दशैंअघि कुन कम्पनीको शेयर मूल्य कति ? बजार पूँजीकरण र ५२ हप्ताको उच्च–न्यून मूल्यमा यस्तो छ अवस्था

Oct 25, 2026 04:56 PM Merolagani



सुधा देवकोटा
यस पटकको दशैं पहिलेका कारोबारमा बजार निरन्तर ७ कारोबार दिन सकारात्मक भएर बन्द भयो। तर निरन्तरको सकारात्मकताले पनि बजारमा कारोबार भएका कम्पनीहरुको मूल्यमा ठूलो वृद्धि भएकाे देखिँदैन।

दशैंअघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक २६३४.१७ विन्दुमा पुगेर बन्द भएको थियाे। यो अवस्थामा बजारले विस्तारै गति लिनेमा लगानीकर्ताहरु विश्वस्त छन्। यो विन्दुमा लगानीकर्ताहरुको रोजाईमा मूल्य धेरै नबढेका कम्पनीहरुमा लगानी बढाउने सोचमा लगानीकर्ताहरु रहेका छन्। विगतमा पनि बजार यसरी घट्नु पर्ने कुनै कारण थिएन। तर लगानीकर्ताको बजार प्रतिको आत्मविश्वासकै कारण बजार प्रभावित भएको थियो। पछिल्ला दिनमा बजारसँग सरोबार राख्ने नीतिगत बाधाहरु फुकुवा भएको लगानीकर्ता खेमराज रिजालले बताए। सस्ताे ब्याज, मार्जिन कर्जा प्राप्तीमा सरलताका साथै नीतिगत सुधारले अब छिट्टै नेप्सेले सकारात्म गति दिनेछ। अबको बजारमा सस्तो दरका शेयरमा लगानीकर्ताको ध्यान केन्द्रित भएको रिजालको भनाई छ।

 

दशैंअघि बजारमा ३०० भन्दा कम मूल्यका कम्पनीहरुः

दशैंको बिदाअघिको अन्तिम कारोबारलाई हेर्दा बजारमा लगानीकर्ताहरुको आकर्षक र सस्तो मूल्य भएका शेयर भएका कम्पनीमा देखिएको छ। बजारमा जलविद्युत, वित्तीय संस्था तथा धेरै बजार पूँजीकरण भएका वाणिज्य बैंकहरुका शेयरले लगानीकर्ताको ध्यान खिचेको देखिन्छ।

दशैंअघिको अन्तिम कारोबार दिन कायम ३०० भन्दा कम मूल्य भएका ४० वटा कम्पनी रहेका छन्। जस मध्येमा पनि रसुवागढी हाईड्रोपावर कम्पनीको शेयर मूल्य सबैभन्दा कम देखिएको छ। उक्त दिन यस कम्पनीको अन्तिम मूल्य १६६ रुपैयाँ ४० पैसा कायम भएको थियो। यस कम्पनीको मूल्य सस्तो हुनुमा गत भदौ बढी पनि प्रमुख कारण रहेको छ। बाढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ। रसुवागढी हाईड्रोपावरको ५२ हप्ताको उच्च मूल्य ३२५ रुपैयाँ र न्यून मूल्य १५६ रुपैयाँ रहेको छ भने अन्तिम कारोबार अनुसार कम्पनीको बजार पूँजीकरण ११ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ कायम भएको छ।

त्यस्तै, प्रभु बैंक लिमिटेडको मूल्य १९२ रुपैयाँ ८० पैसा कायम भएको छ। यसको ५२ हप्ताको उच्च मूल्य २३५ रुपैयाँ ६० पैसा र न्यून मूल्य १६९ रुपैयाँ ७० पैसा थियो। त्यस्तै, यसकाे बजार पूँजीकरण ४५ अर्ब ३८ करोड ९९ लाख २० हजार रुपैयाँ रहेको छ।

अपर तामाकोशी हाइड्रोपावरको शेयर १९३ रुपैयाँ हाराहारीमा कारोबार भएको थियो। यस कम्पनीको ५२ हप्ताको उच्च मूल्य २४२ रुपैयाँ ६० पैसा र न्यून मूल्य १७० रुपैयाँ ५० पैसा रहेको छ भने बजार पूँजीकरण ४० अर्ब ८७ करोड ७४ लाख रुपैयाँ छ। हिमालयन बैंक लिमिटेडको अन्तिम मूल्य २०५ रुपैयाँ छ। बैंकको ५२ हप्ताको उच्च मूल्य २३७ रुपैयाँ र न्यून मूल्य १८३ रुपैयाँ छ। बजार पूँजीकरण ४६ अर्ब २९ करोड २४ लाख १० हजार रुपैयाँ रहेको छ।

त्यसैगरी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको मूल्य २०६ रुपैयाँ २० पैसा छ। उक्त बैंकको ५२ हप्ताको उच्च मूल्य २३२ रुपैयाँ ५० पैसा र न्यून मूल्य १८१ रुपैयाँ रहेको छ भने बजार पूँजीकरण ७० अर्ब ३७ करोड ३१ लाख रुपैयाँ छ। शिवश्री हाइड्रोपावरको मूल्य २०८ रुपैयाँ छ। यस कम्पनीको ५२ हप्ताको उच्च मूल्य २५१ रुपैयाँ र न्यून मूल्य १५१ रुपैयाँ छ। बजार पूँजीकरण ६ अर्ब १४ करोड १८ लाख रुपैयाँ छ।

बजार पूँजीकरणमा लक्ष्मी सनराइज बैंक अगाडि

त्यसैगरी, उल्लेखित ४० कम्पनीहरुमध्ये लक्ष्मी सनराइज बैंकको बजार पूँजीकरण सबैभन्दा बढी रहेको छ। बैंकको कुल बजार पूँजीकरण ७२ अर्ब ८९ करोड ८३ लाख रुपैयाँ छ। यसको अन्तिम मूल्य २७२ रुपैयाँ २० पैसा कायम भएको छ भने ५२ हप्ताको उच्च मूल्य २७४ रुपैयाँ ९० पैसा र न्यून मूल्य २०३ रुपैयाँ छ।

त्यसैगरी, कुमारी बैंकको बजार पूँजीकरण ६२ अर्ब ५२ करोड २४ लाख ५० हजार रुपैयाँ छ। यस बैंकको अन्तिम मूल्य २३८ रुपैयाँ ४० पैसा छ। बैंकको ५२ हप्ताको उच्च मूल्य २५६ रुपैयाँ र न्यून मूल्य १७६ रुपैयाँ छ। २७१ रुपैयाँ ७० पैसा मूल्य रहेकाे प्राइम कमर्सियल बैंकको बजार पूँजीकरण ५६ अर्ब ९३ करोड ४१ लाख रुपैयाँ छ भने ५२ हप्ताको उच्च मूल्य २७८ रुपैयाँ र न्यून मूल्य २२५ रुपैयाँ रहेको छ। त्यस्तै, बजार पूँजीकरण ५३ अर्ब २४ करोड ४० लाख रुपैयाँ रहेकाे नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अन्तिम मूल्य २४६ रुपैयाँ ५० पैसा, ५२ हप्ताको उच्च मूल्य २९९ रुपैयाँ र न्यून मूल्य २२९ रुपैयाँ ९० पैसा छ।

५२ हप्ताको उच्च मूल्यबाट कुन कम्पनी कति तल?

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको अन्तिम मूल्य २९२ रुपैयाँ ५० पैसा छ। भूगोल इनर्जी कम्पनीको ५२ हप्ताको उच्च मूल्य ७१६ रुपैयाँ र न्यून मूल्य २७० रुपैयाँ रहेको छ। बजार पूँजीकरण एक अर्ब ५९ करोड १३ लाख ६० हजार रुपैयाँ छ। बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको अन्तिम मूल्य २७३ रुपैयाँ छ। यस कम्पनीको ५२ हप्ताको उच्च मूल्य ६१३ रुपैयाँ ८० पैसा र न्यून मूल्य २४७ रुपैयाँ ५० पैसा छ। बजार पूँजीकरण दुई अर्ब १८ करोड ४० लाख रुपैयाँ छ।

त्यस्तै, मेन्छियाम हाइड्रोपावरको अन्तिम मूल्य २६० रुपैयाँ छ। यसको ५२ हप्ताको उच्च मूल्य ५२८ रुपैयाँ र न्यून मूल्य २३२ रुपैयाँ छ भने बजार पूँजीकरण एक अर्ब ४१ करोड सात लाख रुपैयाँ छ। मोदी इनर्जीको मूल्य २०९ रुपैयाँ ५० पैसा छ। यस कम्पनीको ५२ हप्ताको उच्च मूल्य ३२८ रुपैयाँ र न्यून मूल्य १९५ रुपैयाँ छ भने पूँजीकरण छ अर्ब सात करोड ५५ लाख रुपैयाँ छ।

(माथि उल्लेखित तथ्यंक नेप्सेमा शेयर खरिदबिक्री प्रकृया अनुसार कायम मूल्य र पूँजीकरण रहेको छ। जसमा कम्पनीको आधारभूत पक्षलाई हेरिएको छैन । मूल्यलाई मात्रै आधार मानेर सस्तो मूल्यको शेयर भन्दा लगानीकर्ता स्वयले आधारभूत, प्रविभिक र अन्य नीतिगत विश्लेषण गरेर अध्ययन गरेर मात्रै लगानीको निर्णय लिनु उचित हुन्छ।)




६२ कम्पनीले गरे लाभांश घोषणा, कसले कति दिए धेरै, कुन क्षेत्र अगाडि?

Oct 25, 2026 09:53 AM

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीहरूले चालु आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरूलाई लाभांश घोषणा गर्ने क्रम तीव्र बनाएका छन्। सूचीकृत कम्पनीहरूमध्ये वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था, जलविद्युत्, उत्पादनमूलक तथा सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरूले प्रतिफल घोषणा गरिसकेका छन्।