरक्षा पर्खाल मात्र पर्याप्त हुँदैन।
यही कारण स्वीडेनले ‘अफलाइन’ भुक्तानीलाई पनि फेरि यथावत राख्न थालेको छ । स्वीडेनले २०२६ जुलाई १देखि इन्टरनेट वा तथ्याङ्क सञ्चारमा अवरोध हुँदा पनि निश्चित परिस्थितिमा भौतिक कार्ड र गोप्य संकेत नम्बर प्रयोग गरेर खाद्यान्न, औषधि र इन्धनजस्ता अत्यावश्यक वस्तु किन्न सकिने व्यवस्था विस्तार गरेको छ। यहीकारण उसले नागरिकलाई घरमा नगद राख्न र एउटै डिजिटल भुक्तानी माध्यममा पूर्ण निर्भर नहुनसमेत आग्रह गरिरहेको छ।