शनिवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत्तिको भारी पार्टीले बोक्न नसक्ने बताए । सभापति थापाले पार्टी सभापतिका रूपमा आफ्नो व्यक्तिगत, पारिवारिक र आर्थिक जीवनका हरेक पक्षमा सचेत रहने प्रतिवद्धता व्यक्त गरे । पार्टी लाखौँ नेता–कार्यकर्ताको रगत र पसिनाबाट सिर्जित एक सार्वजनिक सम्पति भएको स्मरण गराउँदै उनले व्यक्तिका गल्तीको दायित्व सम्बन्धित व्यक्तिले नै लिनुपर्ने औँल्याए ।
नेतृत्वले गरेका भूल र कमजोरीको भारी पार्टीले बोक्दा संस्था नै धराशायी बन्ने भएकाले त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ छ । मुलुकको वर्तमान परिस्थितिबारे चर्चा गर्दै सभापति थापाले दशैँको फूलपातीकै दिन समेत हजारौँ युवाहरू त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिन बाध्य हुनु राष्ट्रकै लागि गम्भीर चिन्ताको विषय भएको बताए ।
पार्टीभित्रका असन्तुष्ट पक्षलाई मिलाउने र व्यवस्थापन गर्ने सम्पूर्ण जिम्मेवारी आफूले लिने स्पष्ट पार्दै थापाले अन्य नेता तथा कार्यकर्ताहरूलाई अब कोठाभित्र बसेर निराशाको गन्थन नगर्न निर्देशन दिए। 
सभापति थापाले भने ‘पार्टी सभापति हुँदै गर्दा मेरो व्यक्तिगत जीवन, परिवार, आर्थिक जीवन र सम्बन्धहरूप्रति म सचेत र जिम्मेवार रहनुपर्छ भन्ने कुरा म बुझ्छु । मेरा कुनै गलत कामले पार्टीलाई असर पर्न सक्छ । त्यसैले, कुनै दिन म चुकेको महशुस भएमा नेपाली कांग्रेसले मलाई सभापतिबाट अलग गरेर अगाडि बढ्नुपर्छ । किनकि व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन । पार्टी सार्वजनिक सम्पत्ति हो, जहाँ हजारौँ मानिसको रगत, पसिना र योगदान जोडिएको हुन्छ । व्यक्तिले गरेका गल्तीको भार व्यक्तिले नै बोक्नुपर्छ, पार्टीले होइन । मेरो कमजोरीको जिम्मेवारी म आफैँ लिन्छु । यो मेरो प्रण हो । आज दशैँको फूलपातीका दिन हजारौँ युवाहरू देश छोडेर विदेश जाँदैछन् । हामी रातारात चमत्कार गरेर उनीहरूलाई फर्काउन सक्दैनौँ तर स्वाभिमानका साथ नेपालमै बस्न सक्ने वातावरण बनाउन इमानदार प्रयास गर्नसक्छौँ । त्यसो गर्न सक्यौँ भने मात्रै नेपाली काँग्रेस हुनुको अर्थ रहन्छ । हाम्रा चुनौती पहाडजस्ता छन्, तर अवसर हिमालभन्दा पनि अग्ला छन्। यही विश्वासका साथ अघि बढौँ। पार्टीका सबै साथीहरूलाई हृदयदेखि धन्यवाद दिँदै आग्रह गर्छु,अब निराशाका लामा गफ र गुनासो छाडौँ । पार्टीभित्रका असन्तुष्ट साथीहरूलाई समेट्ने जिम्मेवारी मलाई छाडिदिनुहोस्। म त्यो जिम्मेवारी पूरा गर्नेछु । अब सबै साथीहरू आफ्नो काम र कर्ममार्फत पार्टीका कार्यकर्ता तथा नागरिकमाझ जाऔँ र उनीहरूका समस्यामा काम गरौँ। आक्रोशको रोटी सेक्नेहरूबारे धेरै चिन्ता नगरौँ, किनकि त्यो क्षणिक हो । नेपाली काँग्रेस सकारात्मक सोच, सकारात्मक ऊर्जा र आशाको केन्द्र बन्नुपर्छ । अब निराशा होइन, कर्म र परिणामबाट जनताको विश्वास जित्ने समय आएको छ ।’