सामाजिक सुरक्षा भत्ता हिनामिना, ५ जनाविरुद्ध मुद्दा

Nov 06, 2026 04:52 PM Merolagani



सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा ओखलढुङ्गाको लिखु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। मुद्दा दायर हुनेमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय ओपबहादुर कार्की र अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी, तत्कालीन एमआईएस अपरेटर खिला विक र लिखु गाउँपालिका–९ का तत्कालीन वडाध्यक्ष शुक्रवीर तामाङ रहेका छन्।

आयोगले उनीहरूमाथि आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा अनियमितता गरेको आरोप लगाएको छ। आफ्नै औँठाछाप प्रयोग गर्ने, एउटै लाभग्राहीको दोहोरो नाम राख्ने तथा मृत्यु भइसकेका र बसाइँसराइ गरेका व्यक्तिका नाममा समेत भत्ता वितरण गरेको देखाएर सरकारी रकम हिनामिना गरेको आयोगको दाबी छ।

यस प्रकरणमा आयोगले कुल ३१ लाख ६७ हजार २०० रुपैयाँ बिगो कायम गरेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र ११ बमोजिम प्रतिवादीहरूलाई कैद सजाय, बिगो बराबर जरिवाना तथा बिगो असुलउपर गर्न मागदाबी गरिएको आयोगले जनाएको छ।