नेप्से घट्यो, कारोबार रकम भने बढ्यो

Oct 07, 2026 03:10 PM Merolagani



बुधबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ६.३८ अंक घटेर २५७२.३४ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.६३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। मंगलबार ३ अर्ब १३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५९ स्टकको ३९ हजार ४६६ पटकको कारोबारमा ३ अर्ब ७४ करोड ८० लाख ८० हजार रुपैयाँबराबरको १ करोड ३ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

घलेम्दी हाइड्रोको शेयरमूल्य यस दिन सर्वाधिक ६.२५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन एआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य करिब ६ प्रतिशत बढेको छ भने इंगवा हाइड्रोपावरको शेयरमूल्य करिब ५ प्रतिशत बढेको छ। कारोबारमा आएको ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्य यस दिन सर्वाधिक ५.२६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड २१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको २९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने पिपुल्स हाइड्रोपावर कम्पनीको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.३८ प्रतिशत घटेको छ।




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।