खुद्रा नोटको अभावमा बंगलादेशको अर्थतन्त्रमा नयाँ समस्या, बजार अस्तव्यस्त

Oct 02, 2026 03:08 PM Merolagani



बंगलादेशको अर्थतन्त्रमा अहिले अनौठो समस्या देखिएको छ—बजारमा नगद पैसाको अभाव मात्र होइन, चलनचल्तीमा प्रयोग गर्न मिल्ने नयाँ र सफा नोटको अभाव देखिएको छ। 

बैंक तथा एटीएमबाट मानिसहरूले पैसा त पाइरहेका छन्, तर त्यही पैसा लिएर बजारमा पुग्दा खुद्रा कारोबारका लागि आवश्यक साना दरका नोट नपाउँदा समस्या बढिरहेको छ।

ढाकाबाट प्रकाशित हुने बंगलादेशको चर्चित पत्रिका ढाका ट्रीब्युनका अनुसार बजारमा लगभग सबै दरका नयाँ नोटको आपूर्ति मागभन्दा निकै कम छ। त्यसको विपरीत च्यातिएका, फोहोर भएका, प्वाल परेका, टेप लगाइएका र जीर्ण नोटको संख्या बढिरहेको छ । विशेषगरी १०, २० र १०० टाकाका नोटको अभावले दैनिक किनमेल र साना कारोबारलाई बढी प्रभावित बनाएको छ।

समस्या बैंकबाट पैसा निकाल्दा समेत देखिन्छ। समाचारअनुसार एटीएमबाट २० हजार टाका निकाल्दा पनि ५०० टाकाका नोट पर्याप्त पाइने निश्चित हुँदैन । कतिपय एटीएमले १ हजार टाकाका १९ वटा नोटसँगै ५०० टाकाको केवल दुईवटा नोट दिने गरेका छन् । परिणामतः ग्राहकको हातमा नगद भए पनि पसलमा पुगेर सामान किन्दा खुद्रा पैसा मिलाउन अर्को समस्या सुरु हुन्छ ।

यो समस्या पसलेका लागि झन् जटिल बनेको छ। १००, २० र १० टाकाका नोट पर्याप्त नभएपछि साना सामान बिक्री गर्दा ग्राहकलाई फिर्ता पैसा दिन कठिन भइरहेको व्यापारीहरूले बताएका छन्। कतिपय अवस्थामा पसलेहरू बैंकबाटै मागेजति साना दरका नोट पाउन नसक्ने भएकाले ‘खुद्रा खोज्नु’ आफैंमा एउटा छुट्टै काम बनेको छ।

पुराना नोटको अवस्था पनि समस्याजनक छ । ५०० र १ हजार टाकाका नोटमा स्टेपलरले पारेका प्वाल, टेप लगाइएका भाग, च्यातिएका किनारा र अत्यधिक फोहोर देखिन थालेका छन् । यस्ता नोट धेरै पसलेले लिन अस्वीकार गर्छन्। मेट्रो रेलका टिकट मेसिन र बैंकका नगद जम्मा गर्ने तथा पुनःप्रयोग गर्ने मेसिनले पनि जीर्ण नोट अस्वीकार गर्ने गरेका छन्। अर्थात् बैंकबाट निकालिएको पैसा बजारमा खर्च गर्न खोज्दा फेरि अर्को अवरोध खडा हुन्छ।

समाचारमा उल्लेख भएअनुसार ढाकाका एक ग्राहकले छिमेकी बैंकबाट ५० हजार टाका निकालेपछि त्यसमध्ये १५ वटा नोट बैंकको नगद जम्मा गर्ने मेसिनले अस्वीकार गरेको अनुभव सुनाएका छन् । उनलाई तत्काल परिवारमा उपचार खर्चका लागि पैसा पठाउनुपर्ने अवस्था थियो। यसले समस्या केवल सामान्य असुविधामा सीमित नभई मानिसको दैनिक आर्थिक व्यवहारमै असर पारिरहेको देखाउँछ। 

नयाँ नोट छाप्न पनि खर्च बढ्दै

बंगलादेशमा नयाँ नोटको अभाव हुनुको अर्को महत्वपूर्ण पाटो यसको उत्पादन लागत हो । बंगलादेश बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०२५–२६ मा नयाँ नोट छाप्न ४५८ करोड ९२ लाख टाका खर्च भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो खर्च २३४ करोड ७८ लाख टाका थियो । अर्थात् एक वर्षमै नोट छाप्ने खर्च करिब ९५ प्रतिशतले बढेको छ, जुन पछिल्ला पाँच आर्थिक वर्षकै उच्च हो ।

समाचारअनुसार २०२४ अगस्ट ५ पछि शेख मुजिबुर रहमानको तस्वीर भएका पुराना डिजाइनका नोटको छपाइ तथा वितरण रोकिएको थियो। त्यसपछि नयाँ डिजाइनका नोट तयार गर्ने, स्वीकृत गर्ने र छाप्ने प्रक्रियामा ढिलाइ हुँदा बजारमा नयाँ नोटको आपूर्ति र मागबीच अन्तर बढेको बंगलादेश बैंकका स्रोतले बताएका छन्।

बंगलादेश बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता आरिफ हुसेन खानका अनुसार १०, ५०० र १ हजार टाकाका नयाँ नोट बजारमा पठाइएको छ। तर २० र ५० टाकाका नोट उत्पादनका लागि आवश्यक कच्चा पदार्थको आपूर्तिमा समस्या रहेको र समग्र छपाइ लागत पनि बढेको उनले बताएका छन्। 

नोट छाप्नु पनि सामान्य उद्योग होइन

बंगलादेशको अनुभवले एउटा कम चर्चित आर्थिक पक्ष देखाउँछ—नोट छाप्न सरकारसँग कागज र छापाखाना मात्र भएर पुग्दैन।

बंगलादेश बैंकका अनुसार नोट उत्पादनमा प्रयोग हुने सुरक्षा कागज, विशेष मसी, सुरक्षा धागो र विभिन्न रसायनलगायत अधिकांश महत्त्वपूर्ण सामग्री विदेशबाट आयात गर्नुपर्छ। ती सामग्री देशमा आइपुगेपछि पनि सुरक्षा मुद्रण निगमबाट नोट छाप्न करिब तीन महिना लाग्ने बताइएको छ। त्यसमाथि मुद्रण क्षमताको सीमा भएकाले आवश्यकताअनुसार ठूलो परिमाणमा एकैपटक नोट उत्पादन गर्न सम्भव छैन।

रुस–युक्रेन युद्धपछि कच्चा पदार्थ, ढुवानी र अमेरिकी डलरको मूल्यमा भएको वृद्धिले नोट छाप्ने लागतलाई थप महँगो बनाएको समाचारमा उल्लेख छ। त्यसैले नयाँ नोटको अभाव केवल केन्द्रीय बैंकले पर्याप्त नोट नछापेको विषय मात्र नभई आयात, उत्पादन क्षमता, लागत र मौद्रिक व्यवस्थापनसँग जोडिएको विषय बनेको छ।

नगदबाट विद्युतीय कारोबारतर्फ धकेल्ने अवसर

बंगलादेश बैंकले भने यस समस्याको दीर्घकालीन समाधानका रूपमा विद्युतीय भुक्तानीलाई अगाडि सारेको छ। बैंकका प्रवक्ताले ‘बांग्ला क्यूआर’ जस्ता विद्युतीय भुक्तानी प्रणालीको विस्तारले भौतिक नगदको माग र प्रयोग घटाउन सक्ने बताएका छन्।

तर यहाँ एउटा विरोधाभास पनि छ। डिजिटल भुक्तानी विस्तार भइरहेको भए पनि दैनिक किनमेल, साना पसल र खुद्रा कारोबारमा बंगलादेश अझै नगदमै धेरै निर्भर छ। त्यसैले डिजिटल कारोबार बढाउने नीति तत्कालै नयाँ तथा साना दरका नोटको आपूर्तिको समस्या समाधान गर्ने विकल्प बन्न सक्दैन।

बंगलादेशको यो घटना दक्षिण एसियाका अन्य मुलुकका लागि पनि एउटा महत्वपूर्ण संकेत हो। अर्थतन्त्रमा पर्याप्त नगद हुनु र अर्थतन्त्रले चाहेको गुणस्तर तथा दरका नोट उपलब्ध हुनु एउटै कुरा होइन। बैंकिङ प्रणालीमा पैसा भए पनि १०, २० वा १०० जस्ता साना दरका नोटको अभाव भयो भने त्यसले पसल, यातायात, दैनिक ज्याला, खुद्रा व्यापार र उपभोक्ताको सामान्य कारोबारसम्म असर गर्न सक्छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।