बजारमा लगानी गरेर नाफा कमाउने तरिका बेग्ला बेग्लै हुन्छ। केही लगानीकर्ताले लामो समयसम्म शेयर होल्ड गरेर लाभांश र मूल्यवृद्धिबाट फाइदा लिन्छन् भने कोही छोटो समयमै शेयर किनबेच गरेर नाफा कमाउने प्रयास गरेका हुन्छ।
सामान्य भाषामा भन्नु पर्दा एकै कारोबार दिनभित्र शेयर खरिद तथा बिक्री गरेर नाफा कमाउने प्रयासलाई इन्ट्राडे कारोबार भनिन्छ। यसमा शेयरको मूल्य दिनभरि घटबढ हुँदा त्यसबाट लाभ लिन खोजिन्छ।
सामान्यतया इन्ट्राडे कारोबारमा लगानीकर्ताले बजार खुलेपछि कम मूल्यमा शेयर खरिद गर्छन् र मूल्य बढेपछि सोही दिन बिक्री गर्छन्। उदाहरणका लागि, कुनै कम्पनीको शेयर प्रतिकित्ता ५०० रुपैयाँमा खरिद गरेर सोही दिन ५१५ रुपैयाँमा बिक्री गरियो भने प्रतिकित्ता १५ रुपैयाँ नाफा हुन्छ। यसरी एक हजार कित्ता शेयर खरिद गरी बिक्री गर्दा कुल १५ हजार रुपैयाँ नाफा देखिन्छ। तर यसबाट ब्रोकर कमिसन, नियमानुसार लाग्ने कर तथा अन्य कारोबार खर्च घटाउनुपर्छ। त्यसपछि मात्र वास्तविक नाफा थाहा हुन्छ।
इन्ट्राडे कारोबारबाट फाइदा लिन लगानीकर्ताले शेयरको मूल्य घटबढ हुने प्रवृत्ति बुझ्नुपर्छ। बजारमा शेयर खरिदकर्ता र बिक्रीकर्ताको चाप, कारोबार रकम, शेयरको मूल्यमा आएको परिवर्तन तथा कम्पनी सम्बन्धी सूचनाले मूल्यमा प्रभाव पार्न सक्छन्। सम्बन्धित कम्पनीका यस्ता पक्षको अध्ययन गरेर कुन मूल्यमा शेयर खरिद गर्ने र कुन मूल्यमा बिक्री गर्ने भन्ने रणनीति लगानीकर्ताले बनाउन सक्छन्। मूल्य बढ्ने सम्भावना देखिएमा खरिद गर्ने र लक्ष्य अनुसार मूल्य पुगेपछि बिक्री गर्ने रणनीति अपनाउन सकिन्छ।
त्यस्तै, प्राविधिक विश्लेषण पनि इन्ट्राडे कारोबारमा उपयोगी हुन सक्छ। यसमा शेयरको विगतको मूल्य, कारोबारको मात्रा, मूल्यको प्रवृत्ति र चार्टको अध्ययन गरिन्छ। सपोर्ट अर्थात मूल्यले आधार पाउन सक्ने क्षेत्र र रेजिस्टेन्स क्षेत्रको पहिचान गरि खरिद तथा बिक्रीको निर्णय लगानीकर्ताले गर्न सक्छन। तर लगानीकर्ताहरुले संकेत कै भरमा मूल्य बढ्ने वा घट्ने निश्चित भने हुदैन। इन्ट्राडे कारोबार मार्फत छोटो अवधिमा नै नाफा कमाउने सम्भावना हुन्छ। तर सो सँगै जोखिम उत्तिकै हुन्छ। आफूले खरिद गरेको शेयरको मूल्य घटेमा घाटा हुन सक्छ। त्यसैले कारोबार गर्नुअघि कति घाटा सहन सकिन्छ भन्ने लगानीकर्ता स्वमले निर्धारण गर्नुपर्छ। आफ्नो क्षमता अनुसारको मात्रै लगानी गर्नुपर्छ।
दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ता धेरै सचेत हुनुपर्ने हुन्छ। त्यसमाथि इन्ट्राडे कारोबार गर्ने लगानीकर्ता अझै बढी चलाख हुन जरुरी छ। बजारमा हुने अनुकुलता अनुसारको निर्णय गर्न सक्ने क्षमता लगानीकर्ताले विकास गर्नुपर्ने हुन्छ। यस्तो कारोबारमा सम्बन्धित कम्पनीको शेयर मूल्य बढ्नुको सट्टा घट्न सुरु भएमा थप घाटा हुन नदिन निश्चित सीमामा शेयर बिक्री गर्ने रणनीतिलाई स्टप लस गर्न सक्नुपर्छ। जसले बजारमा जोखिम नियन्त्रण गर्न सहयोग गरेको हुन्छ।
विशेषगरी नयाँ लगानीकर्ताले अरूले दिएको सुझाव, सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचना वा बजारमा अचानक आएको मूल्यवृद्धिका आधारमा हतारमा कारोबार गर्नु हुँदैन। पर्याप्त अध्ययन नगरी धेरै रकम लगानी गर्दा ठूलो घाटा हुन सक्छ। बारम्बार शेयर किनबेच गर्दा कारोबार खर्च पनि बढ्छ। त्यसैले सुरुमा नै इन्ट्राडे कारोबार भन्दा परम्परागत लामो समय होल्ड गर्दै बजारको आरोह अवरोहलाई अध्ययन गर्नुपर्छ। सुरुमा सानो रकमबाट अभ्यास गर्ने, कारोबारको अभिलेख राख्ने र आफ्नो रणनीतिको समीक्षा गर्ने बानीको विकास लगानीकर्ताले गर्नुपर्छ।
नेपालको दोस्रो बजारमा कारोबार गर्नुअघि नेप्से, ब्रोकर तथा सम्बन्धित नियामक निकायका नियम बुझ्न आवश्यक छ। विशेषगरी इन्ट्राडे कारोबारका नाममा एकै दिन खरिद–बिक्री गर्ने सुविधा, कारोबार मिलान र शेयर उपलब्धता सम्बन्धी व्यवस्था बुझेर मात्र कारोबार गर्नु उचित हुन्छ। इन्ट्राडे कारोबार छिटो नाफा दिलाउन सक्नेछ भने सोही दरमा नोक्सानी पनि बनाउने उत्तिकै सम्भावना रहन्छ। बजारबाट हुन सक्ने परिणामलाई स्वीकार गर्न सक्ने क्षमता लगानीकर्ताले गराउनु सक्नु पर्छ।